स्थानीय प्रशासनले नटेरेपछि देउताको शरणमा !



Dharana news    

access_time 27 Nov 2019

सप्तरी / सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा हात्ती र बाँदरले दुःख दिन थालेपछि मंगलबार अग्निसाइर मन्दिरमा स्थानीयवासीले सामूहिक पूजापाठ गरेका छन् । स्थानीयवासीले हात्ती र बाँदरको मूर्ति बनाएर पुरोहित बोलाई सामूहिक पूजा गरेका हुन् ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट हुलका हुल हात्ती र बाँदर आएर बालीनाली नष्ट गर्नुको साथै ज्यानसमेत जोखिममा पर्न थालेपछि गाउँलेले शान्तिको कामना गर्दै हात्ती र बाँदरको मूर्ति बनाई पूजापाठ गरेका हुन् । जंगली हात्ती गाउँ पसेर किसानले लगाएको धानबाली नष्ट गर्नुका साथै घरसमेत भत्काउन थालेकाले पूजा गरेको स्थानीयवासी श्यामकुमार चौधरीले  जनाए । जंगली जनावरबाट असुरक्षित भएकोबारे स्थानीय सरकार, वन कार्यालय, कोसी टप्पु आरक्ष, जिल्ला प्रशासनलगायलाई जानकारी गराउँदा सुनुवाइ नभएको स्थानीयवासी सूर्यमान तामाङ  जनाउँछन् ।

गाउँमा दैवी प्रकोप र विपत्ति आएमा अग्निसाइर मन्दिरको पूजा गरे शान्ति हुने धार्मिक विश्वास छ । स्थानीयवासीले चन्दा संकलन गरेर सामूहिक पूजा गरेका हुन् । ‘हामीले हात्ती धपाउन हरेक उपाय अपनायौँ,’ अग्निसाइर कृष्णासवरन–२ का खड्गबहादुर तामाङले भने, ‘सम्बन्धित निकायमा पटक–पटक आग्रह ग¥यौँ, कसैले चासो नदिएपछि सामूहिक पूजा गर्न बाध्य भयौँ ।’ अग्निसाइर देउता रिसाएका कारण जनावरले गाउँलेलाई सताएको उनीहरूको बुझाइ छ । पछिल्लो समय जंगली हात्ती, बाँदर र बँदेलले आतंक मच्चाउन थालेपछि खेतीयोग्य जग्गा बाँझै रहने गरेको छ । रासस




Share Your Thoughts