देशभक्त नेपाली जनतामाथि प्रहरी दमन बन्द गर !


अगर बत्ती

Dharana news    

access_time 14 Nov 2019

भारतले नेपालको भूभाग मिचेकोमा राजधानी काठमाडौंमा अहिले दैनिक रूपमा विरोध प्रदर्शन भइरहेको छ । विप्लव नेतृत्वको नेकपा, विभिन्न बुद्धिजीवी वर्गहरूका संगठन, ठूला दलका भातृसंगठनहरू, अनेरास्ववियु, नेविसंघ र राप्रपाका विद्यार्थी संगठन विरोध प्रदर्शनमा सहभागी भइरहेका छन् । उनीहरूले ‘भारतीय ज्यादती बन्द गर, भारतीय सेना नेपाली भूमिबाट फिर्ता हुनुपर्छ र भारतीय विस्तारवाद मूर्दावाद, गो ब्याक इण्डिया’ लगायतका नारा लगाएर भारतको हेपाहा प्रवृत्तिको विरोध गर्दै आएका छन् । तर, यसरी विरोध गर्नेहरूमाथि नै सरकारले प्रहरी बल प्रयोग गरिरहेको छ । प्रहरीले आन्दोलनकारीमाथि नै डण्डा बर्साएको भिडियो तथा समाचारहरू सार्वजनिक भएका छन् । आखिर किन सरकार राष्ट्रवादी भावना भएका जनतामाथि नै जाइलागेको छ ? पछिल्ला घटनाले सरकार जनताको भावनालाई आत्मसात गर्न नचाहिरहेको देखिन्छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र सर्वदलीय बैठक बोलाएर शीर्षस्थ नेताहरूसँग परामर्शसमेत गर्नुभएको छ । सो क्रममा भारतीय कदमविरुद्ध उच्चस्तरीय कूटनीतिक वार्ता हुनुपर्ने नेताहरूले धारणा राखेर राष्ट्रिय ऐक्यबद्धताको सन्देश दिएका छन् । भारतले नेपालको भूभागसमेत समेटेर आफ्नो नक्सा सार्वजनिक गर्नु गलत भएको सबै दलका नेताहरूको धारणा रह्यो । यसले नेताहरू भारतीय विस्तारवादी नीतिको विपक्षमा रहेको प्रष्ट हुन्छ । सरकार र दलहरूको साझा प्रतिबद्धताले नेपाली जनतामा उत्साह थपिएको अवस्थालाई हतोत्साहित गराउने गरी सरकारले बल प्रयोगबाट जनतामाथि दमन गर्ने काम गरिरहेको छ । प्रधानमन्त्री स्वयंले पनि पछिल्लो घटनाक्रमलाई सम्बोधन गर्न सर्वदलीय बैठक बोलाउनु र नेताहरूको धारणा सुन्नु सकारात्मक पक्ष हो । तर, शीर्षस्थ नेताको धारणा सुन्ने प्रम ओलीले सडकमा उत्रिएका देशभक्त जनताको आवाजलाई बेवास्ता गरेको मात्र नभई सीमा अतिक्रमणकारीको विरुद्धमा बोल्नै नहुने भन्ने सन्देश सरकारले दिन खोजेको बुझ्न सकिन्छ ।

अहिले सरकारको कोपभाजनमा आफ्नै नागरिक परेका छन् । प्रहरीले बर्साएको डण्डाबाट विद्यार्थी, विभिन्न पार्टीका कार्यकर्ता, बुद्धिजीवी र पत्रकारहरू घाइते भएका छन् । सरकारले यो कुरा बुझ्न जरुरी छ कि यी विभिन्न भूमिकामा रहे पनि सर्वप्रथम  देशभक्त नेपाली नागरिक हुन् । उनीहरू आफ्नो तर्फबाट सरकारलाई सीमा सुरक्षाका लागि घच्घच्याइरहेका छन् । सरकारले उनीहरूको आवाज सुन्न जरुरी छ र उनीहरूलाई आश्वस्त पार्न पनि आवश्यक छ । तर, आफ्ना नागरिकलाई सरकार साथमा छ भन्ने विश्वास दिलाउन सरकार असफल भइरहेको छ । उल्टै लाठी बर्साएर उसले आफ्नो अलोकप्रियता बढाउँदै छ । 

विगतमा राष्ट्रको सीमा मिचिएको सम्बन्धमा विभिन्न आन्दोलनहरू भए । विभिन्न ठाउँका नागरिकले आफ्नो सीमा मिचिएको भन्दै सरकारलाई सचेत गराउने प्रयास पनि गरे । भारतीय सीमा क्षेत्रमा बाँधिएका बाँधका कारण नेपाली भूभाग वर्षायाममा डुबानमा परेर नेपाली बस्तीहरू घरबारविहीन भइरहेका छन् । ती नागरिकहरूले पनि सरकारलाई आफ्नो पीडा सुनाउने प्रयास गरे । तर, राजधानीबाट टाढा रहेका सीमा क्षेत्रमा बसोबास गर्ने बर्दीविहीन सीमा सुरक्षाकर्मी नागरिकहरूको आवाज सरकारले सुन्ने प्रयत्न गरेन । 

यही चिन्ता मिसिएको देखिन्छ अहिलेको विरोध प्रदर्शनमा । विगतमा जस्तै यो पटक पनि नेपाल सरकार भारतको हेपाहा प्रवृत्तिविरुद्ध मौन रहने डरलाग्दो अवस्था निर्माण हुँदै गइरहेको छ । सीमा अतिक्रमणको विरोधमा उत्रिएका जनतामाथि गरिने दमनले सीमा अतिक्रमण गर्ने शक्तिलाई अवश्य पनि प्रश्रय मिल्ने छ । यस्तो अवस्था आउन नदिन र सीमा समस्या फेरि कहिले पनि नबल्झिने गरी समाधान गर्नका लागि सरकारले कूटनीतिक पहल र वार्ता गर्न आवश्यक छ । जनतामाथि दमन बन्द गर्नुपर्छ, जनतालाई शान्तिपूर्ण प्रदर्शनमा प्रोत्साहित गर्नुपर्छ, डाँकासँगको कूटनीतिक सम्वाद नेपाली जनतामाथि दमन गरेर हुँदैन । आगे सरकारलाई चेतना भया !–जनधारणा साप्ताहिक



Share Your Thoughts