लहानमा थप २६ शय्या रहेको आइसोलेशन कक्ष तयार



Dharana    

access_time 28 Apr 2021

सिरहा/बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी सिरहामा २६ शय्याको आइसोलेशन तयार पारिएको छ।

जिल्ला अस्पताल सिरहाको मातहतमा रहने गरी सदरमुकाम सिरहामा तत्कालका लागि २६ शय्याको आइसोलेशन शय्या तयार पारिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए।

बढ्दो कोरोना सङ्क्रमणको ग्राफलाई मध्यनजर गरी बजेट अभावका बाबजुद सिरहामा अक्सिजन प्लान्टसहित पाँच आइसीयू शय्या र दुई भेन्टिलेटरसमेत गरी २६ आइसोलेशन शय्या तयारी अवस्थामा राखिएको प्रजिअ कँडेलले जनाए।

यस्तै, भारतीय सीमावर्ती क्षेत्र सिरहाको माडरमा होल्डिङ सेन्टर स्थापनाका लागि स्थानीय तहबाट एक/एक लाख रुपैयाँ आर्थिक सहयोगको आश्वासन आएकाले होल्डिङ सेन्टर स्थापनाको तयारी गरिएको उनको भनाइ छ। कोरोना सङ्क्रमण तीव्रगतिमा फैलिन थालेपनि प्रदेश सरकारले बजेट उपलब्ध नगराउँदा थप आइसोलेशन शय्या थप्नेलगायत पूर्वतयारीका काम अपेक्षाकृत रूपमा ​गर्न नसकिरहेको प्रजिअ कँडेलले जनाए।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसिएमसी) को बैठकले विभिन्न शीर्षकमा प्रदेश सरकारसँग ४७ लाख रुपैयाँ माग गर्ने निर्णय गरी पठाएपनि हालसम्म बजेट प्राप्त नहुँदा समस्या भएको प्रजिअ कँडेलले जानकारी दिए।

डिसीसिएमसीले जोखिम न्यूनीकरणका लागि २० लाख, सिआइसिटी मोबिलाइजेशन शीर्षकमा १० लाख, अत्यावश्यक औषधि खरिद गर्न २० लाख र एम्बुलेन्स तथा शववाहन परिचालन गर्न प्रदेश सरकारसँग सात लाख रुपैयाँ माग गरेको जनाएको छ। स्थानीय तहलाई आवश्यक पर्ने औषधि, जनशक्ति, सामग्री र स्वास्थ्य उपकरणको पर्याप्त बन्दोबस्त मिलाउनसमेत निर्देशन दिएको उनको भनाइ छ।

सिरहामा हाल १२ नयाँ कोरोना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ। जिल्ला अस्पताल सिरहास्थित आइसोलेसनमा ती मध्ये ६ जनाको  उपचार भइरहेको छ। -RSS



Share Your Thoughts