ग्यास स्टोरमा अनुगमन



Dharana    

access_time 20 Mar 2020



काठमाडौं । शुक्रबार दिउँसो १ बजे भक्तपुरको ठिमी नजिकै हर्षचोकबाट एक उपभोक्ताले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोल फ्री नम्बर ११३७ मा फोन गरे। उनले  आफ्नो घर नजिकै रहेको राधेश्याम स्टोरमा दैनिक ग्यास आउने गरेता पनि ग्यास नदिएको भन्दै गुनासो दर्ता गराए ।

उनले फोनमा गरेको गुनासो अनुसार १५ दिनदेखी उक्त स्टोरमा खाली सिलिण्डर लगेर राखेको जनाउँदै दैनिक ग्यास आएपनि १५ दिनदेखि ग्यास नपाएको गुनासो राखे। स्टोरले २ स्थानमा ग्यास भण्डार गर्ने गरेको र उक्त भण्डारण स्थान सधै बन्द हुने भन्दै गुनासो राखे।

उनले गुनासो दर्ता गरेसँगै विभागका निर्देशक सागर मिश्रले तत्काल अनुगमन टोलीलाई फोन गरी उक्त कुराको जानकारी  गराएको भन्नुभयो।

उनले विभागको टोल फ्री नम्बरमा गुनासो राख्दा विभागको अनुगमन टोली भक्तपुरको व्यास क्षेत्रमा पुगेको थियो। मिश्रले उपभोक्ताको गुनासो अनुगमन टोलीलाई जानकारी दिएलगत्तै अनुगमन टोलीले उक्त स्टोरमा छापा मारेको विभागले जनाएको छ।

अनुगमन टोलीका अनुसार राधेश्याम स्टोरमा ७० थान श्रीराम ग्यास आएको र हाल मौज्दात ११ थान ग्यास भेटिएको अनुगमन टोलीले जनाएको छ।

बाँकी ग्यास टोलीले नाम टिपाएका उपभोक्ताको तथ्याङ्कअनुसार वितरण गर्न निर्देशन दिएको मिश्रले जानकारी दिनुभयो। उहाका अुनसार खरिद बिल नभेटिएपछि उक्त स्टोरलाई कारबाही स्वरुप १५ हजार जरिबानासमेत गरिएको छ।

विभागले शुक्रबारको अनुगमनका क्रममा भक्तपुर क्षेत्रका ६ वटा ग्यास स्टोरमा अनुगमन गरेको जनाएको छ । अअन्यस्टोरहरूमा ग्यास रहेको र मूल्य सूचीसमेत राखिएको भेटिएको जनाइएको छ।



Share Your Thoughts