रात्रीकालीन मनोरञ्जन क्षेत्रमा महिला : रहर कि बाध्यता ?


अगर बत्ती

Dharana news    

access_time 26 Dec 2019

– निशा तामाङ

मनोरञ्जन भन्ना साथ सबैभन्दा सार्थक मनोरञ्जन महिला र पुरुषबीचको सम्बन्धमा गाँसिन पुग्छ । महिला र पुरुषबीचको सम्बन्धमा महसुस गरिने जस्तो मनारोञ्जन अन्य कुनैपनि हुँदैन भन्ने मनोविज्ञान मानिसहरुमा पाइन्छ । तथापी पुरुषहरुका मनोरञ्जनका लागि महिलाहरुको रहर होइन बाध्यता पनि हुने गर्दछ । जो बाध्यता जीविकोपार्जनसंग समेत जोडिएको हुन्छ।

नुवाकोट घर भएकी अनुस्का तामाङ विगत चार/पाँच वर्षदेखि यस्तै मनोरञ्जन क्षेत्रमा काम गर्दै आइरहेकी छिन् । हरेक साँझ बेलुकी ६ बजे काममा जाने उनी रातको १२ बजेसम्म त्यहाँ काम गर्नुपर्ने बाध्यता सुनाउँछिन् । लामो समयदेखि उनी यस्तो मनोरञ्जन क्षेत्रमा डान्सर (नृत्याङ्गना) पेशा गर्दै आएकी छिन् । उनी अब त रातको समयमा पनि यस क्षेत्रमा काम गर्ने बानी परिसकेको जनाउँछिन् ।  यो पेशा इच्छाले भन्दा पनि धेरै महिलाहरुको बाध्यताले यस क्षेत्रमा काम गर्ने गरेको पाइन्छ , उनी सुनाउँछिन् ।

 त्यसैगरी  रोल्पा भर भएकी रमिला  बुढामगर पनि सेवा सुविधा नपाएकोमा गुनासो गर्छिन् । रमिला नैनारेशम दोहोरीसाझँकी गायिका हुन् । उनी पनि यस क्षेत्रमा काम गरेको करिब ७/८ वर्ष भइसकेको सुनाउँछिन् । उनी राम्री लोक दोहोरी गायिका पनि हुन् । उनले यही दोहोरीसाँझलाई नै आफ्नो सांगितिक यात्रा र पेशा बनाएकी छिन् । धेरै ग्राहकहरु उनको स्वरको प्रशंसा गर्छन् । दोहोरीसाँझमै काम गरेर उनले आफ्नो गायिका बन्ने सपना पनि पुरा गरेकी छिन् भने आफ्नो घर व्यवहार पनि यसै पेशाबाट चलाइरहेकी छिन् ।  नयाँ नयाँ काम गर्ने महिलाहरुलाई तलब सुविधा पनि नदिने गरेको गुनासो गर्छिन् । कतिपय स्थानमा तलब बिना नै काम गर्नुपरेको पनि उनी सुनाउँछिन् ।

 मनोरञ्जनमा महिलाहरुको प्रयोग

अहिलेको २१ औं शताब्दीमा रहेको विश्वव्यापीकरणको प्रभावसंगै आधुनिक युगमा अगाडि बढेको हाम्रो समाजको शहरी क्षेत्रहरुमा व्यवसायीक रुपमा सञ्चालन गरिएका विभिन्न सेवामुलक मनोरञ्जन क्षेत्रहरुमा महिलालाई काममा राख्ने गरेको पाइन्छ । मनोरञ्जन क्षेत्र भन्नाले रात्रीकालीन मनोरञ्जन क्षेत्र (मसाज पार्लर, क्याविन, खाजाघर, दोहोरीसाँझ, डान्सबार आदि) जस्ता ठाँउमा कार्यरत श्रमिक महिला, किशोरकिशोरी र बालबालिकाको अवस्था निकै दयनीय छ । यस क्षेत्रमा कार्य गर्ने महिलाहरुको उमेर हद भने यकिन हुँदैन । त्यही पनि तथ्यांक अनुसार १४ देखि ४५ वर्षसम्मका महिलाहरु यस क्षेत्रमा काम गर्ने गरेको पाइन्छ । यस क्षेत्रमा काम गर्ने महिलाहरुलाई समाजले दुव्र्यवहार गरेको गुनासो पनि सुन्न पाइन्छ।

