`परराष्ट्रको वक्तव्यमा हस्ताक्षर किन आएन ? यस्तो बेवारिसे वक्तव्य जारी गर्ने ?´


अगर बत्ती

Dharana    

access_time 11 May 2020

काठमाडौं / भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ ।


परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको हो । सांसदहरुले निर्णय नगरी बैठक स्थगित गरिएको र आगामी बैठकका विषयमा समेत स्पष्ट जानकारी नभएको भन्दै प्रश्न गरेका थिए ।


परराष्ट्रमन्त्री ज्ञवालीले बैठकमा उठेका विषयमा जवाफ दिए पनि कुनै निर्णय/निर्देशन नगरी आगामी बैठक अनिश्चित भएपछि सांसदहरुले बैठकको मिति तोक्नपर्ने अडान लिएका थिए । समिति सभापति पवित्रा निरौला खरेलले मन्त्रीसँग समय लिएर मात्रै बैठक तय हुने बताइन् ।


सभापति खरेलले अर्को बैठक यकीन गर्न नसक्ने बताएपछि नेकपा सांसद भीम रावल कड्किए, ‘सभापतिज्यू देशको सार्वभौम सत्ताको रक्षाभन्दा ठूलो कुरा के हो ? मलाई सुनाउनुहोस् । बैठकको समय तय हुनुपर्छ र त्यो बैठकमा कुरा राख्न पाउनुपर्छ । त्यो बैठकबाट निर्णय हुनुपर्छ । यसरी बैठकका विषयमा अहिले भन्न सक्दिन भन्न मिल्दैन ।’


रावलले जवाफ माग गरेपछि सभापति खरेलले मन्त्रीको समय के हुनसक्छ भन्ने ख्याल गरेर आफूले त्यसो भनेको बताइन् । उनले समिति सदस्यहरुसँग छलफल गरेर अर्को बैठक तय हुने उल्लेख गरिन् ।


त्यसपछि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन परराष्ट्रमन्त्री ज्ञवालीलाई समय दिइन् । तर, सांसदहरु बोलिरहे– अर्को बैठक कहिले बस्छ सभापतिज्यू, बैठकको मिति आजै तय हुनपर्छ ।’


बोल्न सुरु गरिसकेका परराष्ट्रमन्त्री ज्ञवाली सांसदहरु बीचमा बोलिरहेपछि रोकिए । होहल्ला रोकिएपछि आफ्ना कुरा राखे ।


रावलका दुई प्रश्न


परराष्ट्रमन्त्री बोल्दाबोल्दै नेकपाका सांसद रावलले दुई प्रश्न गरे– एउटा, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मन्त्रीको हस्ताक्षर किन आउँदैन ? अर्को, बैठकमा मन्त्रीले आउँदिन भन्न मिल्छ ?


‘म प्रश्न गर्न चाहन्छु, परराष्ट्र (मन्त्रालय) ले जारी गरेको विज्ञप्तिमा कुनै व्यक्तिको हस्ताक्षर किन छैन ? अरु देशले वक्तव्य जारी गर्दा आफ्ना प्रवक्तामार्फत् सञ्चार माध्यमलाई जानकारी दिन्छन् । यस्तो बेवारिसे वक्तव्य जारी गर्ने अनि भोलि बैठकमा आउँदिन भन्न मिल्छ ?’ सांसद रावलले एकैपटक दुई प्रश्न गरे ।


भारतले लिपुलेकमा सडक बनाएको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कसैको हस्ताक्षर नभएको विषय उनले उठाएका थिए ।


मन्त्रीको जवाफ – गुगल हेर्दा पनि भेटिन्छ


हस्ताक्षर किन आउँदैन भन्ने प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय अभ्यास हेर्न रावललाई सुझाव दिए । ‘डिप्लोमेटिक स्टेटमेन्ट, करेस्पोन्डेन्ट एक पटक हेरिदिनुभयो भने यो प्रश्न उठ्दैन’ उनले भने ‘त्यही वक्तव्यका आधारमा भारतले वक्तव्य दिइसक्यो । हामी यसलाई बेबारिस भन्छौं ।’


यसबारे अन्न्तर्राष्ट्रिय अभ्यासहरु गुगलमा पनि हेर्न सकिने उनले बताए । ‘अन्तर्राष्ट्रिय अभ्यासहरु के छन् यो त सजिलै हेर्न सकिन्छ होला नि, अघि केही साथीले मलाई गुगल हेर्न सुझाउनुभयो । गगुल हेर्दा पनि भेटिन्छ होला नि’ उनले जवाफ दिए ।


परराष्ट्र मन्त्रालयको वक्तव्य उच्च तहको राजनीतिक नेतृत्वको स्वामित्वमा जारी हुने मन्त्री ज्ञवालीले बताए । ‘टपमस्ट पोलिटिकल लिडरसिपको अनरसिपमा जारी हुने वक्तव्य हो त्यो, परराष्ट्रको प्रवक्ताको, सचिवको वा साउथ एसिया हेर्ने डिभिजनको वक्तव्य होइन’ उनले भने ।


समितिमा किन नआउने भन्ने प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले अरु समितिहरुले बोलाएका कारण समय तालमेल मिलाएर मात्र अन्तर्राष्ट्रिय समितिको बैठकमा आउने बताए । ‘अरु समितिहरुले पनि बोलाइरहनुभएको छ, समितिहरुको बैठकहरुबीचमा तालमेल मिलाएर म नआउने भन्ने प्रश्नै भएन’ उनले भने । आफूले व्यक्तिगत कामका लागि समय नदिएको भन्न नमिल्ने बताए ।


मन्त्री गएपछि बैठक तय

परराष्ट्रमन्त्री सांसदका प्रश्नको जवाफ दिएर हिँडे । त्यसपछि सांसदहरुले भोलिको बैठक समय तय गर्न सभापति पवित्रा निरौला खरेललाई आग्रह गरे । सभापति खरेलले भोलि बिहान ८ बजे बैठक राख्ने प्रस्ताव गरिन् र समिति सदस्यहरुले सहमति जनाएका छन् ।


निर्णय अर्को बैठकम

सभातिसँग छलफल गरेर आइतबार के निर्णय गर्ने भनेर समिति सचिवालयले ५ बुँदे सुझावपत्र तयार पारेको थियो । सुझाव पत्रमा कञ्चनपुरको बनबासा र टनकपुरमा अलपत्र नेपालीहरुलाई स्वदेश ल्याउनुपर्ने, भारतका अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई पनि नेपाल फर्काउने व्यवस्था गर्ने, भारत लगायतका देशमा रहेका नपालीहरुलाई पनिराहत उपलब्ध गराउने, सिमामा सुरक्षा बढाउने लगायतका विषय उल्लेख थियो ।अनलाइनखबर 




Share Your Thoughts