बाँदर नियन्त्रण गर्न दुई लाख विनियोजन


अगर बत्ती

Dharana news    

access_time 08 Dec 2019

खाँदबारी  / खाँदबारी नगरपालिकाले नगरभित्रका बाँदर नियन्त्रण गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाका सबैजसो वडामा बाँदरको बिगबिगी बढेपछि त्यसलाई नियन्त्रण गर्न नगरसभामार्फत नै बजेट विनियोजन गरिएको हो ।

नगरपालिकाको नगरसभाले बाँदर नियन्त्रण कार्यको अध्ययन शीर्षकमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको हो  । बाँदरले आतंक मच्चाएपछि बजेट छुट्याएर नियन्त्रणका लागि अध्ययन गरिने नगरपालिकाले जनाएको छ ।

बाँदरले नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ८, ९ र ११ मा बढी आतंक मच्चाएको छ । बाँदरले अन्नबालीमा कलिलो अवस्थामै क्षति पुऱ्याउने गरेको खाँदबारी–८ का वडाध्यक्ष डम्बर कटुवालले जनाए ।

वस्तीवरिपरि जंगल बढेकाले पनि बाँदरआतंक बढेको होे । बर्खाको समयमा मकै सखाप पार्छ भने हिउँदको समयमा धान, सुन्तला, फलफूल, तरकारी, अलैँची र अम्लिसो टुसा नै च्यातेर तहसनहस पार्छ ।

वर्ष दिन पुग्ने मकै बाँदरले छिनभरमै तहसनहस पारिदिन्छ । बाँदरसँगै दुम्सी तथा अन्य वन्यजन्तु र पक्षीले पनि किसानको बाली खाइदिने गरेका छन् ।

स्थानीयवासीले पटक–पटक बाँदर नियन्त्रणका लागि आग्रह गरेपछि दिगो समाधान खोज्न चालू आवमा बजेट विनियोजन गरिएको खाँदबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कोमलप्रसाद धमलाले जनाए । -रासस



Share Your Thoughts