सीमा विवादका कारण कालापानीमा नेपाली मजदुरलाई काम गर्न निषेध


अगर बत्ती

Dharana    

access_time 12 Feb 2020

दार्चुला । नेपाली भूमि कालापानी क्षेत्रमा आफूहरूले मजदुरी गर्न नपाएको दार्चुलाका स्थानीयले गुनासो गरेका  छन् । वर्षौंदेखि भारतीय सुरक्षाकर्मीको भारी बोक्नेलगायतका काम गर्दै आएका नेपालीले सीमा विवादको मुद्दा चर्किएपछि काम गर्न नदिएको गुनासो गरेका हुन् ।


नेपाल र भारतबीच विवादित भूमि कालापानीमा भारत सरकारले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । गतवर्षसम्म सयौँ नेपाली मजदुरले कालापानी क्षेत्रका विभिन्न गाउँमा गएर मजदुरी गर्ने गरेको भए पनि यो वर्ष सीमा विवादको मुद्दा चर्किएपछि भारतीय सुरक्षाकर्मीले नेपालीलाई गालीगलौज गर्ने गरेको व्यास गाउँपालिकाका स्थानीय जनक भट्टले जानकारी दिनुभयोे । भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा राखेपछि सबै नेपालीले विरोध गरिरहेका छन् ।


व्यास गाउँपालिका ४, सुन्सेराका स्थानीय नारद भट्टले भन्नुभयो, “नेपाल सरकारले सीमा क्षेत्रमा राज्यको बलियो उपस्थिति र सीमासम्म सडक निर्माण गर्न नसकेकै कारण नेपाली भूमि कालापानीमा भारतीय सुरक्षाकर्मीले एकलौटी गरेका छन् ।”


सन् १९६२ मा भारत र चीनबीच युद्ध हुँदा भारतले कालापानीमा अस्थाई क्याम्प बनाएको जानकारहरू बताउँछन् । युद्ध सकिएको करिब ६ दशक बित्न लाग्दा पनि भारतले प्रयोग गरेको भूमि नेपाललाई छोड्नुको साटो सैनिक थप्दै लगेको स्थानीय उमेशदत्त भट्टले भन्नुभयो । 



Share Your Thoughts