भारतमा जारी आन्दोलनकारीलाई ‘गुरिल्ला’ राजनीतिको टिप्पणी गर्दै मोदीद्वारा शान्त रहन आग्रह


अगर बत्ती

Dharana news    

access_time 18 Dec 2019

नयाँदिल्ली  / भारतमा पछिल्ला केही दिनयता नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शनहरू भइरहेका छन् । भारतका विभिन्न शहरमा आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन सबै भारतीय नागरिकलाई आग्रह गरेका छन्।

 प्रदर्शन चर्किंदै गएपछि प्रधानमन्त्री मोदीले सो आग्रह गरेको समाचारमा जनाइएको छ । बुधबार राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा मोदीले सो आग्रह गरेका हुन् ।

मंगललबार साँझ पनि भारतीय जनताका नाममा सम्बोधन गरेर सो आग्रह गरेका प्रधानमन्त्री मोदीले बुधबार पनि सबैलाई आन्दोलन नचर्काउन र सबैलाई शान्त रहन आग्रह गरेका हुन् ।

उनले नागरिकताको संशोधनको विषयलाई लिएर आन्दोलन र कुनै पनि किसिमको राजनीति बन्द गर्न आग्रह गरेको बुधबार दिल्लीबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले सरकारले ल्याएको नागरिकतासम्बन्धी उक्त नयाँ कानूनको बचाउ गर्दै त्यस कानूनमा सोचविचार गरेर नै संशोधन गरिएको  जानकारी दिएका छन् ।

उनले भारतका विभिन्न शहरमा जारी रहेको आन्दोलनलाई ‘गुरिल्ला’ राजनीति भनी टिप्पणी गरेका छन् । संशोधनपछि आएको नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा भारतको पश्चिम बंगाल, कोलकाता, तमिलनाडु राज्यलगायतका शहरी क्षेत्रमा विभिन्न दलहरूसमेतको सक्रियतामा विरोध प्रदर्शन भएका छन् ।

दशौँ हजारको संख्यामा भारतीय मुसलमान समुदायका नागरिकको सहभागितामा केही दिनदेखि प्रदर्शन जारी राखिएको बताइएको छ । राजधानी नयाँदिल्लीमा पनि मंगलबार बृहत् विरोध प्रदर्शन गरिएपछि प्रधानमन्त्री मोदीले मंगलबार साँझ टेलिभिजनबाट सम्बोधन गरी देशमा शान्ति कायम राख्न आग्रह गरेका थिए ।

बुधबार पनि उनले संशोधित नागरिकतासम्बन्धी कानूनबाट कोही पनि भारतीय नागरिक डराउनुपर्ने अवस्था नरहेको भन्दै उक्त कानूनको बचाउ गर्दै नागरिकलाई शान्तिपूर्ण रूपमा रहन र आन्दोलन नगर्न आग्रह गरेका हुन् ।



Share Your Thoughts