'तपाईंहरू दलित हुनुहुँदोरहेछ,आजै कोठा छाडेर जानुस्' भन्ने दम्पती पक्राउ


अगर बत्ती

Dharana    

access_time 11 Mar 2020

काठमाडौं /  दलित भन्दै डेरा छाड्‍न दबाब दिने दम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दलित भएको थाहा पाएपछि डेरा छाड्‍न निरन्तर दबाब दिने श्रीकृष्ण बिडारी र उनकी श्रीमती राधिका बिडारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त बालाजुले राधिकालाई सोमबार पक्राउ गरेको थियो। श्रीकृष्णलाई भने मंगलबार बेलुका वृत्तमा आएका बेला नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डीएसपी होवीन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेका उनीहरुविरुद्ध छुवाछुतविरुद्धको कसुरमा अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिए।

काठमाडौंको नेपालटारमा घर भएका बिडारी दम्पतीले आफ्नो घरमा बस्ने चार जना विद्यार्थीलाई बिडारी डेरा छाड्‍न दबाब दिएका थिए। गृह मन्त्रालयका शाखा अधिकृत रहेका श्रीकृष्ण बिडारी अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत छन्।

कैलालीकी दीपा त्रिविको छात्रावासमा बस्दै आएकी थिइन् । गाउँबाट भाइबहिनी पनि पढ्न काठमाडौं आउने भएपछि उनी तारकेश्वर नगरपालिका–१० मा पर्ने नेपालटारमा श्रीकृष्ण बिडारीको घरमा दुई कोठा भाडामा लिएर बस्न थालिन् । उनी मंसिर १३ गतेदेखि भाइबहिनी र साथी धना परियारका साथ बस्दै आएकी छन् । ‘त्यसै साँझ कविता भन्ने घरबेटीकी छोरी हामीसँग परिचय गर्न आइपुगिन्, उनले हामी दलित भएको कुरा बुबालाई लगेर सुनाइछन्,’ दीपा भन्छिन्, ‘भोलिपल्ट बिहान ६ बजे नै उनका बुबा आएर हामीलाई निक्लन भन्न थाले ।’

‘तपाईंहरू दलित हुनुहुँदोरहेछ, टोलछिमेक र घरैका अरू डेरावाललाई पनि असर गर्छ, त्यसैले आजै कोठा छाडेर जानुस्,’ घरबेटीलाई उद्धृत गर्दै दीपाले सुनाइन्, ‘यही वर्ष आमा पनि बित्नुभएकाले दलितलाई त यहाँ बस्न दिनै मिल्दैन ।’

मुखैमा आएको परीक्षाको तयारी गर्नु कि अर्को डेरा खोज्नु भन्ने प्रश्नले दीपालाई रन्थनायो । कानुनमा स्नातक पनि पढ्दै गरेकी उनलाई यो विभेदविरुद्ध उजुरी गरूँ भन्ने लागेकाले मानवअधिकार आयोगमा गुनासो गर्न पुगिन् । ‘आयोगले तुरुन्त घरबेटीलाई फोन गरेर यसो नगर्नू भनेर सम्झाए,’ उनले भनिन्, ‘त्यसपछि हामीले बस्न त पायौं तर दिनहुँ निक्लेर जाओ भनेर कचकच भने गरिरहन्थे ।’

फागुन ४ गते भने उनी कलेज आएका बखत घरबेटी आमैले ढोकामा ताल्चा लगाइदिइन् । ‘त्यसपछि अति भएर हामी कानुनी कारबाहीका लागि तयार भएका छौं,’ उनी भन्छिन्, ‘दुस्खलाग्दो त के भने घरबेटी स्वयं अनुसन्धानका कर्मचारी रहेछन्, निक्लेर जाओ भन्ने छोरी नै डाक्टर हुन् ।’ कान्तिपुरमा खबर छ ।




Share Your Thoughts