राति १२ बजेदेखि पाल्पामा निषेधाज्ञा लागू


अगर बत्ती

Dharana    

access_time 01 May 2021

पाल्पा/पाल्पामा निषेधाज्ञा सुरू भएको छ। शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा लागू भएको हो । निषेधाज्ञा २४ गते राति १२ बजेसम्म जारी रहनेछ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को महामारी पाल्पामा पनि ह्वात्तै फैलिएपछि यसको रोकथाम तथा नियन्त्रण गर्न निषेधाज्ञा लगाइएको हो। जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जनाए।

निषेधाज्ञा अवधिभर अत्यावश्‍यक कामबाहेक कोही पनि घरबाहिर निस्कन पाउने छैनन्। यद्यपि औषधि उपचार तथा अत्यावश्यक कामका लागि रोकावट हुने छैन।

एम्बुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुपंक्षीका दाना, दूध, फलफूल, तरकारी, माछा मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ निर्माण सामग्री, औद्योगिक कच्चा पदार्थ, चिकित्सक तथा स्वास्थ्यकर्मी ड्युटी जान आउन प्रयोग गर्ने, औषधि तथा स्वास्थ्य सामग्री, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सवारीसाधनहरू सञ्‍चालन हुन पाउने प्रजिअ पाण्डेले जनाए।

यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधन सञ्‍चालन हुन पाउने छैनन्। पाल्पा जिल्ला भएर अन्य जिल्ला जाने सवारी साधनले पाल्पाका कुनै पनि ठाउँमा यात्रु चढाउन वा ओराल्न नपाउने उनले जनाए।

खाद्यन्न पसल दैनीक विहान ६ बजेदेखि ११ बजे खुला रहनेछन्। अन्य कुनै प्रकारका पसल खोल्न पाइने छैन। औषधि पसल २४ घण्टा खुला रहनेछ। स्वास्थ्य, सुरक्षा, सञ्‍चार, विद्युत्, खानेपानी, दमकल, बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने सेवाबाहेक सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायबाट प्रदान गरिने सबै प्रकारका सेवा बन्द हुनेछन्।

आदेशको उल्लंघन गर्ने जो कसैलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही हुने प्रजिअ पाण्डेले बताए। स्वास्थ्य मापदण्डको पालना गरेर कोरोना महामारीबाट आफू बाँच्न र अरूलाई पनि बचाउन उनले अपिल गरे।

शुक्रबारसम्म पाल्पामा कोरोना संक्रमितको संख्या २ हजार ३५९ पुगेको छ। जसमध्य ३५० सक्रिय संक्रमित रहेका छन्। यीमध्ये २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। ३२७ जना होम आइसोलेसनमा बसेका छन्। ४० जनाको मृत्यु भएको छ। 



Share Your Thoughts