बाम एकतामा सकारात्मक संकेत !


अगर बत्ती

access_time 28 Jul 2022

कम्युनिष्ट आन्दोलन भन्नासाथ जनताका अधिकारको निम्ति संघर्ष गर्ने ब्यक्ति र शक्ति भन्ने कुरा स्पष्ट बुझिन्छ ।तर जनताका अधिकारका सवालमा गैह्र कम्युनिष्टहरुले पनि बोल्ने गर्दछन् ।अरुले बोल्ने जनताका अधिकारका प्रश्न र कम्युनिष्टहरुले बोल्ने जनताका अधिकारको प्रश्न फरक हुन्छ १ हाम्रो देशको सन्दर्भमा भने फरक देखिन छोडेको छ । 

देशमा केही महिनाभित्र नै संघ र प्रदेशको निर्वाचन हुँदै छ । सरकारले निर्वाचनको घोषणा गर्ने तयारी गर्दै गर्दा अहिले कम्युनिष्ट र गैह्रकम्युनिष्ट दलहरु भने कसरी चुनावमा जाने भन्ने सवाललाई मात्र प्राथमिकतामा राख्ने गरिरहेका छन् । सरकारमा अहिले कांग्रेस र कम्युनिष्ट दलहरुको अस्वाभाविक गठबन्धनको सरकार छ । सधैं प्रतिस्पर्धी हुने दलहरु गठबन्धन बनाएर सरकार चलाउँदै गर्दा यो गठबन्धनको भविष्य के होला भन्ने पनि प्रश्न उठिरहेको छ । मुलुक संघ र प्रदेशको चुनावमा होमिँदै गर्दा निर्वाचनमा हुने गठबन्धनदेखि त्यसपछि बन्ने सरकारको नेतृत्व लगायतका विषयमा छलफल सुरु भएको छ । अहिले सत्तामा रहेको कांग्रेस तथा कम्युनिष्ट दलहरुको गठबन्धन नै चुनावमा जाने कि नयाँ गठबन्धन निर्माण गर्ने जस्ता विषयमा अहिले छलफल चलिरहेको हो ।

आगामी निर्वाचनमा अहिलेकै गठबन्धन गरेर जाने कांग्रेसले रणनीति बनाएको छ, तर चुनावपछि सरकारको नेतृत्व भने उसैले लिने चाहना छ । त्यसका लागि बढीभन्दा बढी सिट आफ्नो हुनुपर्ने कांग्रेसको तर्क र योजना छ । सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी भने यसमा सहमत छैनन् । उनीहरुले आफूहरुलाई सम्मानजनक सिट विभाजन हुनुपर्ने तर्क गर्दै आएका छन् । त्यतिमात्र नभई चुनावपछि बन्ने सरकारको नेतृत्वमा पनि दाबी बढेको छ । 

गठबन्धनको बलमा फेरि पनि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने धुनमा छन् । यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री बन्ने चाहना देखाएका छन् । उनले अबको चुनावपछि मुलुकमा माओवादीको शासन हुने सार्वजनिक रुपमा नै भाषणबाजी गरिसकेका छन् । उता, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि नेतृत्व लिने होडबाजीमा छन् । यसबीचमा कम्युनिष्ट दलहरुबीच चुनावी मोर्चा बनाएर अघि बढ्ने विषयमा पनि छलफल भइरहेको छ ।

वर्तमान सरकारलाई हेर्ने हो भने यो तत्कालीन नेकपामा विभाजन आएपछि गठन भएको सरकार हो । निर्वाचनमा नराम्ररी पराजित भए पनि कांग्रेसले कम्युनिष्ट नेताहरुबीचको विवादले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो । तर, विगतमा जस्तै कुनै उल्लेख्य काम गर्न नसक्दा र जनताको समस्या ज्यूँका त्यूँ रहँदा यो सरकार असफल साबित भइसकेको छ । कांग्रेस र कम्युनिष्ट गठबन्धनको यो सरकारलाई जनताले पनि रुचाउन छोडेका छन्, जसको असर स्थानीय तह निर्वाचनमा गठबन्धनले भोगिसकेको छ ।

तर, दुर्भाग्य नै भन्नुपर्छ, कम्युनिष्ट दलहरु भने अहिले एकअर्कासँग पानी बाराबारको अवस्था बिकसित गराउनमै लागिपरेका अवस्थामा बन्यो । यही अवस्थालाई मत्थर पार्न र बाम शक्तिहरुलाई जोड्ने मख्य लक्ष्य बनाएर वामदेव गौतमको अगुवाईमा नेकपा एकता राष्ट्रिय अभियान निर्माण गरेर बाम एकताका लागि पहल सुरु भएपछि नेताहरुबीचको गालिगलौज बन्द भएर एकता सम्बाद थालनी भएको छ । तत्कालका लागि नेकपा एमाले कुनै पनि गठबन्धन गर्ने पक्षमा नभए पनि अन्य बाम दलका नेताहरुबीच सम्बाद चलिरहेको अवस्थाले आशा जगाएको छ । माओबादी केन्द्रका अध्यक्ष प्रचण्डको पहलमा चुनावका लागि बाम गठबन्धन बनाएर अगाडि बढ्ने कसरत भैरहेको छ , यसमा प्रचण्ड सफल भए भने बाम शक्ति नै निर्णायक शक्ति बन्ने निश्चित छ । यो शक्ति संगठित बनेर निर्णायक हैसियतमा पुग्यो भने नेकपा एमालेलाई पनि बाम एकतामा जोडिन दवाव सृजना हुने निश्चित छ ।

सर्वहारा वर्गको पक्षमा आवाज उठाएका, युद्ध लडेका, जेलनेल भोगेका नेताहरु नै विभाजित हुँदा त्यसको लाभ अहिले कांग्रेसले पाइरहेको छ । यदि यसैगरी कम्युनिष्ट नेताहरु एकआपसमा लड्ने हो भने क्रमशः कम्युनिष्ट आन्दोलन र दलहरुप्रति जनताको भरोसा उठ्दै जानेछ । त्यसकारण केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपाल लगायतका कम्युनिष्ट नेताहरुले व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएर जनताको हितलाई सर्वोपरी ठान्नुपर्ने आवश्यकता देखिएको छ । 

जबसम्म उनीहरु अहम् र प्रतिशोधको भावनाले राजनीति गरिरहनेछन्, तबसम्म सर्वहारा वर्गको पक्षमा सरकार बन्ने छैन । मुलुक र जनताको हितमा काम हुने छैन । त्यसकारण कम्युनिष्ट आन्दोलनका लागि नेताहरुले प्रतिशोध र स्वार्थ त्याग गरेर अंकमाल गर्नुपर्ने बेला आएको छ । पछि पछुताउनु नपरोस् १ आगे नेताहरुलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट 



Share Your Thoughts