उदयपुरमा प्रहरीद्वारा मास्क वितरण


अगर बत्ती

access_time 23 Jan 2022

उदयपुर– जिल्ला प्रहरी कार्यालय उदयपुरले कोरोना भाइरस संक्रमण तीव्र फैलिन थालेपछि सतर्कता अपनाउँदै मास्क वितरण थालेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरको मातहतमा रहेको ३८ वटै प्रहरी युनिटबाट मास्क वितरणको काम भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्लाभर एकैसाथ मास्क प्रयोग नगर्ने सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए। जिल्ला प्रहरीले आफ्नै श्रोतबाट सर्वसाधारणलाई सचेतना जगाउन मास्क वितरण गरेको हो । ‘नागरिकप्रतिको उत्तरदायित्व निर्वाह गर्दै मास्क वितरण गरेका हौँ,’ प्रनाउ गौतमले भने, ‘मास्क वितरणसँगै स्वास्थ्य मापदण्ड अपनाउन सचेतना फैलाएका छौँ।’

बजार क्षेत्र र समुदायमा सर्वसाधारणले मास्क प्रयोग नगर्ने, भौतिक दूरी कायम नगर्ने, स्यानिटाइजर प्रयोग नगर्ने, साबुन पानीले हात नधुनेजस्ता लापरबाही अत्यधिक देखिएको प्रनाउ गौतमले बताए। प्रहरीले यसरी नै सचेत गराउने अटेर गरेमा प्रशासनले कारबाही गर्ने बताइएको छ। सकेसम्म सर्वसाधारणलाई कारबाही गर्न नपरोस्, आफै सचेत होउन् भन्ने हेतुले पहरीले यो कदम चालेको जनाएको छ।

गाईघाट बजारको मुख्यचौकको आसपासमा खटिएको विभिन्न प्रहरी टोलीले पैदल यात्रु तथा सवारीमा चढेका यात्रुलाई राकेर मास्क प्रयोग गर्न सम्झाएका थिए। उनीहरूलाई निःशुल्क मास्क दिँदै कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेकोप्रति सचेत गराएका थिए।



Share Your Thoughts