समाजमा यस क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुलाई समाजमा गलत दृष्टीकोणले हेर्ने गर्दछन् । रमाइलो र वस्तुको रुपमा श्रमिक महिलाहरुलाई हेर्ने गरिन्छ, जबकि उनीहरुले गर्ने श्रमको कुनै सम्मान हुने गरेको पाइँदैन । श्रमिक महिलालाई कम पारिश्रमिक दिने गरेको पाइन्छ । भने उनीहरुलाई सुविधा पनि पुरुषहरुको जत्ति दिइँदैन । तथापि मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको माग बढ्दै गएको पाइन्छ । यस क्षेत्रमा लाग्ने महिलाहरुले सुविधा पनि त्यत्तिै पाउने गर्दछन् ।

नेपाल भित्रिने विदेशी पर्यटकलाई लक्षित गरी राजधानीका अति व्यस्त मानिएका दरबारमार्ग, ठमेललगायत क्षेत्रमा मनोरञ्जनात्मक व्यवसाय २४ सै घण्टा सञ्चालन हुने गरेका पाइन्छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याएका गजल, मसाज, पार्लर, क्याविन, खाजाघर, दोहोरीसाँझ, डान्सबारलगायतका मनोरञ्जनात्मक व्यवसाय गर्ने क्षेत्रमा महिलाहरुको माग बढेको पाइन्छ । यस क्षेत्रमा लागेका महिला श्रमिकहरुलाई आफ्नो जीवनयापन गर्न र आर्थिकस्तर बढाउन मनोरञ्जन क्षेत्रले निकै टेवा पु¥याएको पाइन्छ । महिलाहरु यसै क्षेत्रमा काम गरेर आफ्नो आर्थिकस्तर बढाएका छन् ।

 पुरुषकै लागि मनोरञ्जन, तर पुरुषबाटै शोषित पनि

महिला नभइ पुरुषलाई मनोरञ्जन नहुने , तर महिलाहरु पुरुषबाटै हिंसाको शिकार बन्नुपर्ने अवस्था हाम्रो समाजमा देखिन्छ । पुरुषहरुकै लागि मनोरञ्जन क्षेत्रमा काम गरेका महिलाहरुको घरको आर्थिक अवस्था पुरुषहरुकै कारणबाट कमजोर भएको हुन्छ । त्यही कारण आफ्नो आर्थिकस्तर उन्नतीका लागि यस व्यवसायमा महिलाहरु लाग्ने गरेको पनि यस व्यवसायमा सहभागी हुनेहरुबाटै सुन्न पाइयो । उनीहरुलाई यस व्यवसायले रोजगारीको अवसरको सृजना गरिदिएको छ । तर यस व्यवसायमा काम गरेका महिलाहरु असुरक्षित रहेको गुनासो पनि सहभागी महिलाहरुबाट सुन्न पाइयो । यस व्यवसायमा काम गरेका महिलाहरुले रोजगारी त पाएका छन्, तर रोजगारसंगै हिंसाका शिकार समेत बन्ने गरेको गुनासो धेरैको रहेको छ ।

यस व्यवसायमा काम गर्ने महिलाहरुले विभिन्न हिंसा, शोषण र लैंगिक विभेद तथा दुव्र्यवहार सहन बाध्य हुनु परेकोे छ । यस व्यवसायमा कार्यरत श्रमिक महिलाहरु जिविकोपार्जनका लागि रहरले नभइ बाध्यताले यो पेशा अंगालेका छन् । उनीहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक छ । यस व्यवसायमा काम गर्छु भन्ने बित्तिकै उनीहरुलाई नराम्रो दृष्टिकोणले हेर्ने गरिन्छ । मनोरञ्जन व्यवसायमा लागेका महिलाहरुको घरको आर्थिक अवस्था कमजोर भएका कारण आफ्नो जीविकोपार्जनका लागि यस व्यवसायमा कार्य गर्न बाध्य भएका पाइन्छन् । महिलाहरुका लागि यो अवस्था सृजना हुनुमा पुरुषहरुकै हात रहेको हुन्छ भन्ने पनि स्पष्टै छ ।


