कम्युनिष्ट आन्दोलनको एकता किन आवश्यक ?


अगर बत्ती

access_time 01 Jul 2022

नेपालमा पार्टीगत इतिहास जति पुरानो छ, त्यत्तिकै पुरानो छ, कम्युनिष्ट आन्दोलन र पार्टीको इतिहास । तर, दुर्भाग्यवश भन्नुपर्छ, लक्ष्य र उद्देश्य एउटै हुँदाहुँदै पनि नेपालमा कम्युनिष्ट पार्टीहरु भने आपसी मतभेदकै कारण छिन्नभिन्न हुँदै आएका छन् । नेतृत्वको टकरावका कारण जनमत पाएर पनि त्यसलाई कायम गर्न नसकेको इतिहास हामीसामु छ । त्यसकारणले कम्युनिष्ट आन्दोलनको इतिहास समृद्ध हुँदाहुँदै पनि समाजवाद र साम्यवाद जस्ता अन्तिम लक्ष्य प्राप्तिमा भने असफलता हात पार्दै आएको छ ।

मुलुकमा अहिले पनि कम्युनिष्ट पार्टीहरुको संख्या सबैभन्दा धेरै छ । तर तिनीहरुबीच एकता देखिदैन । कम्युनिष्ट पार्टी कोही सत्तामा छन् त कोही प्रतिपक्षमा, कोही आन्दोलनरत पनि छन् । केही वर्षअघि कम्युनिष्ट पार्टीबीच अभुतपुर्व एकता नदेखिएको पनि होइन । त्यही गठबन्धनलाई देखेर जनतामा आशाको सञ्चार पनि भएको थियो । तर, त्यो आशा धेरै समयसम्म टिक्न भने सकेन । मुलुकमा दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि नेकपा बनेको थियो । जसलाई जनताले बहुमत दिएर सत्तासीन गराएका थिए ।  

तर, जनताको त्यो साथलाई बुझ्न नसक्दा र आपसी टकरावका कारण नेकपा विभाजन हुन पुग्यो । कम्युनिष्ट आन्दोलनको लक्ष्य र उद्देश्य प्राप्तिको सपना फगत सपनामै सीमित रह्यो । कम्युनिष्ट पार्टीहरु विगतदेखि नै बेलाबेलामा एकताबद्ध र टुटफुट हुने श्रृंखला चल्दै आएको छ । यस कारणले जनताले साथ दिँदादिँदै पनि कम्युनिष्ट आन्दोलन कमजोर सावित हुँदै आएको छ । बिगतकालका कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले राम्रा कामहरु गर्दागर्दै पनि त्यसलाई दिगोपन दिन सकिएको छैन । सारमा हेर्ने हो भने हरेक कम्युनिष्ट पार्टीको राजनीतिक आदर्श एउटै नै छ ।

हसिया, हथौडा अंकित झण्डाहरु पनि एकै खालका छन् । लक्ष्य समाजवाद हुँदै साम्यवादमा पुग्ने भन्नेमा पनि कसैको दुईमत देखिदैन । तर, यी विविध विषयमा समानता भए पनि नेतृत्व तहमा भने एकताभन्दा टकराव धेरै छ । यही कारणले अहिले कांग्रेस र कम्युनिष्ट पार्टीबीचको अप्राकृतिक गठबन्धन मुलुकले भोग्दै आएको छ । त्यसैले विगतको कम्युनिष्ट इतिहास र सुनौलो भविष्यका लागि मुलुकमा अब कम्युनिष्ट पार्टीबीच एकता अपरिहार्य भएको छ । 

वर्तमान अवस्थाको विश्लेषण गर्ने हो भने मुलुकमा वैदेशिक शक्तिको चलखेल बढेको छ । शक्ति राष्ट्रहरुको स्वार्थ र टकराव दिनप्रतिदिन बढिरेको छ । यसलाई भोलि प्रतिकूल अवस्था सिर्जना गर्ने जोखिम बढाएको छ ।

अर्थतन्त्र डामाडोल भएको छ । महंगी ह्वात्तै बढेको छ । हरेक क्षेत्रमा लूट मच्चिएको छ । देश विस्तारै श्रीलंकाको बाटोमा गैरहेको छ । अब योअवस्थालाई सुधार गर्नका लागि पनि कम्युनिष्ट पार्टीहरुबीच एकता अनिवार्य बनेको हो । देशमा शिक्षा, स्वास्थ्य र वित्तीय क्षेत्रमा खुल्लमखुला लूट भइरहेको छ । बेरोजगारी बढेको छ , जनताको दैनिकी झन्झन कष्टपूर्ण भएको छ । कम्युनिष्ट आन्दोलन र उद्देश्य यिनै समस्याको समाधानका लागि  हो, जो फुटले होइन जुटले मात्रै सम्भव छ । संविधानमा नै उल्लेख गरिएको समाजवादको उद्देश्य पनि विनाविभेद जनताको समान अवसर, विकास र वितरण हो । कम्युनिष्ट पार्टीको उद्देश्य पनि समाजवाद नै हो, जसलाई एकताले र साझा संकल्पले मात्रै पुरा गर्न सक्छ, सबैलाई चेतना भया !  जनधारणा साप्ताहिकबाट 



Share Your Thoughts