नेपालमा कस्तो छ मङ्कीपक्सको जोखिम?


अगर बत्ती

access_time 27 May 2022

काठमाडौँ – मध्य तथा पश्चिमी अफ्रिकी देशहरुमा मात्र देखापर्ने गरेको मङ्कीपक्सको संक्रमण अहिले विश्वका १६ वटा देशमा देखिएको छ। अहिलेसम्म पनि मङ्कीपक्सको प्रकोप नदेखिका यूरोपेली मुलुकहरुमा मङ्कीपक्स भाइरसको संक्रमण पुष्टि हुनु थालेपछि डरको विषय बनेको विज्ञहरुले बताएका छन्।

हालसम्म मङ्कीपक्स १६ वटा देशका दुई सयभन्दा बढी व्यक्तिहरुमा पुष्टि भइसके पनि यो भाइरस कोरोना भाइरसजस्तो पूर्ण रुपमा नयाँ रोग भने होइन।

जनावरमा हुने भाइरस अहिले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सङ्घर्ष गरिरहेको संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले बताए।

उनले भने,‘मङ्कीपक्स भनेको पहिला अफ्रिकामा देखिन्थ्यो। मङ्कीपक्स भन्ने बित्तिकै बाँदर जातिलाई हुने खालको पक्स हो। मङ्कीपक्स ‘स्मलपक्स’ जसलाई बिफर भनिन्छ। अर्को ‘चिकेनपक्स’ जसलाई ठेउला भन्निछ। त्यस्तै प्रकारको बाँदर जातिमा हुने पक्स भाइरसले गराउने रोग हो।’

डा. कोइरालाका अनुसार यसमा ज्वरो आउने, पानी फोका निस्किने, अर्को भनेको ठेउलामा जस्तो फोका फुटेर सुकेर पाप्रा बनेर जाने गर्छ। यो श्वासप्रश्वासबाट र फोकामा भएको पानीबाट अरुलाई सर्न सक्छ।

उनले भने, ‘पहिला यो रोग बाँदरहरुलाई हुन्थ्यो। पछिपछि बाँदरको सम्पर्कमा आउने मानिसहरुलाई अफ्रिकामा हुन्थ्यो। तर विस्तारै मानिसहरुले बोकेर त्यसलाई अन्य ठाउँमा पुर्‍याए। अमेरिकालगायत अन्य देशहरुमा फाट्टफुट्ट देखिन थालेको थियो, यो रोग। अहिले आएर कतिपय मानिसहरुलाई यो रोग लागेर बाहिर गएर अरुसँग शरीरिक सम्पर्कमा आएपछि एक अर्कामा सर्न थालेको छ।’

यो भाइरस सर्नका लागि एकअर्काको ‘कन्याक्ट’मै आउनु पर्ने उनी बताउँछन्। डा. कोइरालाले भने,‘श्वासप्रश्वासभन्दा पनि कन्ट्याक्टिङ् हुनुपर्ने भएका हुनाले आफन्त, छिमेकी जोसँग शरीरिक क्लोज कन्याक्टिङ् हुने भयो। अर्को भनेको सेक्सुअल पार्टनरहरुबाट पनि सर्ने भयो। फेरि यसको मतलब सेक्सबाट सर्छ भन्ने होइन। छाला एकअर्कामा टाँसिएर हुने भएकाले विस्तारै ठाउँठाउँमा ‘आउटब्रेक’को रुपमा जहाँ मानिसहरु गए त्यहाँबाट अरुलाई सरेको देखिन्छ।’

डा. कोइरालाका अनुसार विश्वका विभिन्न देशहरुमा देखिएका केशलाई हेर्ने हो भने अहिले नै प्याण्डामिकको रुपमा जाने जस्तो देखिँदैन। सानो रुपमा ‘क्लोज कन्ट्याक्ट’मा आएका व्यक्तिहरुमा मात्रै सरेकोजस्तो देखिएको छ।

नेपालमा यसको जोखिम


१६ वटाभन्दा बढी देशमा संक्रमण देखिसकेका हुनले यसको जोखिम हुनसक्ने भएका कारण तयारी अवस्थामा बस्न जरुरी देख्छन्, डा. कोइराला।

