चाडपर्वहरु भड्किलो बन्न नदिन सरकारबाट पहल जरुरी


अगर बत्ती

access_time 06 Nov 2022

देशमा अहिले चाडपर्वको मौसम छ । दशैंतिहारदेखि छठ पर्व मनाउनेको संख्या ठूलो छ । चाडपर्व आएसँगै त्यससम्बन्धी आर्थिक कारोबार पनि जोडिन्छ । वर्षमा एकपटक आउने पर्व ऋणै काढेर भए पनि राम्रोसँग मनाउनु पर्छ भन्ने नेपालीहरुको पुरानो मान्यता छ । पछिल्लो समय त अझ नेपाली समाज देखावटीका लागि पनि भड्किलो बन्दै गएको छ । सामाजिक सञ्जालमा देखाउनकै लागि पनि पर्वमा अनावश्यक वस्तु, गरगहना जस्ता कुराको प्रदर्शन सामान्य बन्दै गएको छ । भाइरल बन्नकै लागि गरिने यस्ता क्रियाकलापले ठूलो संख्यामा असर पनि पर्दै आएको छ । यसले चाडपर्व त भड्किलो त हुने नै भयो, सामान्य आर्थिक स्तरका व्यक्तिहरुको जीवनमा पनि ठूलो असर पुग्ने देखिएको हो ।
पछिल्लो समय नेपालीहरुको आर्थिक स्तर वृद्धि हुँदै गएको छ । वैदेशिक रोजगारीलगायत कारणले देशमा पैसा भित्रिए पनि त्यसको सदुपयोग भने हुन सकेको छैन । बरु यस्तै चाडपर्वहरुमा देखाउनका लागि त्यस्तो पैसा अनावश्यक वस्तुमा खर्च भइरहेको छ । नेपालीहरुले चाडपर्वका लागि चाहिने धेरै वस्तुहरु बाहिरबाट आयात गर्दै आएका छन् । दशैैंका लागि सजावटका सामग्री होस् वा कपडा, या तिहारमा भाइमसाला, माला, फूल नै किन नहोऊन्, अर्बको हाराहारीमा हरेक वर्ष आयात हुने गरेको छ । छठका लागि भारतबाट करोडौंको केरा पनि आयात हुने गरेको छ । चाडपर्व भड्किलो बन्दै जाँदा अन्य अनावश्यक वस्तुहरुको पनि आयात बढेको छ ।
बढ्दो आयातले एकातर्फ देशको अर्थतन्त्रमा नै असर त पुग्ने नै भयो, अर्कोतर्फ आफूले दुःख गरेर कमाएको पैसा अनुत्पादक क्षेत्रमा खर्च पनि भइरहेको छ । यसको सट्टा चाडपर्वका लागि आवश्यक वस्तुहरु देशमा नै पर्याप्त उत्पादनका लागि सरकारबाट पहल हुन जरुरी छ । यस्तै सरकारले भड्किलो बन्दै गएको चाडपर्व मनाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्न अत्यावश्यक भइसकेको छ । मुख्यतया हाम्रा चाडपर्वहरु असारे कृषिकर्महरु सकिएपछि सुरु हुने खालका छन् । कृषिकर्मबाट थाकेकाहरु चाडपर्वमा रमाइलो गर्ने, आफन्तजनहरु भेटघाट गर्ने, मीठोमसिनो खाने र सुखदुःखका कुराहरु गर्ने गरी यसको सुरुवात भएको इतिहास पाइन्छ । तर, अहिले चाडपर्व भनेको मदिरापान गर्ने, विदेशी गीतसंगीतमा झुम्ने, लत्ताकपडाका लागि अनावश्यक खर्च गर्ने जस्तो भएको छ । यसले चाडपर्व संस्कृति होइन, विकृति जस्तो भान पनि हुन थालेको छ ।
त्यसैले सरकारले नै सर्वप्रथम चाडपर्वको महत्व जनस्तरमा बुझाउनुपर्ने भएको छ । यसका लागि सरकारले जनचेतना फैलाउने खालका सामग्री उत्पादन, अनावश्यक वस्तुको आयातमा प्रतिबन्ध, भड्किलो गरी चाडपर्व मनाउने प्रवृत्तिमाथि निरुत्साहन गर्न सक्छ । यसका साथै चाडपर्वमा धेरै खर्च नगरी बचत गर्ने र त्यसलाई उत्पादनमूलक काममा खर्च गर्न पनि सरकारले प्रोत्साहन गर्नुपर्छ । त्यतिबेलाका मौलिक संस्कृति, गीतसंगीत, रीतिरिवाजलाई कायम राख्न, नयाँ पुस्तालाई चाडपर्वको महत्व बुझाउन पनि सरकारले नयाँ योजनाहरु बनाउनुपर्ने आवश्यकता देखिन्छ । नेपाली पर्वहरु भनेका नेपालीहरुको वास्तविक पहिचान हो । यसलाई अहिलेको विश्व पर्यटन बजारमा बिक्री गर्न सके हाम्रो संस्कृति हेर्न आउने पर्यटकको संख्या अझै बढ्न सक्नेछ । त्यसैले सरकारले चाडपर्वलाई भड्किलो बन्न नदिने र मौलिकता जोगाउने गरी पहल गर्न जरुरी छ, सबैलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट


Share Your Thoughts