एमसीसी पास हुँदैन, छलकपट गर्न थाले पार्टीभित्र दुर्घटना हुन्छः पोखरेल


अगर बत्ती

Dharana    

access_time 24 May 2020

काठमाडौं /  नेकपाका स्थायी कमिटि सदस्य लिलामणी पोखरेलले  विवादित एमसीसी परियोजना अहिलेको अवस्थामा पास नहुने बताउनुभयो । 


बजेटका विषयमा छलफल गर्न आयोजना गरिएको सचिवालय वैठकमा एमसीसीको एजेण्डाकेन्द्रित छलफल भएको सन्दर्भ उल्लेख गर्दै नेता पोखरेलले नीति तथा कार्यक्रममा नभएको विषय बजेटमा नआउने विश्वास व्यक्त गर्नुभयो । लप्सेफेदी प्रसारण लाइनको योजना कसरी ल्याइयो भन्दै प्रश्न गर्नुभएको थियो ।


एमसीसीलाई संसदबाट पास गर्नुपर्ने प्रावधान भएको र यसको प्रस्ताव अलग्गै संसदमा विचाराधीन भएकाले फरक ढंगबाट पास गराउने वा बजेटमा समावेश गराउने काम नहुने पोखरेलले बताउनुभयो । नेता पोखरेलले फरक ढंगबाट संसदमा टेवल भयो भने पार्टी निर्णय अनुसार जाने बताउनुभयो । पछिल्ला समयमा पार्टी निर्णयभन्दा पनि राष्ट्रको आवश्यकता भन्दै प्रधानमन्त्रीले सिधै प्रस्तुत गर्ने अवस्थामा के गर्नुहुन्छ ? भन्ने प्रश्नमा नेता पोखरेलले भन्नुभयो पार्टी निर्णय विपरित पेलपाल भयो भने दुर्घटना हुन्छ । नेकपाको पार्टी निर्णयअनुसार गठन भएको कार्यदलले यो अवस्थामा एमसीसी पास गर्न नहुने तर्क सहितको प्रतिवेदन बुझाएको छ ।


पोखरेलले एमसीसी इण्डोप्यासिफिक रणनीति अन्तर्गत अमेरिकी शैन्य रणनीतिको कार्यान्वयन पनि भएकाले अहिलेको अवस्थामा नेपालले पारित गराउन नमिल्ने बताउनुभयो । बजेटमा समावेश भएका ठूला आयोजनाहरुको कार्यान्वयनको स्रोतको विषयमा छलफल हुँदा एमसीसीको प्रसंग आए पछि राजनीतिक बृत्तमा बजेटसंग सम्बन्धित विधेयकमा एमसीसीलाई समेटेर ल्याउन लागेको चर्चा चलेको थियो ।


प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नीति तथा कार्यक्रममा जवाफ दिँदै सरकारले पूर्ववत सरकारको उत्तराधिकारीको जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता र अन्तर्राष्ट्रिय परिस्थति लगायतका विषयवस्तुलाई उठाएर एमसीसी पारित गर्नुपर्ने बाध्यतामा भएको आशय प्रस्तुत गर्नुभएको थियो । सदनमा प्रधानमन्त्रीले घुमाउरो भाषामा आफ्नो चाहना प्रस्तुत गरेर संसदको क्षेत्राधिकार हो यहाँहरु निर्णय गर्नुस् भन्नुलाई सफ्ट थ्रेटको रुपमा लिन सकिने नेकपाका एक केन्द्रीय सदस्यले बताउनुभयो ।




Share Your Thoughts