बलात्कारकै बदला लिन भागरथीको हत्या गरेको अभियुक्तको बयान ,हत्या आरोपमा सहपाठी पक्राउ



Dharana    

access_time 17 Feb 2021

काठमाडौँ ।  बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका किशोरले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन्।

उनले भागरथीको परिवारसँग बलात्कार घटनाकै बदला लिन आफूले अपराध गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

घटनाको १३ औँ दिनमा पक्राउ परेका ती युवक भागरथीकै सहपाठी र छिमेकी हुन्। उनी भागरथीले अध्ययन गर्ने विद्यालयमै कक्षा ११ मा पढ्ने गरेका थिए।

पक्राउ परेका ती किशोरले आफ्नो परिवारका एक सदस्यमाथि ‘भागरथीका बुवाले बलात्कार गरेको घटनाको बदला लिन’ उनको हत्या गरेको बयान प्रहरीलाई दिएका छन्। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘भागरथीका बुवाबाट भएको बलात्कारको बदला लिन उनकै छोरीको हत्या गरेको हुँ भनेर बयान दिएका छन्।’

पक्राउ परेका युवकको भनाइ अनुसार एक वर्षअघि भागरथीका बुवाले उनको नजिकको नाता पर्ने एक महिलामाथि बलात्कार गरेका थिए। तर त्यो घटना गाउँमै मिलाइएको थियो। ती प्रहरी अधिकारीले यसबारे थप अनुसन्धान भइरहेको बताएका छन्। भागरथीका बुवाको निधन भइसकेको छ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घटना भएका दिन ती किशोर दिउँसो साढे १२ बजे विद्यालयबाट निस्केर जंगलमा एक्लै भागरथीलाई ढुकेर बसेका थिए। दिउँसो २ बजेपछि भागरथी त्यही बाटो भएर विद्यालयबाट घर फर्किरहेकी थिइन्।

चाउचाउ खाँदै घर फर्किरहेकी भागरथीलाई ती किशोरले पछ्याएको र सडकबाट धकेलेको बयानमा उल्लेख छ। भागरथीको मोबाइल बाटोमै खसेको थियो । सडकबाट धकेलेपछि खोल्सोमा झरेकी भागरथीको घाँटी न्याकेर बलात्कारको प्रयास गरेको बयानमा उल्लेख छ, प्रहरीका अनुसार ।

तर भागरथी महिनाबारी भएको देखेपछि बलात्कार भने आफूले नगरेको बयान किशोरले दिएको ती प्रहरी अधिकारीले बताए।

‘रेप गर्न खोज्दा मिन्स भएको देखेँ अनि छोडिदिएँ’, अभियुक्तको बयान उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने।

घटनापछि भागरथीलाई न्याय माग्दै भएको प्रदर्शनमा पनि ती किशोर हरेक दिन सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ

तर भागरथीको बलात्कारपछि हत्या भएको पोष्टमार्टम रिपोर्टमा उल्लेख छ। पक्राउ परेका किशोरलाई बुधबार दिउँसो सार्वजनिक गर्ने प्रहरीले जनाएको छ।



Share Your Thoughts