आइतबार रातिदेखि काभ्रेमा एकसाता निषेधाज्ञा


अगर बत्ती

Dharana    

access_time 01 May 2021

काभ्रे/कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै काभ्रेमा पनि निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले सूचना जारी गरी वैशाख १९ गते अर्थात् आइतबार राति १२ बजेदेखि लागू हुने गरी काभ्रेका बजार क्षेत्र र राजमार्गमा निषेधाज्ञा जारी गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काभ्रेमा वैशाख २६ गतेसम्म निषेधाज्ञा जारी हुने जानकारी दिए। उनका अनुसार अरनिको राजमार्गको साँगादेखि बनेपा बजार धुलिखेल सदरमुकाम पाँचखाल बजार क्षेत्र हुँदै दोलालघाटसम्म, बनेपा तीनदोबाटोदेखि नाला भगवती र बनेपा-पनौती खोपासी सडक खण्डको दायाँबायाँ ५ सय मिटर  क्षेत्रमा निषेधाज्ञा गरिएको छ। त्यस्तै, बिपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभन्ज्याङ-भकुण्डे हुँदै मंगलटार र पाँचखाल नपाको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको २ सय मिटर दायाँबायाँको क्षेत्रमा निषेधाज्ञा जारी भएको हो। अन्य स्थानीय तहहरूमा संक्रमण दर कम भएकाले निषेधाज्ञाको निर्णय नभएको उनले जनाए।

शनिबार  बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक सेवा तथा वस्तुसँग सम्बन्धित बाहेकका सेवाहरू बन्द गर्ने निर्णय भएको प्रशासनले जनाएको छ। त्यस्तै,  निषेधाषाको अवधिमा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोक लगाएको जारी सूचनामा उल्लेख गरिएको  छ।

प्रजिअ पोखरेलले सञ्‍चारकर्मीले सूचना विभागबाट दिएको परिचयपत्रको आधारमा मात्र आवातजावत गर्न पाउने, विवाह कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित हुन नपाउने र  दैनिक उपभोग्य वस्तुका पसललगायत भने आवश्यक मापदण्ड पूरा गरी खोल्न दिने निर्णय भएको बताए। कोभिडको महामारी तीव्ररूपले बढ्दै गएपछि हाल काठमाडौं उपत्यकालगायत देशका करिब २५ जिल्लामा निषेधाज्ञा जारी छ।



Share Your Thoughts