क्‍वारेन्टाइनमा बसेकाहरुलाई संक्रमणको धेरै खतरा


अगर बत्ती

Dharana    

access_time 19 May 2020

बाँके, कपिलवस्तु, रुपन्देही — क्वारेन्टाइन भनेको संक्रमण अवधिभर आशंकितलाई छुट्टै राखेर रोगको निदान गर्ने परीक्षण विधि हो । तर बाँके नरैनापुर गाउँपालिकाको क्वारेन्टाइन हेर्दा लाग्छ, यहाँ परीक्षण होइन, मानिसहरूलाई थुन्नका लागि राखिएको छ । यहाँ क्वारेन्टाइनमा पालना गर्नुपर्ने कुनै नियम पालना भएको छैन, जसले गर्दा संक्रमण नभएकालाई पनि संक्रमण हुने निश्चितजस्तै छ ।

क्वारेन्टाइनमा बसेकाहरूबीच सामाजिक दूरी पालना गरिएको छैन । भारतबाट आएका युवा एउटै कोठामा आठ जना कोचिएर बस्ने गरेका छन् । उनीहरू बिछ्यौना नभएको भन्दै सुत्न घरै पुग्छन् र बिहान लुसुक्क आइपुग्छन् ।

यस्तो बेथितिपूर्ण स्थानीय क्वारेन्टाइनमध्येको एक हो– नरैनापुर–४ स्थित फतिमा मदरसाको क्वारेन्टाइन । यहाँ २३ जनालाई तीनवटा कोठामा खाँदेर राखिएको छ । मदरसामा शौचालय नभएकाले शौच गर्न खेतबारीमा पुग्छन् क्वारेन्टाइनमा बसेकाहरू । कतिपय शौच गरेर घरतिर जान्छन् । जिल्लाका मानवअधिकारकर्मी र अधिवक्ताहरूको टोलीले सोमबार सातवटा क्वारेन्टाइनको अनुगमन गरेको थियो । सबै क्वारेन्टाइन मापदण्डअनुरूप नरहेको टोलीको निष्कर्ष छ । ‘क्वारेन्टाइनमा बसेकाहरू राति घरमै गएर सुत्ने गरेको समेत पाइयो,’ अनुगमनमा गएकामध्ये एक अधिवक्ता सुरेशकुमार गौतमले भने, ‘यस्तो तालले समुदायमै कोरोना संक्रमण फैलिएको पक्का छ ।’


टोलीका अनुसार क्वारेन्टाइनमा बस्ने सद्दे मान्छे पनि बिरामी हुने खतरा बढेर गएको छ । क्वारेन्टाइनमा सुत्ने, खाने, दिन बिताउने र मनोरन्जनका सामग्रीको अभाव मात्रै होइन, एउटै शौचालयमा भीड लगाएर जानुपर्ने बाध्यतासमेत रहेको गौतमले बताए । ‘क्वारेन्टाइन व्यवस्थित नहुँदा भाग्नुपर्ने स्थितिसमेत आएको छ,’ उनले भने, ‘स्वास्थ्यकर्मी पनि समयमै जाँचका लागि पुग्दैनन्, यसले बिरामीमा थप नैराश्य थपिएको छ ।’

स्थानीय बासिन्दा क्वारेन्टाइनको लापरबाहीले आफूहरू पनि खतरामा परेको बताउँछन् । ‘क्वारेन्टाइनमा बसेकाहरू रातारात घर आउने/जाने गर्छन्,’ स्थानीय रामानन्द शर्मा भन्छन्, ‘हामी गाउँका सबै जोखिममा छौं, अनुगमन गर्ने कोही छैन ।’ नरैनापुर–४ का वडाध्यक्ष दिनेशप्रसाद शर्मा शौचालय भए पनि क्वारेन्टाइनमा बस्नेले प्रयोग नगरेकाले समस्या थपिएको बताउँछन् । ‘क्वारेन्टाइनमा बसेकाहरू सुरक्षाकर्मीलाई टेर्दैनन्,’ उनले भने, ‘खेतमै शौचालय गर्ने बानी परेकाले लुकेर उतै जान्छन् ।’

क्वारेन्टाइनमा गएपछि झन् जोखिम

कपिलवस्तुको मायादेवी गाउँपालिका–३, बड्की खैराटीका सुनिल रैदासलाई स्थानीय क्वारेन्टाइनमा पेट दुख्ने, पखाला लाग्ने र ज्वरो आउने भएर छट्पटिएको १२ घण्टाभन्दा बढी भयो । सोमबार दिउँसोसम्म उनी नेपाल राष्ट्रिय प्रावि क्वारेन्टाइननजिक रहेको रुखमुनि सहयोगका लागि हारगुहार गरिरहेका थिए । ‘तर उनको चित्कार कसैले सुनेनन्,’ उक्त क्वारेन्टाइनमा बसिरहेका बुधराम रैदासले भने, ‘कसरी उसलाई सहारा दिउँ ।’ सुनील दिल्लीबाट आएका हुन् । त्यसैले कोभिड–१९ संक्रमणको त्रास छ । आजको कान्तिपुरमा समाचार छ । 



Share Your Thoughts