मैले जितेँ भने स्वास्थ्य सेवा निशुल्क: वासुदेव जंगली


अगर बत्ती

access_time 20 Apr 2022

स्थानीय तह निर्वाचनको माहोल देशभर छ। चुनावमा टिकट लिन नेताहरुको दौडधुप छ। दाङमा पनि चुनावी माहोल तातेको छ। यसैक्रममा आकांक्षीहरुले आ–आफ्नो दाबीसहितका धारणाहरु सार्वजनिक गर्न थालेका छन्।

दाङको लमही नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेससहितको सत्ता गठबन्धनभित्र रस्साकस्सी चलेको छ। नेपाली कांग्रेसले वडा तथा नगर समितिबाट नेपाली कांग्रेस एकल चुनावमा जानसक्ने आधारसहितको निर्णय माथिल्लो निकायलाई पठाएको अवस्था छ। मेयर पदमा १७ जनाको नाम सिफारिस भएको अवस्थामा कसको नाममा निर्णय होला भन्न सक्ने अवस्था छैन।मेयर पदका १७ जना आकांक्षीमध्ये एक हुन्, बासुदेव जंगली। उनी कांग्रेसका पुराना र अनुभवी राजनीतिज्ञको रुपमा परिचित छन्। २०३० सालबाट राजनीतिक यात्रा थालेका उनका लागि नेपाल विद्यार्थी संघ उनको पहिलो राजनीतिक संगठन हो। विभिन्न आन्दोलनमा धेरै पटक हिरासत बसेका उनले मेयर पदमा आफूले टिकट पाउने दाबी गरेका छन्।

वडा र पालिका समितिले गरेको निर्णयभन्दा बाहिर गएर जिल्ला वा केन्द्रबाट निर्णय लाद्न नपाइने अडान उनको छ। वि.संं २०७४ सालको निर्वाचन लमही नगरपालिकामा मेयर एमाले र उपमेर कांग्रेसले जितेको थियो। ९ वटा वडामध्ये ६ वडा नेपाली कांग्रेस, दुई वडा नेकपा एमाले र एक वडा नेकपा माओवादी केन्द्रले जितेको थियो । स्थानीय निर्वाचनको सन्दर्भमा बासुदेव जंगलीसँग देशसञ्चारका दशरथ घिमिरेले गरेको एक्लै चुनावमा जानुहुन्छ कि गठबन्धन गरेर?

स्थानीय तहको चुनावी माहोल तातेको छ। दलहरु आ–आफ्नो तयारीमा छन्। हामी पनि निर्वाचनलक्षित तयारीमा जुटेका छौँ। लमही नगरपालिकाको हकमा नेपाली कांग्रेसले स्वच्छ प्रतिस्पर्धा चाहेको छ। हामी मित्रवत् प्रतिस्पर्धाको पक्षमा छौँ।

नेपाली कांग्रेस लमही नगर कार्यसमितिले गठबन्धन नगर्ने निर्णय गरेको छ। मित्रवत् स्वच्छ प्रतिस्पर्धा गर्ने भएकाले म पार्टीको निर्णयको पक्षमा छु। लमही नगरपालिकाका ९ वटै वडा कार्यसमितिले गठबन्धन नगर्ने, एक्लै लड्ने निर्णय गरेर नगर समितिमा पठाएका छन्। जिल्लामा यसको जानकारी गराइसकिएको छ।

म पार्टीको इमानदार अनुशासित कार्यकर्ता भएकाले लमही नगर समितिले गरेको निर्णयविरुद्ध जान सक्दैन। दाङमा १० स्थानीय तह छन्। वडा र पालिकाले गरेको निर्णय मान्न प्रतिवद्ध छौँ। त्यो निर्णयभन्दा बाहिरबाट निर्णय लादियो भने त्यो निर्णय हामीले मान्दैनौँ।

केन्द्रले गठबन्धन गर्ने निर्णय गरिसकेको छ नि?

