गणतन्त्रको विकल्प खोज्न बाध्य पार्ने काम सरकारबाटै भइरहेको छ


अगर बत्ती

Dharana news    

access_time 30 Nov -0001

लोकतन्त्र भनेको जनताको, जनताका लागि जनताद्वारा गरिने शासन हो । तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले लोकतन्त्रमा जनताभन्दा ठूलो कोही हुँदैन र शासन गर्ने अधिकार पनि जनताकै छोराछोरीले जनअभिमत लिएर गर्नुपर्छ भन्ने सारलाई प्राथमिकता दिँदै लोकतन्त्रलाई परिभाषित गरेका थिए । वर्तमान नेपालको लोकतन्त्रमा बहुमत प्राप्त व्यक्तिद्वारा शासन गरिएको नभइ सिमित व्यक्तिहरूद्वारा चुनिएका व्यक्तिहरूबाट शासन भइरहेको छ । 

आधुनिक लोकतन्त्रका पैरवी गर्नेहरूले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो पनि भन्ने गरेका छन् । तर जनतामा परिवर्तनको चाहना तीव्र हुनु र लोकतान्त्रिक व्यवस्थाबाट निराशा भन्दा केही पनि प्राप्त नहुने अवस्थाले जनतामा विकल्पका लागि अग्रगमन नै अन्तिम विकल्प नरहन सक्छ । नेपालको पछिल्लो परिप्रेक्षको मूल्यांकन गर्दा हाल जनतामा अग्रगामी शक्तिभन्दा पश्चगामी शक्तितर्फको झुकाव बढी देखिन्छ । यसको मुख्य कारण भनेको अग्रगामी राजनीतिक दलहरूले जनतासँग झुठ बोल्ने र प्रतिवद्धता अनुसार काम नगर्ने नै हो । 

लोकतन्त्र आएपछि सबै जनता समान हुन्छन् र सबैले समान अधिकारको अवसर प्राप्त गर्छन भनेर लोकतन्त्रका लागि सहमत गराउने राजनीतिक नेतृत्वले सत्तामा पुगेपछि आफैले जनतासँग गरेका प्रतिवद्धतालाई चटक्कै भूल्नुको कारण आज जनतामा उनीहरूप्रति विश्वासको संकट गहिरिदै गइरहेको छ । सबै समान हुन्छन्, सबैले अवसर पाउँछन् भन्ने राजनीतिक नेतृत्वले आफूलाई नव महाराजाका रूपमा प्रस्तुत गर्ने र जनता भनेका रैती नै हुन् भन्ने किसिमको वातावरण तयार गर्दै जानुले आज लोकतन्त्र जनताको रोजाइमा पर्न छोडिसकेको छ ।

 राजतन्त्रका बेला एउटा व्यक्तिको हातमा रहेको शक्ति आज लोतकन्त्रका नाममा धेरै नव महाराजाका हातमा पुगेको छ । आज शक्तिमा हुने हरेकले आफूलाई राजाभन्दा कम ठान्दैनन् । हिजो एउटा मात्र राजाको रैती भएका जनता आज सयौँ, हजारौँ नव राजाको रैती हुन बाध्य बनिरहेका छन् ।  गाउँ गाउँमा सिंहदरबारको परिकल्पना सहित केन्द्र र स्थानीय तहमा समेत गरी कुल ७ सय ६१ सरकार बनेका छन् । तर आम जनताका लागि सरकार छ कि छैनको अवस्थासंगै लुटेराहरूको राज भएको जस्तो छ । हुने खाने र शक्तिको पहुँच भएकाले राज्य शक्तिको चरम दुरूपयोग हुँदा समेत जनतामाथि करको भारी एक पछि अर्काे गर्दै थोपरिदै छ भने अधिकार र सुविधाका नाममा राज्यबाट प्राप्त गर्नुपर्ने कुनै पनि सुविधा भोग गर्न जनताले पाइरहेका छैनन् । विकासका नाममा आफू र आफन्तहरूलाई नै अनुकुल हुने काम स्थानीय तहदेखि संघीय सरकारका प्रतिनिधिहरूले गरिरहेका छन् । भ्रष्टाचार, अनियमितता, अपराध, घुसखोरी जस्ता गम्भीर विषय झन पछि झन मौलाउँदै गइरहेका छन् । विकास निर्माणका नाममा लामो समयसम्म जनतालाई सास्ती दिने व्यक्ति आज राज्यको प्रमुख निकायमा हुने र शक्तिमा हुनेहरूको वरिपरि घुम्दै थप ढुकुटी रित्याउनेतर्फ केन्द्रीत छन् । उनीहरूलाई नै शक्तिमा हुनेहरूले संरक्षण दिँदै आइरहेका छन् ।  हरेक ठाउँमा बेथिति र अस्तव्यस्त भइरहँदा राज्यको भूमिका निरिह हुँदै जानुले आज लोकतन्त्रको विकल्प खोजिन थालेको हो । जनतामा लोकतन्त्रबाट भन्दा अन्य व्यवस्थाबाट आफूले सुरक्षित महसुस गर्ने अवस्था सृजना हुनु भनेको आज लोकतन्त्रको विकल्प खोज्न प्रयास हुनु हो । यस्तो अवस्था आउँदा पनि कम्युनिस्ट नेतृत्वको दुई तिहाइको सरकारमा देखिदै गएकोे उदासिनता र अहंकारले गर्दा  जनतामा चरम निराशा र आक्रोश पैदा गराइरहेको छ । जसको फाइदा राजावादी वा पूर्व राजाहरूले उठाउन सक्ने प्रवल सम्भावनाहरू बढ्दै गइरहेको देखिन्छ । यस्तो गम्भीर विषयमा वेवास्ता गर्दै राजनीतिक दलहरू सत्ता र शक्तिकै खेलमा लाग्दा त्यसले जनतामा राजनीतिक दलहरूप्रति जनतामा बाँकी रहेको विश्वास पनि गुम्दै गइरहेको छ । दशकौँ देखिको लोकतन्त्र स्थापनाको चाहना  प्राप्त भएको भएपनि लोकतन्त्रालाई सिमित व्यक्तिहरूले आफ्नो विर्ता जस्तै ठान्दा त्यसले समस्या निम्त्याउँदै लगिरहेको छ । यसले लोकतन्त्रको भविष्यमाथि कालो बादल मडारिन थालेको संकेत गरेको छ । - जनधारणा सम्पादकीय



Share Your Thoughts