मुस्ताङमा सुरु भयो धछ्याङ चाड


अगर बत्ती

Dharana    

access_time 06 Mar 2020

काठमाडौं । बौद्ध र हिन्दू दुवै धर्मावलम्बीहरूको धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको हिमालपारिको जिल्ला मुस्ताङ मौलिक चाड र संस्कारका कारण पनि प्रसिद्ध छ ।  यहाँका मौलिक पर्वमध्ये धछ्याङ चाड बुधबारदेखि बारगुङ मुक्तिक्षेत्र गाउँपालिका–५ फल्याकमा सुरु भएको छ । बारगुङ मुक्तिक्षेत्रमा मनाइने यो चाडलाई तीर हान्दै छ्याङ (एक प्रकारको घरेलु मदिरा) खाने पर्वका रूपमा लिने गरिएको गाउँपालिकाका प्रमुख फेन्चोक छेप्तेन गुरुङले जानकारी दिनुभयो । 

‘वर्षका चार ऋतुहरूमा हामीहरूले यस्तै पर्व मनाउने गरेका छौं अहिले मनाइरहेको पर्व पी छ्याङ हो,’ अध्यक्ष गुरुङले भन्नुभयो, ‘हाम्रो भोटे भाषामा पी भनेको वसन्त ऋतु हो, ध भनेको धनुष÷वाण हो र छ्याङ गाउँमा बनाएको एक प्रकारको रक्सी खाने भनेको हो ।’ केही वर्षअघिसम्म लोप हुने खतरामा रहेको यो पर्व स्थानीइ सरकार गठनसँगै पुनः धुमधामका साथ मनाउन थालिएको खबर आजको थाहा खबरमा लेखिएको छ ।  स्थानीय सरकार गठनअघि परम्परागत पर्वहरूको संरक्षणका लागि बजेट विनियोजन नहुने भएका कारण लोप हुने अवस्थामा रहेको पर्व जोगाउन अहिले स्थानीय सरकारले बजेट विनियोजन गरेपछि परम्परागत लयमा नै फर्किएको गाउँपालिका प्रमुख गुरुङको भनाइ छ । मुस्ताङमा मानिसहरूको बसोबास सुरु भएसँगै यस चाड मनाउन थालिएको विश्वास मुस्ताङीहरुमा छ । धछ्याङ चाड सुरुका दिन र अन्तिम दिनमा महिलाहरूले स्थानीय भोटे भाषामा नै गीत प्रस्तुत गरेर सबैलाई स्वागत गर्छन् । गीत प्रस्तुत गरेपछि छ्याङ खाँदै तीर हान्ने चलन छ । तीर हान्ने खेलमा पुरुषहरू मात्र सहभागी हुन्छन् । पुरुषहरूको भाग्य जाँच्ने वा भाग्य खुल्ने पर्वका रूपमा पनि यसलाई लिने गरिएको छ । 

‘तीर हान्दा खोल (सेन्टर)मा नै लाग्यो भने ती पुरुष भाग्यमानी हुन्छ, वर्षभरि नै उसको फलिफाप हुन्छ भन्ने मान्यता छ,’ गाउँपालिका प्रमुख गुरुङ भन्छन्, ‘यो खेलमा महिलाहरू सहभागी हुँदैनन्, पुरुषहरूले मात्र तीर हान्ने हो ।’  तीर हानेपछि राक्षसहरु ध्वस्त हुने र देवी देवताहरू खुसी हुने मान्यता छ । तीर हान्ने प्रतियोगिता नै हुन्छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना बन्नेलाई केही नगद पुरस्कार प्रदान गरिन्छ । पछिल्ला ३–४ वर्ष यता धछ्याङ मनाउनकै लागि गाउँ छोडेर देशकै अन्य ठाउँमा बसोबास गरिरहेका तथा विदेशमा गएकाहरू पनि आउने गरेका छन् । लोप हुने अवस्थामा रहेको पर्वलाई जोगाउन महिला र युवाहरूको विशेष भूमिका रहने भएका कारण उनीहरूलाई संस्कृति संरक्षणमा लाग्न जोड दिइएको छ ।



Share Your Thoughts