 मनोरञ्जन क्षेत्रमा ६० हजार श्रमिक महिला कार्यरत

यो व्यवसाय अर्थात मनोरञ्जन क्षेत्रमा लागेका श्रमिक महिलाहरुको हक अधिकारका लागि काम गरेको ‘महिलाका निम्ति महिला मञ्च नेपाल’ले गरेको अध्ययनमा देशभर ३ हजार ५ सय ‘मनोरञ्जन’ क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौंको गोंगबु, कलङ्की, सुन्धारा, ठमेलका साथै पोखरा, विराटनगर, नेपालगञ्जलगायत ठूला सहरमा रहेका होटल, रेष्टुराँ, दोहोरी, डान्सबारहरुमा धेरै महिला श्रमिकले काम गरिरहेका छन् । धेरै होटल, रेष्टुराँ, दोहोरी, डान्सबार भएको क्षेत्र टोखा नगरपालिकाको गोंगबु क्षेत्रमा काम गर्ने महिलाहरुका हकअधिकारका लागि ‘क्याप नेपाल’ नामक एउटा संस्थाले अध्ययन तथा सर्वेक्षण गर्दै आएको छ ।

यति ठुलो संख्यामा महिला कामदारले काम गर्ने यो व्यवसायिक क्षेत्रमा रहेका कामदारको समस्याप्रति सरकारले बेवास्ता गरिरहेको गुनासो महिलाका निम्ति महिला मञ्च नेपालकी उपाध्यक्ष  ज्ञानु लामाको छ । ‘मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण सधैं नकारात्मक रहेको छ । यस क्षेत्रमा काम गर्ने महिलाहरुलाई सधैं हेपाहा प्रवृति र नकारात्मक नजरले हेर्ने गरिन्छ ।’ पहिले पहिले रातको समयमा काम गर्न नसक्ने भएपनि पछि अभ्यस्त हुँदै गएको उनी सुनाउँछिन् । होटलमा नृत्य गर्छु भन्दा हाम्रो समाजले उनलाई घृणाको नजरले हेर्ने गरेकोमा  उहाँ गुनासो गर्नुहुन्छ । सरकारले यस्ता किसिमका समस्या समाधान गर्न र मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुको सामाजिक सुरक्षा र सम्मानजनक बाँच्न पाउने अधिकारको सुनिश्चिता गर्न कानुनको निर्माण र कडा कार्यान्वयनतर्फ जोड दिनुपर्ने उहाँको भनाई छ । उहाँ भन्नुहुन्छ –‘मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकले राम्रो सेवा सुविधा पाइरहेका छैनन् । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरु सरकारले तोकेभन्दा कम सेवा सुविधा पाउने गरेका छन् ।’ यो क्षेत्रमा काम गर्ने श्रमिकले सरकारले श्रम ऐनमा तोकेअनुसारको सेवा सुविधा नपाएको भनेर उजुरी समेत गर्न आउँदैनन् । ’

पारिश्रमिक तोकिनु जरुरी

हाल सरकारले विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरुको न्यूनतम पारिश्रमिक १३ हजार ९ सय रुपैयाँ तोकेको छ । तर, यो मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरुले सरकारले तोके अनुसारको तलब पाउँदैनन् । मनोरञ्जन क्षेत्रमा लागेका महिलाहरुको श्रमको सम्मान नहुनु र उनीहरुको अधिकारको सुनिश्चितता नहुनु नै आफैंमा एक गम्भीर विषय हो । यो विषय मानव अधिकारको हनन् हो । मानिसको सम्मानजनक रुपमा बाँच्न पाउने अधिकारको हनन् हो । यस क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको कामलाई समाज र राज्यले सामाजिक मान्यता र पहिचान नदिइएको कारण उनीहरुमाथि अझ बढी जोखिम बढेको छ ।

