हिमपातका कारण उपल्लो डोल्पामा विकास निर्माणका कार्य प्रभावित



Dharana    

access_time 19 Mar 2020

जाजरकोट । हिउँदमा पटक–पटक परेको हिमपातका कारण उपल्लो डोल्पाको विकास निर्माणको काम रोकिइँदै आएको छ । चैत महिनाबाट विकास निर्माणको काम शुरू गर्ने तयारी भइरहेको समयमा उपल्लो डोल्पावासीहरुले पुनः चैत २ गते भारी हिमपात परेपछि विकास–निर्माणको काम एक महिना पछि सारेका छन् । शे फोक्सुण्डो, छार्का ताङसोङ र डोल्पोवुद्ध गाउँपालिकामा अझै विकास निर्माणका काम शुरू हुन सकेको छैन । बैशाखबाट मात्र विकास निर्माण काम शुरू हुने शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । 

हिमपात नहुने कर्णाली प्रदेशका अन्य जिल्लामा ७० प्रतिशत विकास निर्माणका काम भइसकेको समयमा उपल्लो डोल्पामा भने शुरू नै हुन सकेको छैन । असार मसान्तसम्म तोकिएका सबै विकासका आयोजना निर्माण सम्पन्न गर्न चुनौती देखिएको छ । शुरू नै नभएको विकास निर्माणको काम बैशाखबाट शुरू गर्नासाथ उपल्लो डोल्पाका स्थानीयवासीहरु यार्सागुम्वा संकलनका लागि पाटनमा जाने गर्दछन् । घरमा ताला लगाएर यार्सागुम्वा संकलन गर्न जाने यहाँ स्थानीयवासीहरु विकास निर्माणको काममा समय दिन नपाउने समस्या रहेको खबर आजको थाहा खबरमा लेखिएको छ । तातो मौसम शुरू भएपछि आवश्यक खाद्यान्न लिएर उपल्लो डोल्पा जाने यहाँका सर्वसाधारणहरु यस पटक चैतमा समेत हिमपात हुँदा थप मर्कामा परेका छन् ।  

हिमपातकै बीच ’एक घर–एक व्यवसाय कार्यक्रम’ 

शुरू शे फोक्सुण्डो गाउँपालिकाले हिमपातकै बीचमा एक घर एक व्यवसाय कार्यक्रम शुरू गरेको छ । व्यवसायमार्फत रोजगारी सिर्जना गर्ने भन्दै गाउँपालिकाले प्रस्ताव माग गरेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । अहिले १८ वर्ष देखि माथी ५० वर्षभन्दा तलका स्थानीयवासीलाई व्यवसाय गर्नका लागि प्रस्ताव माग गरिएको उहाँको भनाई छ । कुनै पनि घर व्यवसाय गर्नबाट बन्चित नहुन भनि यो कार्ययोजना अगाडी ल्याइएको गाउँपालिकाले दाबी गरेको छ । 




Share Your Thoughts