अस्पतालमा बच्चा जन्माए ५ हजार भत्ताः मानेभञ्ज्याङ गाउँपालिका


अगर बत्ती

Dharana    

access_time 29 Feb 2020

ओखलढुंगा ।  मानेभञ्ज्याङ गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित गर्भजाँच र प्रसूति गराउनेलाई प्रसूति भत्ता दिन थालेको छ । नियमित स्वास्थ्य जाँच गराइ स्वास्थ्य संस्थामै प्रसूति गराउनेलाई पाँच हजार रुपैयाँ भत्ता दिन थालेको हो ।


गाउँपालिकाभित्रका गर्भवतीले चारपटक गर्भ जाँच गराइ प्रसूति पनि स्वास्थ्य संस्थामै भएमा त्यस्तो रकम पाउने गाउँपालिकाका उपाध्यक्ष सविता राईले जानकारी दिनुभयो । सरकारले पनि नियमित गर्भ जाँच गराई स्वास्थ्य संस्थामा प्रसूति हुनेलाई यातायात तथा पोषण खर्च उपलब्ध गराउँदै आएको छ । त्यस्तो सुविधा न्यून भएकाले पाँच हजार दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।


गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भ जाँच तथा सुत्केरी गराएका ३२ जनालाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँ दिएर कोशेली भेट गरिएको उपाध्यक्ष राईले भन्नुभयो । बजेट निकासा ढिला हुँदा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत ल्याइएको सुत्केरी भेट कार्यक्रम बल्ल कार्यन्वयनमा आएको उहाँको भनाइ छ ।


‘कोसेली भेटको उद्देश्य गर्भ जाँच र स्वास्थ्य संस्था मै सुत्केरी गराउनलाई प्रोत्साह गर्नु भए पनि विगतमा प्रदान गरेको एक हजार रकम थोरै भएकोले यसलाई बढाएर ५ हजार र्पुयाइएको हो’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले भन्नुभयो ।


गाउँपालिकाले २०७६÷०७७ मा स्वास्थ्यतर्फको बजेट सुत्केरी कोसेली भेट शीर्षकमा ७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । आमा र बच्चाको सुरक्षाका लागि रकम बढाइएको हो । बढाइएको प्रोत्साहन रकमले मातृशिशु मृत्युदरमा कमी आउने स्थानीय शिक्षक दिपकबहादुर राईले भन्नुभयो ।



Share Your Thoughts