सरकारले अवैतानिक दूत सबैको सुविधा खोस्यो


अगर बत्ती

Dharana    

access_time 09 Apr 2020

काठमाडौं । किर्गिजिस्तानको अवैतानिक दूत सुलभ अग्रवालले दुर्दान्त काण्ड गरेपछि प्रतिक्रियास्वरुप सरकारले अवैतनिक दूतहरुलाई दिने गरेको सुविधा खारेज गरेको छ । ठूला व्यापारी, व्यवसायी, उद्योगी, कालाबजारी तथा तस्करहरु विभिन्न देशको अवैतनिक दूत बन्ने गरेका छन् । उनीहरुले विभिन्न किसिमका कूटनीतिक उन्मुक्तिसमेत लिने गरेका थिए । यस्तैमध्येका एक थिए सुलभ अग्रवाल । उनी मंगलबार नीलो प्लेटको मोटरमा थर्मल गन कालोबजारी गरिरहेको बेला ठाउँको ठाउँ रंगेहात पक्राउ परेका थिए । कतिपय अवैतनिक दूतहरुले मुलुकको प्रतिष्ठा उच्च बनाउने काम गर्दै आएको भए पनि कतिपयले भने हदैसम्मको दुरुपयोग गर्दै आएका थिए । पछिल्ला उदाहरण कालोबजारीमा पक्राउ परेका सुलभ हुन् । सुलभ केही वर्षदेखि अवैतनिक दूत रहँदै आएका थिए । कालोबजारी गरिरहेको बेला उनी नीलो प्लेटको मोटरमा ६६ वटा थर्मन गन अर्थात् टाढैबाट ज्वरो नाप्ने थर्माेमिटरसहित पक्राउ परेका थिए । 

थर्मल गन कालोबजारी गरिरहेको ...

सुलभले अवैतनिक दूतको हैसियतले लकडाउनका बेला चलाउन सकिने सवारी पास पनि हात पारेका थिए । जानकार स्रोतहरुका अनुसार केहीलाई छाडेर सबैजसो अवैतनिक दूतहरुले रातो पासपोर्टसमेत हात पारेका छन् । तर, सुलभले रातो पासपोर्ट हात पारेका थिए कि थिएनन् भन्ने स्पष्ट हुन सकेको छैन । कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेका सुलभलाई छुटाउन नेपालका ठूलाठूला शक्तिकेन्द्रहरु लागिपरेका छन् । तर, प्रधानमन्त्री केपी ओली कालोबजारी गर्ने जो कसैलाई कडाभन्दा कडा कारवाही गर्ने अडानमा छन् । 

अवैतनिक दूतहरुले राष्ट्रिय झण्डासमेत प्रयोग गर्न पाउँछन् । उनीहरुले अवैतनिक दूतको हैसियतले कार्यालय पनि राख्ने गरेका छन् । सुलभ कालोबजारीमा गिरफ्तार भएपछि प्रधानमन्त्री केपी ओलीले कूटनीतिक हैसियतको दुरुपयोग तत्काल छानविन गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई निर्देशन दिएका थिए । यही क्रममा सुलभको कूटनीतिक हैसियतको छानविन भएको जनाइएको छ । अवैतनिक दूतको हैसियतमा अन्य अर्बपति व्यवसायीले पनि मर्यादा उल्लंघन गरेको पाइएको छ । यही कारण अवैतनिक दूतहरुलाई दिइएको सबै सुविधा खारेज गरिएको छ ।



Share Your Thoughts