देशमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, बेलैमा सचेत हुनु पर्छ : डा. वासुदेव पाण्डे


अगर बत्ती

Dharana    

access_time 17 Aug 2020

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौंलगायत देशका सबै क्षेत्रमा लकडाउन खुलिसकेकपछि संक्रमितको संख्या बढेको स्पष्ट पारेका छन् । उनले काठमाडौंमा हिजो सबैभन्दा धेरै लगभग दुई सय जना संक्रमित भएको र अझै एक महिनाको लागि धेरै सचेत हुनुपर्ने अवस्था रहेको औंल्याए । आज (सोमबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलाले डा. पाण्डेसँग गरेको कुराकानीमा उनले भनेका छन्,अहिलेसम्म भएका तयारीहरू के कति छन्, नपुगेका तयारीहरू के कति छन्, त्यसमा ध्यान दिनुपर्छ । हामीले काठमाडौँमा अस्पतालहरू प्राइमरी, सेकेण्डरी भनेर राखेका छौँ । प्रस्तुत छ डा. पाण्डेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ः

कोरोनाको रोकथाम र नियन्त्रणका लागि कस्तो कदमहरू चाल्दै हुुनुहुन्छ ?

अहिले काठमाडौँ लगायत देशका सबै क्षेत्रमा लकडाउन खुलिसकेपछि संक्रमण एकदम बढेको छ । खास गरेर काठमाडौँमा हिजोको दिनमा सबैभन्दा धेरै लगभग २०० जना जति व्यक्ति संक्रमित भएको हुनाले हामी अझ १ महिनाको लागि धेरै सचेत हुनुपर्ने अवस्था छ । अहिलेसम्म भएका तयारीहरू के कति छन्, नपुगेका तयारीहरू के कति छन्, त्यसमा ध्यान दिनुपर्छ । हामीले काठमाडौँमा अस्पतालहरू प्राइमरी, सेकेण्डरी भनेर राखेका छौँ ।

पोजिटिभ भईसकेपछि पनि तपाईहरूलाई रिपोर्ट दिन गा¥हो हुन्छ ? के कारणले रिपोर्ट दिन ढिलाई भैरहेको छ ?

पहिला पोजिटिभ भएका व्यक्तिहरू रोग नियन्त्रण महाशाखामा आउँछन् । त्यसपछि उहाँहरू सबैलाई हामीले खबर गर्ने र कहाँ लग्न पर्ने हो, लक्षण भएका व्यक्तिहरू छन् भने उहाँहरूलाई अस्पतालमा लग्नुप¥यो । त्योभन्दा बाहेक लक्षण नभएका संक्रमित मात्र हुन् भनेदेखि आइसोलेसन सेन्टर अथवा क्वारेन्टाइन जस्तो हामीले बनाएका छौँ । अहिले स्वयम्भु र खरिपाटीमा सुरु भयो ।

संक्रमितहरूले के भनेका छन् भन्दाखेरि हामीले हाम्रो रिपोर्ट १० दिन पछि मात्रै हामीले पाएका छौँ । आलटाल गरियो रिपोर्ट दिनको लागि भनेर उहाँहरुले भनिरहनुभएको छ नि ?

सबै ल्याबको रिपोर्टहरू भनेको उहाँहरूले हामीलाई ईमेलमार्फत पठाउने हो । उहाँहरूले हामीलाई रिपोर्ट दिनुहुन्छ ।

जानकारी छिटै दिइँदैन अरे नि ?

जानकारी उहाँहरूले पाउनुहुन्छ । कसै कसैले इन्सुरेन्समार्फत पैसा पाउनु हुँदो रहेछ । कसैले त्यो रिपोर्ट बाहिर लगेर देखाउनुपर्ने हुँदो रहेछ । रिपोर्ट लिनको लागि प्रिन्ट आउट भएको रिपोर्टमा त्यो ल्याबले सही गरेको, नपाएको भनेको होला, हामीले खबर गर्ने काम १० दिनमा गरेर सम्भावना नै छैन । हिजो १७२ जना आयो र अर्को २०÷३० जना त बेलुका थपियो । त्यो थपिएको प्रवक्ताजीले पनि भन्नुभएको छैन । त्यो हामीले उहाँलाई रिपोर्ट पनि दिन सकेका छैनौँ । हामीले अब ४ बजे बल्ल भन्छौँ । तर उहाँहरूले त्यो प्रिन्टेट रिपोर्ट पाउन अलिकति ढिलो भएको होला किनभने उहाँहरूले इन्सुरेन्स लगायत कतिपय ठाउँहरूमा देखाउनुपर्ने हुँदो रहेछ ।

प्रदेश नम्बर २ को के छ अवस्था ? त्यहाँ त कोरोना महामारी हुनसक्ने खतरा देखियो नि ?

