सर्वोच्चमा मुद्दाको चाप बढेपछि दुईवटा पेसी सूची तोकेर सुनुवाइ सुरु


अगर बत्ती

Dharana    

access_time 25 Feb 2020

काठमाडौं । सर्वोच्चमा मुद्दाको चाप बढेपछि फरक–फरक समयमा दुइटा पेसी सूची तोकेर सुनुवाइ सुरु भएको छ । देशभरका जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्चमा आउने मुद्दाको चाप बढेसँगै न्यायधीशको पूर्ण बैठकले गरेको निर्णयअनुसार मुद्दा फैसलाको फछ्र्योट दर बढाउन अतिरिक्त समयमा पेसी तोक्न थालिएको हो ।


सर्वोच्च अदालतमा हाल २५ हजार बढी मुद्दा विचाराधीन छन् । मुद्दाको चाप घटाउन सर्वोच्चले अतिरिक्त समयमा थप अतिरिक्त इजलास गठन गरेको हो ।

दैनिक बढ्दै गएको मुद्दाको कार्यबोझ घटाउन सर्वोच्चले १९ माघबाट दुई समयमा पेसी कार्यतालिका राखेको हो । तर, पछिल्ला १९ दिनको तथ्यांक हेर्दा मुद्दा फैसलाको फछ्र्योट दरमा तुलनात्मक रूपमा केही बढेको देखिन्छ ।


१९ माघबाट सर्वोच्चले बिहान ९ः३० बजे एउटा पेसीको कार्यतालिकामा तोकिएको मुद्दाको सुनुवाइ हुनेछ भने दोस्रो पेसीको कार्यतालिका ११ः३० बजे नियमित पेसीमा न्यायाधीशले सुनुवाइ गर्ने गरेका छन् ।


१२ फागुनमा मात्रै ३ सय ५३ वटा पेसी तोकिएकामा ५० वटा मुद्दामा फैसला भएको तथा एउटा मुद्दामा निसु (निर्णय सुनाउने) र २९ वटा मुद्दामा आदेश भएका छन् । पछिल्लो १९ दिनको तथ्यांकमा सर्वोच्च अदालतले ७ हजार ४ सय ६९ वटा मुद्दाको पेसी तोकिएकामा १ हजार ५ सय ८० अर्थात् २१.१५ प्रतिशत मुद्दा फैसला गरेको आजको   राजधानी दैनिकमा लेखिएको छ ।


बिहान ९ बजेदेखि नै कार्यालय समय सुरु हुने र १० देखि साढे ११ बजेसम्म एउटा पेसी सूचीमा न्यायाधीशले काम गर्नेछन् । सर्वोच्च अदालतमा यो समयमा पूरक मुद्दा वा निवेदन हेर्ने गरिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो । अतिरिक्त समयमा पेसी तोक्दा मुद्दाको फैसला फछ्र्योट बढेको उहाँको भनाइ छ । कुनै बेला मुद्दा फैसलामा ढिलाइ हुनुमा कतिपय समयमा अन्तरकालीन आदेश भएका मुद्दाको सुनुवाइमा धेरै समय लाग्ने गरेको उहाँको भनाइ छ ।


कुन समयमा कस्तो प्रकृतिको मुद्दाको पेसी चढ्छ ?

बिहानको समयमा चढ्ने पेसी सूचीमा अन्तरकालीन आदेशका लागि छलफल झिकाई पाऊँ भन्ने निवेदन, मुद्दा दोहो¥याई पाऊँ भन्दै परेको निवेदन पर्ने गरेको सहायक प्रवक्ता ढकालले भन्नुभयो । बिहान ९ः३० मा पेसी तोकिएको मुद्दाको सुनुवाइ १० बजे हुनेछ भने ११ बजेपछि अर्को पेसीको सूची तोकेर सुनुवाइ हुनेछ ।

एउटै मुद्दामा दिनभर सुनुवाइ हँुदा अन्य मुद्दा लामो समयसम्म पेसीमा चढ्न ढिलाइ हुने र पुरानो मुद्दाको चाप वर्षौंदेखि फछ्र्योट हुन नसकेपछि अतिरिक्त समयमा पेसी तोक्ने निर्णय भएको सहायक प्रवक्ता ढकालले जानकारी दिनुभयो ।


दुइटा पेसी तोक्न थालेपछि न्यायाधीशहरू बिहान ९ बजे नै अदालत आइपुग्नुपर्ने नियम पनि सर्वोच्च अदालतमा लागू भएको छ । मुद्दाको पेसी तोक्न काम छिट्टै हुने भएपछि कर्मचारी भने बिहान ८ः३० मा अदालत आइपुग्ने गरेको सहायक प्रवक्ता ढकालले जानकारी दिनुभयो ।


सर्वोच्चका न्यायाधीशलाई ५० प्रतिशत भत्ता

अतिरिक्त समयमा काम गरेबापत सर्वोच्चका न्यायाधीशले ५० प्रतिशत भत्ता पाउने गरेका छन् । अतिरिक्त समयमा इजलास बसेबापत सर्वोच्चका २१ जना न्यायाधीशले ५० प्रतिशत अतिरिक्त भत्ता पाउने गरेका हुन् । कर्मचारीको हकमा भने ३० प्रतिशत थप अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ । ७ पुसमा मन्त्रिपरिषद् बैठकले अतिरिक्त समय काम गरेबापत सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीलाई अतिरिक्त भत्ता दिने व्यवस्था गरेको थियो । अतिरिक्त भत्ताको व्यवस्थासँगै हाल सर्वोच्चमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म कर्मचारीले काम गर्ने गरेका छन् ।


फैसला फछ्र्योटको अवस्था

आर्थिक वर्ष २०७०÷७१ मा रामकुमारप्रसाद साह नेतृत्वको सर्वोच्चमा २४ हजार ७ सय ३५ मुद्दा हुँदा २४.४ प्रतिशत मुद्दा फैसला भयो । आव २०७१÷७२ मा कुल मुद्दा २८ हजार २ सय ७५ हुँदा सर्वोच्चमा २२ दशमलव ८० प्रतिशत मात्र सफलता मिलेको छ । सुशीला कार्की नेतृत्वको सर्वोच्चले आव २०७२÷७३ मा ३५ हजार १ सय ६९ मुद्दामा ३१.७८ प्रतिशत मुद्दा फछ्र्योट गरेको देखिन्छ ।


गोपाल पराजुली नेतृत्वमा आव २०७३÷७४ मा ३४ हजार ३ सय ५३ थान मुद्दा हुँदा ३२.९५ प्रतिशत मात्र लक्ष्य हासिल भएको छ । पराजुलीपछि ओमप्रकाश मिश्रको पालामा आर्थिक वर्ष २०७४÷७५ मा २५ हजार ५ सय ९४ मुद्दामध्ये ९ हजार १ सय २७ थान अर्थात् ३६.१६ प्रतिशत मात्रै लक्ष्य हासिल गरेको छ । सर्वोच्चले भने आफ्ना वार्षिक प्रतिवेदनमा न्यायाधीश र जनशक्ति अभाव, कम बजेट, साधन, स्रोत र प्रविधिको कारण दर्साउँदै आएको छ । 



Share Your Thoughts