जेनेभा / विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण ‘कहिल्यै समाप्त नहुने’ सम्भावना रहेको चेतावनी दिएको छ ।
बुधबार जेनेभामा भएको भर्चुअल पत्रकार सम्मेलनमा कोरोना भाइरसबारे विज्ञहरुले कोरोना महामारीका कारण वैश्विक मानसिक संकट उत्पन्न भइरहेको जनाइरहँदा डब्लूएचओका आपत्कालीन विभागका प्रमुख डा. माइकल ऱ्यानले कोरोना कहिल्यै निर्मूल नहुने सम्भावना रहेको बताएको हो ।
कहिलेसम्म रहन्छ भनेर आधारहीन भविष्यवाणी नगर्न पनि चेतावनी दिएका छन् । उनले कोरोना भाइरसको अवधि तोकेर बस्नुभन्दा पनि यसको नियन्त्रण र रोकथाममा बृहत् प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘यो विषयमा चर्चा आवश्यक छ कि कोरोना भाइरस हामीबीच क्षेत्रविशेषको भाइरस बनेर बस्ने सम्भावना रहेको छ । र, यो कहिल्यै निर्मूल नहुन पनि सक्छ,’ डाक्टर ऱ्यानले भने, ‘यसमा कुनै वाचा र मिति छैन । यो रोग दीर्घकालीन समस्या हुन सक्छ वा नहुन पनि सक्छ ।’
डाक्टर ऱ्यानले एचआईभी भाइरस पनि समाप्त नभएको उदाहरण दिँदै कोरोना भाइरसका बारेमा मिति तोक्ने काम र वाचा नगर्न पनि सबैलाई सुझाव दिएका छन् । उनका अनुसार बिनाभ्याक्सिन आम सर्वसाधारणलाई रोगप्रतिरोधात्मक क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौं लाग्न सक्नेछ ।