कोरोना संक्रमणले नेपाललाई दिएको अवशर


अगर बत्ती

Dharana    

access_time 27 Jun 2020

-निमकान्त पाण्डे 

कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र प्रभावित भएको छ ।  मुख्य रुपमा पर्यटन तथा सार्वजनिक यातायातका क्षेत्रमा ठूलो प्रभाव पर्ने देखिएको छ । कोरोना सङ्क्रमण फैलन नदिन सरकारले बिगत तीन महिनादेखि लकडाउनको आदेश निरन्तर जारी गरिरहेको छ । लकडाउनका कारण होटल व्यवसाय, पर्यटन तथा त्यसका सहायक क्षेत्रमा ठूलो प्रभाव परेको छ । कूल २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित शुरु भएको नेपाल भ्रमण वर्षसमेत सरकारले  स्थगन गरेको छ ।

 कोरोनाको प्रभाव कस्तो परिरहेको छ भन्ने कुरा ेनेपाल पर्यटन बोर्डले तत्काल नै २० अर्ब बराबरको राहत प्याकेज जरुरी रहेको स्पष्ट पारिसकेको र राष्ट्रिय तथ्याङ्क विभागले  होटेल तथा रेष्टुरेन्ट क्षेत्रमा १६ दशमलव ३० प्रतिशतले ऋणात्मक हुने देखाएको आधारमा पनि अनुमान गर्न सकिन्छ । त्यसैगरी वायु सेवा प्रदायक कम्पनीहरु समेत मारमा परेका छन् । पर्यटन क्षेत्रमा प्रत्यक्षरूपमा पाँच लाख र अप्रत्यक्ष गरी १५ लाख नागरिक सहभागी रहेको तथ्यांक सार्वजनिक भएको छ , ती सबै प्रभावित हुने छन् । 
कोरोना महामारीका कारण विश्वव्यापी तथा आन्तरिक पर्यटकको आवतजावतमा आएको अवरोधले मूल्य  वृद्धिदर ऋणात्मक हुने देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा पर्यटकको आवागमनमा समेत १३ दशमलव ८२ प्रतिशतले कमी आएको जनाईएको छ । कुल गार्हस्थ्य उत्पादनमा चालु आवमा यस क्षेत्रले १ दशमलव ४२ प्रतिशत योगदान दिएको तथ्यांक सार्वजनिक भएको थियो ।
कोरोनाका कारण ठूलो प्रभाव परेको पर्यटन, होटल तथा रेष्टुरेन्ट क्षेत्रको पुनःउत्थान निकै कठिन हुने देखिन्छ । यसका लागि ठोस कार्यक्रम ल्याउनु जरुरी देखिएको राष्ट्रिय योजना आयोगको  नै सुझाव सार्वजनिक भएको छ । त्यसैगरी शिक्षा क्षेत्र पनि अस्तब्यस्त भएको छ । 
यी सबै अवस्थालाई मध्यनजर गरेर सरकारले देशलाई कृषिमा आत्मनिर्भर बनाउने अवसर अवशर पनि कोरोना संक्रमणले नेपाललाई दिएको छ । कोरोनाका कारण अन्य क्षेत्रमा ठूलो प्रभाव परे पनि कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सकिने अवस्था पनि सिर्जना हुनु नेपालका लागि संकटको सकारात्मक पक्षका रुपमा लिएर योजना बनाउन सक्नु पर्दछ ।
  वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत कृषि उद्यममा जोड्न सकिने अवस्था आएको छ ।
ती युवालाई व्यावसायिक कृषितर्फ आकर्षित गर्ने खालका कार्यक्रमको अपेक्षा गर्न सकिन्छ । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुमा  सोच, सीप र पूँजी पनि हुने भएकाले उनीहरुको सदुपयोग तर्फ सरकारले बिशेष ध्यान दिन आवश्यक छ । 
 गत वर्ष नेपालले ३३ अर्बको चामल, १३ अर्बको मकै, सात अर्बको आलु, ६ अर्बको स्याउ, सात अर्बको मरिच र दुई अर्बको केरा आयात गरेको तथ्याङ्क सार्वजनिक भएको छ । कृषि प्रधान देशका लागि यो अवस्था लज्जाजनक नै हो । कोरोनाले हामीलाई कृषिक्षेत्रमा आत्मनिर्भर बन्न सक्ने अवशर प्रदान गरेको छ । सरकारले कृषि उपजको बजारीकरणको ब्यवस्था गरेर यो क्षेत्रलाई प्रोत्साहित तुल्याउनु जरुरी छ । सरकारले किसानलाई राहत दिएर कृषि केन्द्रित उद्यमको विकासका लागि बजेट केन्द्रित गर्न सक्ने हो भने निश्चय पनि यो क्षेत्र आकर्षणको केन्द्र बन्ने देखिन्छ । 
युवाहरु विदेशबाट स्वदेश फर्कने क्रम सुरु भएको छ । यसै अवस्थामा उनीहरुलाई  रोजगारीको अवसर सिर्जना गर्न सकिएन भने त्यसले निराशा उत्पन्न गराउने र नयाँखालको सामाजिक द्वन्द्व निम्त्याउन सक्ने सम्भावनातर्फ ध्यान दिन जरुरी छ , आगे सरकारका कमाण्डरहरुलाई चेतना भया ! -जनधारणा साप्ताहिक 



Share Your Thoughts