केन्द्रले आवश्यकताअनुसार गठबन्धन गर्न सकिने निर्णय गरेको हो। यसको अर्थ सबै पालिका, सबै वडामा गठबन्धन हुनुपर्छ भन्ने छैन। हाम्रा नेताहरुले यसबारेमा बोलिसकेको अवस्था छ। सम्बन्धित पालिकाको निर्णयअनुसार गर्न सकिन्छ भनिएको छ। पालिकाहरु निर्णय गर्न स्वतन्त्र छन्।

तपाईंको नाम पनि मेयरमा सिफारिस भएको छ। टिकट पाउनुहुन्छ त? आधार के छ?

४५ वर्षे लामो राजनीतिक यात्रामा छु। अहिलेसम्म मैले कुनै पनि अवसर पाउन सकेनँ। तर, पार्टीको हरेक काम र जिम्मेवारीमा मैले आफ्नो भूमिका निभाइरहेँ। पार्टीलाई अहिलेसम्म अनवरत रुपमा गरेको सहयोग नै टिकट पाइने आधार हो।

पार्टीले टिकट दिन्न भन्ने विषयमा शंका गर्दैन। पार्टीभित्रको मेरो लगानीअनुसार पार्टीले मेरोबारेमा निर्णय गर्छ। म अहिले ६५ वर्षको भएँ। अहिले अवसर नपाए कहिले पाउने?

टिकट पनि पाउनुभयो, चुनाव पनि जित्नु भयो भने के गर्नुहुन्छ?

पहिलो काम कार्ययोजना बनाउँछु। यो कार्ययोजना एक्लै बनाउँदिनँ। सम्बन्धित विषयका विज्ञहरुसँग राय सल्लाह लिएर कार्ययोजना बनाएपछि काम गर्ने रोडम्याप तयार हुन्छ। शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी सिर्जना गर्ने विषय नै प्राथमिकताको विषय हो।

हामीले धेरै पहिलाबाट लमही प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडको अस्पताल बनाउने योजना थियो। अहिले १५ बेडको मात्रै अस्पताल बनेको छ। दुई वर्षभित्र लमहीलाई एक सय बेडको अस्पताल बनाउन सकिन्छ। विशेषज्ञ उपचारसेवा यहीँ प्रदान गर्न सकिन्छ। स्वास्थ्य सेवालाई निःशुल्क गर्ने मेरो काम हुनेछ।अनि, अर्काे मुख्य कुरा भनेको शिक्षा हो। शिक्षामा लगानी लगाउन धेरै बाँकी नै छ। निःशुल्क शिक्षा भनिएको छ, तर व्यवहारमा लागु भएको छैन। कक्षा १० सम्म कुनै पनि बाहनामा शुल्क लिन नपाइने गरी पूर्ण निःशुल्क गर्ने मेरो योजनाभित्र पर्छ। कक्षा ११ र १२ को हकमा गरिबीको रेखामुनि रहेका परिवारका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरिनेछ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गरेर विद्यार्थी, अभिभावक र शिक्षकलाई आकर्षित गर्ने तहमा पुर्‍याउने छौँ।

म निर्वाचित भएको एक वर्षभित्र नगरपालिकाभित्र कुनै पनि वडा, गाउँ खरको छानो भएको हुनेछैन। यो काम केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर गर्न सकिन्छ।

भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गरिनेछ। कोही पनि जग्गाविहीन हुनेछैन। यो काम एक वर्षभित्र पूरा गर्न सकिन्छ।

प्रजातान्त्रिक समाजवादको मूल्य मान्यतामा रही आर्थिक वृद्धिको लागि आयस्रोत बढाउन कृषि र पशुपालन क्षेत्रमा लगानी गर्न अवसरहरु सिर्जना गरिने छ। विशेष अनुदान कार्यक्रम सञ्चालन गरेर आयआर्जनमा लगानी लगाउने छौँ।

राजनीतिक दल र तिनमा आवद्ध नेताहरुप्रति वितृष्णा जाग्दै गएको छ नि? यसलाई कसरी रोक्न सकिन्छ?

दलहरुप्रति, नेतृत्वप्रतिको वितृष्णा चिर्नको लागि काम गर्नैपर्छ। मैले चुनाव जितेँ भने कुनै पनि जनप्रतिनिधिलाई ठेकेदारको रुपमा जनताले देख्न पाउने छैनन्। हरेक जनप्रतिनिधि समाजसेवी भएको अनुभव गर्न पाउने व्यवस्था गर्नेछु।



Share Your Thoughts