सरकार मल अभावको समस्या समाधान गर !


अगर बत्ती

access_time 10 Jul 2022

अहिले देशमा किसानलाई रोपाइँको चटारो छ । तर मानो रोपेर मुरी उब्जाउने यो समयमा किसानहरु मल अभावको चरम समस्या भोग्दै छन् । वर्षेनि देखिने यो समस्या समाधानमा सरकार सधैंझैं उदासीन र लापरबाह देखिँदै आएको छ । देशलाई कृषिप्रधान भने पनि सरकारको उपेक्षाका कारण हरेक वर्ष खाद्य समस्या बढिरहेको छ । फलस्वरुप खाद्यान्न आयातको ग्राफ पनि चुलिँदो छ ।

नेपालमा पछिल्लो समय कृषिका लागि मल नै ठूलो समस्या बनेर देखापरेको छ । देशमै उत्पादन नहुँदा र आयातमा निर्भर हुँदा मलको समस्या विकराल बनेको हो । हरेक वर्ष यो समस्या देखिने भएकाले यसको पूर्वतयारी गर्न सकिन्थ्यो । रोपाइँको समयमा मल अभाव हुन नदिन सरकारले योजना बनाउन पनि सक्थ्यो । तर, त्यसतर्फ चासो देखाएको भने देखिँदैन । ५ वर्षयता मात्र मुलुकले ७ जना कृषिमन्त्री पाएको छ । तर, उनीहरु कसैको पनि प्राथमिकतामा मल परेको देखिँदैन ।

मल अभावकै कारण वर्षेनि खाद्य आयात बढिरहेको छ, जसका कारण व्यापारघाटा पनि बढेको छ । बढ्दो व्यापारघाटाका कारण मुलुकको अर्थतन्त्र पनि दिनप्रतिदिन धराशायी हुँदै गएको छ । आयातका लागि विदेशी मुद्रा बाहिरिँदा सरकारसँग डलर सञ्चिति पनि घट्दै गएको छ । यसको असर मूल्यवृद्धि लगायतका समस्या देखा परेर सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राखेको छ । अर्थतन्त्रको समस्या समाधानका लागि पनि कृषिमा आत्मनिर्भर हुनुपर्ने तर्क गर्दै सरकारले कृषिका विभिन्न योजनाहरु सार्वजनिक गरेको हो । तर, एकातिर कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने सरकार मलको समस्या समाधान गर्न भने असफल साबित हुँदै आएको छ ।

सरकारमा अहिले कम्युनिष्ट पार्टी र कांग्रेस सहभागी छन् । समाजवाद हुँदै साम्यवादलाई गन्तव्य मान्ने कम्युनिष्ट पार्टीहरुले मलको समस्यालाई समाधान गर्न सरकारलाई दबाब दिनुपर्ने अहिलेको टड्कारो आवश्यकता हो । जनताको आधारभूत आवश्यकतालाई पूरा गर्ने लक्ष्य लिएर क्रान्तिमा होमिएका कम्युनिष्ट पार्टीहरुले सरकारमा सहभागी भएपछि त्यसलाई भुल्न मिल्दैन । मलको समस्या समाधानको पहिलो विकल्प भनेको रोपाइँ अघि नै त्यसको आपूर्ति हो । हाल हामी आयातमा नै निर्भर भएकाले पहिले नै आवश्यकताअनुसार आयात गरेर भण्डारण गर्ने र किसानलाई चाहिएको बेला वितरण गर्ने सरकारको प्रयत्न हुनुपर्छ । दोस्रो विकल्प रासायनिक मलको सट्टा प्रांगारिक मलको पनि प्रयोग हो । यस्तै, भारतले युरिया मलको साटोमा नानो यूरिया नामको एक प्रकारको लिक्विड प्रयोग गर्न थालेको सार्वजनिक भएको छ । त्यो कत्तिको उपयोगी हुनसक्छ र त्यसको उत्पादन कसरी आफै गर्न सकिन्छ भन्नेतर्फ पनि सरकारले सोच्नुपर्छ ।

अर्को विकल्प, सरकारले देशमा नै मल कारखाना स्थापना गर्ने हो । मल कारखाना स्थापनाका विषयमा बेलाबेलामा बहस भए पनि टुंगोमा पुग्न सकेको छैन । कृषि मन्त्रालय स्वयं यस विषयमा गम्भीर हुनुपर्ने हो । तर, जुनसुकै कृषिमन्त्री आए पनि वर्षेनि देखिने मलको समस्या समाधानका लागि कारखाना स्थापनाको सम्भाव्यता, यसको लागत र उत्पादनको विषयमा सूक्ष्म ढंगले अध्ययन हुन सकेको छैन । यसरी कृषिको वास्तविक समस्या समाधान नगर्ने हो भने न सरकारले ल्याएका योजना सफल हुन्छन्, न त बिग्रँदो अर्थतन्त्रमा सुधार नै आउन सक्छ । आगे सबेलाई चेतना भया !



Share Your Thoughts