१३ वर्षदेखि विद्यालयको १० बिघा जग्गा अतिक्रमणको चपेटामा


अगर बत्ती

Dharana    

access_time 16 Feb 2020

काठमाडौँ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२ च्युरीखेतस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको करिब १० बिघा जग्गा १३ वर्षदेखि अतिक्रमणको चपेटामा परेको छ ।



२०६२ सालमा स्थानीय समुदायले विद्यालयको नाममा हस्तान्तरण गरेको सो जग्गा हर्षबहादुर आले, गम्भीर आले, अम्मरसिंह आले, रुद्रबहादुर सलामी, दलबहादुर सुनारलगायत २४ जनाले ‘कब्जा’ गरेर भौतिक संरचना निर्माण तथा खेतीपाती गरिरहेका छन् । ‘स्थानीय समुदायले आफूले प्रयोग गर्दै आइरहेको सामुदायि ऐलानी जग्गा २०६३ जेठ २२ गते विद्यालयका नाममा हस्तान्तरण गरिएको  प्रधानाध्यापक डिलबहादुर घर्तीले भन्नुभयो, ‘त्यसको एक वर्षपछि नै विद्यालयको जग्गामा अतिक्रमण सुरु भयो ।’ अहिले विद्यालयको ६ कोठे भवनमात्रै बाँकी छ । विद्यार्थीले खेल्ने मैदानसमेत उनीहरूले कब्जा गरेर खेती गरेका छन् ।


२०४६ सालमा स्थापना भएको विद्यालय सुरुमा अहिलेको स्थानभन्दा तीन किलोमिटर माथि थियो । विद्यार्थी चाप बढ्दै गएपछि अभिभावकले अहिलेको ठाउँमा सार्ने निर्णय गरे । आफूले भोगचलन गर्दै आएको सामुदायि ऐलानी जग्गा विद्यालयलाई हस्तान्तरण गरे । तत्कालीन जिल्ला शिक्षा कार्यालय र गाउँ विकास समितिको आर्थिक सहयोगमा छ कोठे भवन बन्यो । सयभन्दा बढी विद्यार्थीका लागि प्रशस्त खेल्ने मैदान थियो । 


समुदायले विद्यालयलाई दिएको जग्गामै अतिक्रमणकारीहरूले टहरा बनाएका छन् । विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष दलबहादुर रानाले सुरुमा बाढीपीडितका नाममा विद्यालयको जग्गा अतिक्रमण भए पनि अहिले जग्गा दिनेहरू नै अतिक्रमणमा संलग्न रहेको जानकारी दिनुभयो ।


‘समुदायका ६७ जनाको सामूहिक भेलाले आफूले प्रयोग गर्दै आइरहेको सामुदायिकरऐलानी जग्गा विद्यालयलाई दिने निर्णय भएको हो, सोहीअनुसार साबिकको ठाउँबाट विद्यालय च्युरीखेतमा सारिएको हो,’ विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रानाले भन्नुभयो ‘बाहिरका व्यक्तिहरूबाट विद्यालयको जग्गा अतिक्रमण हुन थालेपछि पहिले आफूले प्रयोग गर्दै आइरहेको जग्गा दिएकाहरूले पनि फेरि प्रयोग गर्न थालेका छन् ।’ उहाँले अतिक्रमण बढ्दै गएकाले विद्यालयमा पढाउने वातावरण बिथोलिएको पनि जनाउनु भयो। 


विद्यालयले अतिक्रमणको विषयमा वडा कार्यालय र नगरपालिकालाई पटक–पटक जानकारी गराए पनि छलफलसम्म नगरेको प्रधानाध्यापक घर्तीले दुखेसो पोख्नुभयो । ‘विद्यालयको सम्पत्ति संरक्षणको दायित्व नगरपालिका र वडा कार्यालयको पनि हो,’ उहाँले भन्नुभयो, ‘हामीले पटक–पटक आग्रह गरे पनि अनुरोध गरे पनि अतिक्रमण हटाउन स्थानीय सरकारले कुनै चासो देखाएको छैन ।’  



Share Your Thoughts