विश्वमा आधा भन्दा बढी जनसंख्या ओगटेर पनि महिलाको स्थिति त्यति सन्तोषजनक रहेको पाइँदैन । महिलाहरु घरका काममा मात्र सिमित नभएर रोजगारीका लागि बाहिरि काममा हात बढाउन थालेदेखि आफ्नो श्रम , ज्याला, संगठन गर्न पाउने अधिकार, मतदान गर्न पाउने अधिकार जस्ता अधिकार प्राप्तिको लागि संघर्ष गर्दै आइरहेका छन् । महिला अधिकार र लैंगिक समानताको बिषयमा धेरै गोष्टी, तालिम, सेमिनार भएता पनि महिलाका समस्याहरु पूर्णरुपले समाधान भएका पाइँदैनन्।

महिला–पुरुष समानता नारा मात्र

हाम्रो समाजमा आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्दै लैजानु पर्ने आवश्यकता छ । सिद्धान्तः र कानुनतः महिला र पुरुषलाई समान हैसियतमा राखिएको छ । समानताको वकालत गर्ने क्रममा महिला र पुरुषलाई एक रथको दुई पाङ्ग्रा पनि भन्ने गरिएको छ । २१औं शताब्दीको वर्तमान समयसम्म आइपुग्दा जैविक क्षमता र शारीरिक रूपमा महिला र पुरुषका बीचमा केही भिन्नता भए पनि क्षमताको हिसाबले महिला र पुरुषमा कुनै भिन्नता देखिदैन । मानसिक क्षमताका हिसाबले बरु पुरुषभन्दा महिला अझ बढी अब्बल देखिने गरेका छन् । तर हामी जुन समाजमा जन्मियौँ, हुर्कियौँ ९पितृ सत्तात्मक समाज० त्यो समाज आज पनि महिलालाई पुरुषसरह मान्न तयार देखिदैन ।

नेपाल सरकारको मानवअधिकारको विश्वव्यापी घोषणापत्र १९४८, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९, आर्थिक, समाजिक र सांस्कृतिक अधिकार सम्बन्धी अन्तर्रा्ष्ट्रिय अनुबन्ध १९६६ मा आफ्नो प्रतिबद्धता जनाई सकेको भएतापनि नेपाली समाजमा दिगो रुपले जरा गाडेर बसेको पितृसत्तात्मक मूल्य र मान्यताले महिलालाई पछाडि पार्ने क्रम जारी छ । त्यसैले महिला र पुरुषमा समानता कायम गर्न व्यवहारिक पक्षतर्फ ध्यान दिनु जरुरी छ ।

 प्रहरी प्रशासनबाट असुरक्षा

मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरु प्रहरी प्रशासनबाट समेत असुरक्षित हुनुपरेको गुनासो सुनिन्छ । अरुबाट असुरक्षित भएपछि न्याय पाउने ठाँउ प्रहरी र प्रशासन नै हो । तर यो क्षेत्र पनि महिलामाथि अन्याय गर्ने क्षेत्रमै पर्दछ , पुरुषका नामबाट । विशेष गरी यो व्यवसायमा लागेकाहरु, ग्राहक,परिवार र समाज लगायत अन्यहरुबाट यो क्षेत्रमा काम गर्दाका अवस्थादेखि आवागमनमार्गसम्ममा पनि महिलाहरुमाथि विभिन्न प्रकारका हिंसा तथा शोषण हुने गरेको पाइन्छ । महिलाहरुले समाजमा आफ्नो आत्मसम्मानमा आँच आउने समस्याको सामना कदम–कदममा गरिरहनु पर्ने अवस्थाले महिलाहरुलाई स्वतन्त्रता र सुरक्षाको अभाव बाँचुन्जेलसम्म महसुस गरिरहनुपर्दछ । मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको कामको पहिचान र कामको मान्यता राज्य र समाज दुवैबाट दिइएको छैन । यसले गर्दा महिलाहरुले आफने पहिचान लुकाएर काम गर्न बाध्य छन् । परिचय खुल्ने डरले काम गर्ने क्षेत्र परिवर्तन गर्न पनि महिलाहरु बाध्य हुन्छन् । आफूमाथि भएको हिंसा पनि खुलेर राख्न र उजुरी गर्न समेत संकोच मान्दछन् ।