‘मानिस प्लेन चढेर विश्वका एक ठाउँबाट अर्को ठाउँबाट सजिलैसँग जहाँ पनि पुग्न सक्छन्। ठेउलाजस्तो घाउखटिरा भएको मानिसहरुलाई देख्दादेख्दै पनि सम्पर्क नगर्ने हो भने बच्न सकिन्छ। त्यस्तो व्यक्तिको क्लोज कन्ट्याकमा आएमा सर्ने सम्भावना धेरै हुन्छ’, उनले भने,‘जस्तो कि त्यस्ता व्यक्तिको छालाको स्पर्स वा एकअर्कामा लुगा तौलिया लुगाहरु साटासाट गर्दा घाउबाट निस्केको पानी वा रगतको कन्ट्याक्टमा आउँदा सर्न सक्छ। त्यसो हुँदा सरकारले विदेशबाट आउने त्यस्ता व्यक्तिको खोजी गर्‍यो भने रोक्न सकिन्छ। नत्र नेपालमा पनि आउन सक्ने सम्भावना धेरै छ।’

उपचार


डा. कोइरालाका अनुसार भाइरसको औषधि उपचारकै लागि छैन। यो पनि भाइरस भएकाले यसको पनि औषधिकै रुपमा ‘ट्रिट्मेन्ट’ छैन। तर खोप लगाएको खण्डमा बच्न सकिन्छ।

उनले भने, ‘फेरि यही रोगका लागि भनेर खोल निकालेको छैन। बिफरका लागि १९८० भन्दा अगाडि संसारभर नै जुन खोप लगाइन्थ्यो, तर पछि बिफर उन्मुलन भएपछि खोप लगाउन छोडियो। ‘एक्सपेरिमेण्ट’का लागि भाइरसलाई ल्याबहरुमा राखिएको हुन्छ। पछि भाइरस देखियो भने चाहिँन सक्छ भनेर राखिएको हुन्छ। त्यसैले त्योपछिको खोप उपलब्ध छ। त्यो खोप पश्चिमा मुलुकहरुमा छ। तर सीमित मात्रामा उपलब्ध छ।’

‘कुनै ठाउँमा ‘आउटब्रेक’ भयो भने विश्व स्वास्थ्य संगठनले सानो रुपमा मगाउन सक्छ, ठूलो जनसंख्यामै जाने पर्ने स्थिति अहिले नै आइसकेको छैन। ‘प्याण्डामिक’ भइसकेको छैन,’ डा. कोइरालाले थपे।

यदि कोही संक्रमित नेपालमा आयो र सानो रुपमा संक्रमण देखिन थाल्यो भने त्यो क्षेत्रमा खोप मगाएर तुरुन्तै लगाएर बचाउन सकिने डा. कोइरालाले बताए।

यस्तै अहिलेसम्म नेपालमा भाइरस पुष्टि भइनसके पनि विश्वव्यापी रुपमा संक्रमण बढ्दै गएको अवस्थामा सर्तकता अपनाउन स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ। यसको संक्रमणबाट जोगिनका लागि संक्रमण देखिएका देशहरुबाट नेपाल आएका व्यक्तिहरु कम्तिमा पनि दुई हप्ता अनिवार्य क्वारेन्टिनमा बस्न अनुरोधसमेत मन्त्रालयले गरेको छ।

धेरै मानिसहरु उपचार बिना केही हप्ताभित्र आफै निको हुने भएपनि नवजातशिशु, बालबालिकाहरु, रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई बढी जोखिम हुने स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए।

अधिकारीले भने, ‘यो भाइरसको अहिलेसम्म कुनै सुनिश्चित उपचार नभए पनि रोगको रोकथाम, नियन्त्रण तथा यसबाट बच्ने सुरक्षाका उपायहरु छन्। जस्तै, घाउखटिरा सफा गर्दा पञ्जाको प्रयो गर्ने, साबुन पानीले हात सफा गर्ने, रोग पुष्टि भएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा नजाने र संक्रमित व्यक्तिलाई आइसोलेसनमा राख्ने गर्नु पर्छ।’



Share Your Thoughts