सुर्खेत/कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोनाको हटस्पट बन्न थालेपछि जारी निषेधाज्ञा एक हप्ता थप्ने निर्णय भएको छ। जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितहरुको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
कोरोना संक्रमण दर सात दिनमा मात्रै कम हुने सम्भावना नदेखिएकोले बैशाख २७ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
उनकाअनुसार अनुगमनका कडाई गर्ने र निषेधाज्ञाको उलंघन गर्नेलाई संक्रामक रोग ऐन अन्तरगत कारबाही गरिने छ। कोरोनाको संक्रमण दर भयावह बन्ने अवस्था देखिएकाले नागरिकहरुलाई कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड पालना गर्न र निषेधाज्ञामा घरमै बसेर कोरोनाको संक्रमण हुनबाट जोगिन साथ दिन अधिकारी रिजालको आग्रह छ।
सुर्खेतमा बैशाख १४ देखि सात दिन निषेधाज्ञा जारी गरिएको छ। पछिल्लो २४ घण्टामा मात्रै कोरोना पुष्टि भएका दुईसय १४ जना मध्ये एकसय ७२ जना सुर्खेतका छन्। भने हाल सम्म सक्रिए संक्रमितको संख्या ९ सय ४३ जना रहेका छन्।