 राज्यबाटै महिलाहरुको सुरक्षा व्यवस्था छैन

महिलाहरु मनोरञ्जन क्षेत्रमा काम गर्छन् भन्ने कुरा राज्यलाई जानकारी नभएको विषय होइन । महिलाहरुले यो क्षेत्रमा काम नगर्ने हो भने यो क्षेत्र तहसनहस भएर जान्छ । राज्य यो विषयमा पनि बेखबर छैन । तर यो क्षेत्रमा काम गर्ने महिलाहरु असुरक्षित नहोउन् भन्नेतर्फ सरकारी निकायको ध्यानाकर्षण पाइँदैन । घर, परिवार, समाज र राज्यबाट पनि अपहेलित हुन परेको अवस्थाले यो क्षेत्रमा काम गर्ने महिलाहरुको मनोबल कमजोर हुनु स्वाभाविक हो । पितृसत्तात्मक सामाजिक संरचना र नीतिगत कमि कमजोरीका कारण महिलाहरुमाथि हिंसा भइरहेको छ । हिंसा पीडित महिलाहरुले न्याय पाउन नसकिरहेको अवस्था हाम्रो सामु लुकेको विषय होइन । यो विषयमा राज्य बेखबर छैन । त्यस कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको कामलाई राज्यले पहिचान गर्नुको साथै मान्यता दिनु आवश्यक छ । यसको लागि श्रम ऐनले उनीहरुको अधिकारलाई सम्बोधन गर्न आवश्यक छ । महिला हरेक क्षेत्रमा सामथ्र्यवान् हुँदाहुँदै पनि विभिन्न असुरक्षा र अवसरबाट बञ्चित हुुनुपरेका कारणले उनीहरु पछाडि पर्दै आएका छन् । यसमा हाम्रो सामाजिक सोचाइ नै पहिलो कारण हो भन्दा फरक नपर्ला । राज्यले नै पहलकदमी लिन आवश्यक छ ।

पितृसत्तात्मक सोचको अन्त्य जरुरी

हुन त पत्नीबिना पतिको जीवन परिकल्पना गर्न सकिदैन । आमाबिना छोराको परिकल्पना हुन पनि सक्दैन । तर पति र छोरा नै महिलाहरुमाथि पितृसत्तात्मक सोचको प्रभाव जमाउन खोज्दछन् । त्यही कारणले नै हाम्रो समाजमा महिलाले स्वतन्त्र रुपमा काम गर्न पाएका छैनन् । समाजमा महिलाहरुप्रति सकारात्मक सोचको जरुरी छ । संविधानमा उल्लेख गरिएको सम्मानजनक बाँच्न पाउने अधिकारको सुनिश्चितता हुन जरुरी छ । पितृसत्ताको अन्त्य सामाजिक र सांस्कृतिक रूपान्तरणबाटै हुने गर्दछ । जसको आधार हरेक नागरिकको सोचाइ, बोलाइ र गराइमा हुने रूपान्तरण हो । यी कुरामा रूपान्तरण देखिन महिलालाई मातहतको रूपमा होइन, समान नागरिकका रूपमा हेर्ने, लेखाइ र बोलाइमा समभावी भाषाको प्रयोग गर्ने, दिइने जिम्मेवारी र गरिने व्यवहारमा प्रतिबिम्बित हुने लगायतका व्यवहारमा रुपान्तरण जरुरी छ । यसका लागि मूलतः राजनीतिक नेतृत्वदेखि समाजका हरेक क्षेत्रका अगुवाले आफूलाई रूपान्तरणको मोडेलका रूपमा प्रस्तुत गर्न आवश्यक छ । सरकारले अन्य क्षेत्रमा जस्तै मनोरञ्जन क्षेत्रमा लागेका महिलाहरुको श्रमको सम्मान गर्दै यो क्षेत्रलाई उचित पारिश्रमिकको व्यवस्था गर्दै सम्मानजनक कामका रुपमा यो क्षेत्रको विकास गर्न जोड दिनुपर्दछ । सरकारले निर्धारण गरेको न्यूनतम ज्याला यो क्षेत्रमा काम गर्नेहरुलाई दिन दिलाउन जोड दिनुप¥यो । व्यवसाय सञ्चालकले मनोरञ्जन क्षेत्रमा काम गर्ने कर्मचारी सबैको खातामा पारिश्रमिक बापतको रकम जम्मा गरिदिने व्यवस्था हुनुप¥यो।