प्रदेश २ मा अलि समस्या ठुलै छ । त्यहाँको नारायणी अस्पतालले त्यहाँ सेवा दिने हो । व्यक्तिहरू जो बोर्डरबाट आउनुभयो, अहिले संक्रमणको दर अझै पनि बढिरहेको छ । तर त्यो अघिल्लो हप्ताभन्दा केही हदसम्म राम्रो हुँदैछ । स्थानीय सरकार, त्यहाँको महानगरपालिका र यताबाट कसरी सपोर्ट गर्ने र उहाँहरूले स्थानीय रूपमा कसरी त्यसको अझै राम्रो सेवा दिने हो भन्ने कुरामा लाग्नुभएको छ । त्यहाँ संक्रमितहरू पनि धेरै नै भएका, अस्पतालका हाम्रा चिकित्सक साथीहरू पनि संक्रमणमा पर्नुभएको, सबै कुरा एकैचोटि भएको हुनाले त्यहाँ अलिकति गा¥हो भएको छ ।

अति विशिष्ट व्यक्तिहरू हुनुहुन्छ हाम्रो देशको, प्रधानमन्त्री, मन्त्री, उपप्रधानमन्त्री, पार्टीका अध्यक्षहरू, विभिन्न संवैधानिक निकायका प्रमुखहरूको तपाईहरू घरमै गएर टेस्ट गर्नुहुन्छ, पि.सि.आर ? अनि जनता अस्पतालमा नै पुग्दाखेरि पनि पि.सि.आर टेस्ट गर्न पाउँदैनन्, किन ?

हाम्रो गाइडलाइनहरू छन् । त्यसमा हामीले कसलाई टेस्ट गर्ने र कसलाई टेस्ट नगर्ने भन्ने छ । कुनै अफिस भनौँ, सरकारी संस्था भनौँ, कही संक्रमण भयो भने त्यसको कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा हामीले टेस्ट गर्ने हो र त्यही आधारको अवस्थामा हामीले गरिरहेकै हो । गंगालाल अस्पताल, टिचिङ्ग अस्पतालमा हामीलाई समस्या भयो । यो रोग त ठुला पदमा बस्ने व्यक्ति र साना पदमा बस्ने व्यक्ति, सबैलाई बराबर रूपमा ध्यान दिनुपर्ने विषय हो ।

हुनेखाने र ठुलाबडाहरूले तुरुन्तै परीक्षण गर्न पाउँछन्, जनताले पाउँदैनन् ?

हुनेखानेलाई पनि रोग हुने भयो । त्यसैले यसमा हामीले गाइडलाइन अनुसार गर्ने हो । त्यस्तो बेलामा कहिलेकाही हुनेखानेहरूको अफिसमा पनि त्यस्तो भयो भने त्यहाँ गएर परीक्षण गर्नुपर्ने अवस्था हो । हामीलाई यस्तो खालको प्रेसर धेरै आउँछ, हामीलाई गरिदिनुस्, घरमै गरिदिनुस् अथवा हाम्रो अफिसमा गरिदिनुस्, यस्तो प्रेसर त हामीलाई धेरै आउँछ । अब यो पि.सि.आर टेस्ट भनेको जसको लक्षण छ, त्यस्तो व्यक्तिलाई हामीले गर्नुपर्छ । त्योभन्दा बाहेक कुनैपनि पदमा छ भने उसले आफ्नो पदको फाइदा लिएर हामीलाई प्रेसर नदिनुभए हामीलाई राम्रो हुने थियो । हामीले जसलाई परीक्षण गर्न चाहेको त्यसलाई गर्न पाए राम्रो हुन्थ्यो भन्ने मेरो भनाई हो ।



Share Your Thoughts