फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के गर्लान् ?


अगर बत्ती

access_time 18 Aug 2022


मुलुककै राजधानी काठमाडौं अहिले फोहोरको समस्याका कारण चर्चामा छ । काठमाडौं महानगरपालिकाले समयमै फोहारे उठाउन नसक्दा राजधानीका चोकचोकमा अहिले फोहोरको रास लागेको छ । वर्षायाममा फोहोर नउठ्दा राजधानीबासीलाई अहिले हैजालगायत अन्य रोग फैलिने हो कि भन्ने जोखिम बढेको छ । काठमाडौंको फोहोर विगतमा सिसडोल र बञ्चरेडाँडामा हुँदै आए पनि अहिले त्यहाँ विरोधका कारण फोहोर विसर्जन हुन नसेकको हो । अर्को कारण बञ्चरेडाँडासम्म पुग्ने क्रममा केही स्थानमा सडकको दुरवस्थाका कारण पनि वर्षायाममा फोहोर विसर्जनमा समस्या भइरहेको छ । विगतदेखि आन्दोलतरत स्थानीयले महानगरपालिकामा नयाँ मेयर आएसँगै यो विषयलाई झनै चर्काइरहेका छन् । उनीहरुले बेलाबेलामा फोहोर विसर्जन गर्न नदिने भन्दै गरिरहेको आन्दोलनको नेतृत्व भने प्रमुख दलका नेताहरुले गदै आएका छन् । विगतमा आफ्नै नेतृत्व रहँदा फोहोर विसर्जनको समस्या समाधान गर्न नसकेका नेताहरु अहिले महानगरको नयाँ नेतृत्वले समाधान गरेमा त्यसको जस उनले पाउने र आफूहरुको वर्षौंदेखिको राजनीतिक विरासत नै धरापमा पर्ने कुत्सित मनसाय यो विरोध सामु देखिएको छ । फोहोरको समस्यालाई देखाएर विगतमा राजनीति गर्दै आएका नेताहरु अब त्यसलाई नै रोकेर जनताको सामु फेरि नायक बन्न खोज्ने र दलको विकल्पमा स्वतन्त्रले काम नै गर्न नसक्ने मानक स्थापित गर्न खोज्ने उनीहरुको प्रयास देखिन्छ ।  

काठमाडौंमा जनघनत्व बढेसँगै फोहोरको समस्या पनि दिनानुदिन बढ्दै गएको हो । तर, राजनीतिक दलहरु भने यो समस्या समाधान गर्न असफल हुँदै गएका छन् । फोहोरलाई कसरी मोहरमा बदल्ने भन्दा पनि कसरी त्यसलाई फाल्ने भन्नेमा नै हालसम्म सरकारले सोच्दै आएको छ । त्यही कारण सरकारले पहिले सिसडोल र अहिले बञ्चरेडाँडामा यसको विसर्जन गर्ने काम गर्दै आएको हो, जुन दीर्घकालीन नहुने प्रष्ट नै छ । सिसडोल क्षेत्र अहिले फोहोरले भरिएको छ भने बञ्चरेडाँडामा पनि कुनै समय फोहोर भरिने निश्चित छ । यदि त्यस्तो अवस्थामा अहिले तरिकाले सोच्ने हो भने फेरि फोहोर फाल्न नयाँ ठाउँ खोज्नुपर्ने हुन्छ । जब कि विश्वका विकसित राष्ट्रहरुले भने फोहोरको समस्या समाधानका लागि अन्य उपाय अपनाइरहेका छन् । उनीहरुले कुहिने फोहोरलाई मलको रुपमा उत्पादन गरेका छन् भने नकुहिने फोहोरका लागि पुनः प्रयोग गर्दै आएका छन् । यसबाट राज्यलाई आम्दानीसमेत हुँदै आएको छ । तर, फोहोरलाई यसरी पनि सदुपयोग गर्न सकिन्छ भन्नेतर्फ हाम्रो शासकवर्गको ध्यान पुग्न सकेको देखिँदैन ।

काठमाडौं महानगरको मेयरमा स्वतन्त्रतर्फबाट बालेन शाहले जितेपछि अहिले फेरि फोहोरको विषय चर्किएको छ । राजनीतिक दलहरुको गैरजिम्मेवारीका कारण अहिलेसम्म फोहोरको समस्या रहेको र अझै दलहरुले असहयोग गरिरहेको उनको आरोप छ । मेयर बालेनले सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तथा प्रतिपक्षी  नेकपा एमालेका स्थानीय नेताहरुले फोहोरको समस्या बल्झाउन उद्दत रहेको आरोप लगाएका छन् । यो नेताहरुमाथि गम्भीर आरोप हो, जसको जवाफ अब उनीहरुले जनतालाई दिनैपर्ने भएको छ । फोहोरको बढ्दो समस्या हालसम्मका नेतृत्वका गरेका दलका नेताहरुले लिनुपर्छ । यदि उनीहरुले एउटा फोहोरको समस्यालाई समाधान गर्न चाहँदैनन् र असहयोग गर्छन् भने उनीहरुबाट अरु विकास र समृद्धिको आशा गर्नु व्यर्थ साबित हुनेछ ।   जनधारणा साप्ताहिकबाट 




Share Your Thoughts