अन्त्यमा, सुरक्षातर्फ राज्यको ध्यानाकर्षण जरुरी

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुको सुरक्षाको सुनिश्चितता प्रदान गर्नु आवश्यक छ भन्ने कुरा राज्य सञ्चालकहरुले नबुझ्ने हो भने नेपालमा मनोरञ्जन क्षेत्रमा काम गर्न महिलाहरुलाई निषेध गर्नु आवश्यक छ । सुरक्षा गर्न सकिदैन भने त्यो क्षेत्रमा असुरक्षित हुनेहरुलाई प्रवेश गर्नै नदिनु सबैभन्दा प्रभावकारी सुरक्षा उपाय हो । यस क्षेत्रमा काम गर्ने महिलाहरुको सुरक्षाका लागि प्रत्येक मनोरञ्जन क्षेत्रमा सुरक्षाकर्मी राख्नुपर्नेमा जोड दिनु आवश्यक छ । प्रत्येक मनोरञ्जन कार्यक्षेत्रमा सिसिटिभि क्यामरा जडान गर्नुपर्दछ । ता कि कुनै पनि यौन दुव्यर्वहारका घटना हुना साथ अपराधी उम्किने अवस्था नरहोस् । सिसिटिभिसंगै गुनासो पेटिका पनि राख्नु जरुरी छ । त्यहाँ जसका पनि गुनासाहरु आउन सक्छन् । र यस्ता क्षेत्रका महिलाहरुको हकहितका लागि लागेका संस्थाहरुले त्यो गुनासोे र समस्या समाधानका लागि आवश्यक पहलकदमी लिन सहज हुनेछ । अन्यथा मनोरञ्जन क्षेत्रलाई यथावतै रुपमा चलाउने सोच सञ्चालकहरुले त्याग्न जरुरी छ । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुलाई कार्यस्थलबाट घर फर्किनसमेत समस्या हुने गर्दछ । उनीहरुका लागि सुरक्षित यातायातको सुविधा हुनु आवश्यक छ । यसका लागि व्यवसायीहरुले नै काम गर्ने महिलाहरुका लागि यातायातको सुविधा प्रदान गर्नुपर्दछ । राज्यको ध्यान यसतर्फ पनि जान जरुरी छ ।

सरकारका तर्फबट यस्ता मनोरञ्जन क्षेत्रमा बेला बेला अनुगमन गर्नुपर्दछ । यसबारे काम गर्ने कामदारहरुको स्थिति के कस्तो छ ? बुझ्न आवश्यक छ । यस क्षेत्रमा काम गर्ने महिलाहरु कतिपय पढ्न रहर हुँदाहुँदै बाध्यतावश यस क्षेत्रमा काम गर्ने संख्या थुप्रै छन् । उनीहरु गरिबिका कारण र अन्य कारण आफ्नो पढाई बिचैमा छोडेर यस क्षेत्रमा काम गर्न आइपुग्ने गरेको पाइन्छ । उनीहरुले आफ्नो छोरा छोरी पढाउनका लागिसमेत यस क्षेत्रबाट पाएको आमदानीले गुजारा धान्न मुस्किल पर्दछ । तसर्थ सरकारले यस क्षेत्रमा काम गर्ने महिलाहरुका लागि र छोराछोरीहरुका लागिसमेत निःशुल्क शिक्षाको व्यवस्था गरिदिनु राज्यको कर्तव्य हो । साथै महिला अधिकारका विषयमा सचेतना जगाउन जरुरी छ । यस क्षेत्रमा लागेका महिलाहरुका लागि यौन शिक्षा दिलाउनेतर्फ राज्यको ध्यान पुग्नु पर्छ । महिला हिंसाबारे खुलेर बोल्न सक्ने वातावरण बनाउनु पर्दछ । अशिक्षा र असुरक्षाको भयले गर्दा महिलाहरु आफूमाथि भएको हिंसाबारे खुलेर बोल्न सकिरहेका हुँदैनन् । महिला रोजगारका बारेमा के कस्ता समस्या छन् ? सरकारले यस विषयमा पनि अनुगमन र व्यवस्था गर्न जरुरी छ ।


 




Share Your Thoughts