बीएण्डसी मेडिकल कलेजले पाएको सम्बन्धन खारेज गर्न विद्यार्थी संगठनहरूको माग



Dharana    

access_time 06 Jun 2021

काठमाडौं  / विभिन्न  दल निकट विद्यार्थी संगठनहरूले झापाको बीएण्डसी मेडिकल कलेजलाई अवैध ढंगले दिइएको सम्बन्धन तत्काल खारेज गर्न माग गरेका छन्। आइतबार प्रमुख विद्यार्थी संगठनहरुको संयुक्त भर्चुअल बैठकपछि जारी विज्ञप्तिमा बीएण्डसी मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरिएको छ। 

उनीहरूले निजी विद्यालयहरुले विद्यालय बन्द भएको अवधिको शुल्क निरन्तर असुल गरिरहेको उल्लेख गर्दै सरकार शुल्क असुलीको मतियार बनेको आरोप लगाएका छन्।

ुमहासंकटको समयमा शुल्क असुलीबाहेक अर्को कुनै पनि धन्दा नभएका विद्यालयहरु बन्द गर्न चेतावनी दिन चाहन्छौं। बन्द भएका विद्यालयका विद्यार्थीहरुको उचित प्रबन्ध गर्ने दायित्व सरकारको भएको स्मरण गराउँछौुं, विज्ञप्तिमा भनिएको छ। 

उनीहरूले त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयहरुले सार्वजनिक गरेका परीक्षाहरु लकडाउनका कारण स्थगित भएकाले  विद्यार्थी, प्राध्यापक, कर्मचारी र सरोकारवालासँग व्यापक छलफल गरी उचित मापदण्ड बनाइ विद्यार्थीको परीक्षा लिने वातावरण निर्माण गर्न अनुरोध गरेका छन्। 

उनीहरूले लकडाउनलाई मूल्यवृद्धिको अबसरको रुपमा नलिन चेतावनी दिएका छन्। उपप्रधानमन्त्री राजेन्द्र महतोले  संविधान विपरीत तथा देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता विरोधी अभिव्यक्ति दिएको उनीहरूको भनाइ छ।

यस्तो छ उनीहरूको संयुक्त प्रेस वक्तव्य 

देशका प्रमुख विद्यार्थी संगठनहरुको संयुक्त जुम बैठक २०७८ जेठ २३ गते सम्पन्न भयो। बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न प्रेस वक्तव्य जारी गरिएको छ।

१। नेपाल सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको संविधान विपरीत तथा देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकता विरोधी अभिव्यक्तिको भर्त्सना गर्दछौं। उपप्रधानमन्त्री महतोको अभिव्यक्तिले उनको व्यक्तिगत धारणा मात्रै जनाउँदैन, ओली सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृत्तिको उजागर गर्दछ प्रधानमन्त्री केपी ओलीसँग महतोको अभिव्यक्तिबारेमा स्पष्टीकरणको माग गर्दछौं। उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको विरुद्ध जेठ २२ गते काठमाडौंको प्रदर्शनमा अनेरास्ववियुका नेताकार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेपको विरोध गर्दछौं।

२। सरकारले २०७८ र ७९ को बजेट वक्तव्यमा ल्याएको खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापारघाटा न्यूनीकरण गरिनेु योजनाले देशको पूर्वदेखि पश्चिमसम्म कमजोर चट्टान र माटोको भूबनोटसहित फैलिएको चुरेक्षेत्र तस्कर र माफियाहरुबाट दोहन हुनेछ। सरकारी योजना कार्यान्वयन भएमा खानीजन्य वस्तु र तराईको जलस्रोत नष्ट हुनुको साथै पर्यावरणीय सन्तुलनमा गम्भीर असर पर्नेछ। प्रकृतिविरोधी योजनाले मानव र जीवजन्तुको जीवनमाथि संकट उत्पन्न हुने भएकाले बजेटमा उल्लेख गरिएको उक्त प्रावधान तत्काल खारेज गर्न माग गर्दछौं।

३। दैनिक उपभोग्य वस्तुहरुमा निरन्तर मूल्यवृद्धि भइरहेको समयमा पेट्रोलियम पदार्थमा थप मूल्यवृद्धि गरिएको छ। यसले उपभोक्तालाई दोहोरो मारमा पारेको छ। नेपाल आयल निगममा हुने खरबौ रुपैयाँको कारोवार पारदर्शी बनाउन, पेट्रोलियम पदार्थमा लगाइएको अनावश्यक कर हटाउन र जनतालाई उचित मूल्यमा बिक्री गर्न विद्यार्थी संगठनले बारम्बार माग गर्दै आएको अवस्थामा हाम्रा सबै मागहरुलाई बेवास्ता गरी मूल्यवृद्धि गरिनु जनतामाथि गरिएको गम्भीर अपराध हो। मूल्यवृद्धिलाई मात्रै समाधान देख्ने शासक वर्गलाई जवाफदेही बनाउन हामीले कडा संघर्षमा जानुपर्ने ठहर गरेका छौं लकडाउनलाई मूल्यवृद्धिको अबसरको रुपमा नलिन चेतावनी दिन चाहन्छौं।

४। झापाको बी एण्ड सी मेडिकल कलेजलाई अवैध ढंगले दिइएको सम्बन्धन तत्काल खारेज गर्न माग गर्दछौं। निजी विद्यालयहरुले विद्यालय बन्द भएको अवधिको शुल्क निरन्तर असुल गरिरहेका छन्। सरकार शुल्क असुलीको मतियार बनेको छ। महासकटको समयमा शुल्क असुलीबाहेक अर्को कुनै पनि धन्दा नभएका विद्यालयहरु बन्द गर्न चेतावनी दिन चाहन्छौं। बन्द भएका विद्यालयका विद्यार्थीहरुको उचित प्रबन्ध गर्ने दायित्व सरकारको भएको स्मरण गराउँछौं।

५। त्रिभुवन विश्वविद्यालयसहित अन्य विश्वविद्यालयहरुले सार्वजनिक गरेका परीक्षाहरु लकडाउनको कारण स्थगित भएका छन्। यसले विद्यार्थीको भविष्यलाई अन्यौल बनाएको छ। विद्यार्थी, प्राध्यापक, कर्मचारी र सरोकारवाला सँग व्यापक छलफल गरी उचित मापदण्ड बनाइ विद्यार्थीको परीक्षा लिने वातावरण निर्माण गर्नको लागि अनुरोध गर्दछौ।

मितिस् २०७८ जेठ २३ गते

रञ्जित तामाङ

अध्यक्ष

अखिल ९क्रान्तिकारी०

राजिव ढुंगाना

अध्यक्ष

नेपाल विद्यार्थी संघ

सुदेश पराजुली

अध्यक्ष

अनेरास्ववियू

चिरञ्जीवी ढकाल

अध्यक्ष

अखिल (क्रान्तिकारी)

हरिकृष्ण गजुरेल

अध्यक्ष

अखिल (क्रान्तिकारी)

घनश्याम मिश्र

अध्यक्ष

अखिल (पाँचौं)

विमल पोखरेल

अध्यक्ष

अखिल (छैठौं)



Share Your Thoughts