काठमाडौं / अनसनरत डा. गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याउन डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकप्टर फिर्ता भएको छ । डा. केसीले आउन अस्वीकार गरेपछि उनलाई लिन गएको नेपाली सेनाको हेलिकप्टर फिर्ता भएको हो ।
डा. केसीले माग पूरा गर्नासाथ अनशन तोड्छु भन्दै अडान राखेपछि हेलिकप्टर फिर्ता भएको हो ।
केसीलाई लिन सेनाको हेलिकप्टर पुगेपछि सोमबार विहान डडेल्धुरामा डा. केसीका समर्थक र प्रहरीबीच तनाव अवस्था सिर्जना भएको थियो । लगत्तै प्रमुख जिल्ला अधिकारी पौडेलले डा। केसीका समर्थक तथा नागरिक समाजसँग सर्वपक्षीय बैठक राखेका थिए ।
डा. केसीले उपचारका लागि नजाने अडान लिएका छन् । प्रहरीले जबरजस्ती गर्न खोजेको भन्दै डा.गोविन्द केसीका समथर्कहरु सडकमा उत्रेका छन् । स्थिति असामान्य बन्न नदिन प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जनाए ।
अस्पतालले आफूलाई नसोधेरै विज्ञप्ति प्रकाशन गरेकोप्रति डा केसीले आपत्ति जनाएका छन् । उनले अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा जितेन्द्र कँडेलसंग असन्तुष्टि पोख्दै भने ‘म यहाँबाट जाँदै जान्न । म आफ्नो उपचारको लागि आएको होइन, जनताको अधिकारको लागि अनसन बसेको हुँ, जनताको अधिकार सुनिश्चित नभएसम्म जाँदैन ।’
डा. केसी अनसन बसेको क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । डडेल्धुरा अस्पतालले डा.केसीको स्वास्थ्य अवस्था नाजुक बनेको र थप उपचारका लागि अन्यत्र लैजानुपर्ने भन्दै आइतबार साँझ नै विज्ञप्ति जारी गरेको थियो ।