देशलाई उत्पादनमूखी बनाउ !


अगर बत्ती

access_time 19 May 2022

सम्पादकीय 

देशलाई उत्पादनमूखी बनाउ !

स्थानीय तहको चुनाव सम्पन्न भए लगत्तै सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाएको छ । विद्यार्थीहरु संगठनहरुले बाहेक अरु कुनै राजनीतिक दलले यो मूल्य बृद्धिको विरोध गरेका छैनन् । प्रतिलिटर १० रुपैयाँ मूल्य बृद्धि हुनु भनेको सामान्य कुरा होइन । यो मूल्यले हरेक बस्तुको मूल्यलाई प्रभावित गर्नेछ । जनताको जीवनस्तर खस्किएको छ । रोजगारी छैन, खाद्यान्न संकट बढिरहेको छ । भारतले गहुँ निर्यात नगर्ने चेतावनी दिइसकेको छ । प्रतिवर्ष भारतबाट मात्र ९ अर्ब रुपैयाँ बराबरको गहुँ आयात गर्दै आएको नेपालले भारतबाट निर्यात बन्द गरिएपछि संकटको सामना गर्नैपर्ने हुन्छ । देशभित्र कृषिउत्पादन बढाउनुको विकल्प अरु छैन । तर सरकारसँग त्यस्तो कुनै योजना भएको पाइदैन । 

देशको आर्थिक स्थिति संकट उन्मुख छ । अहिलेको बहसको प्रमुख केन्द्र बढ्दो आयात, घट्दो विदेशी मुद्राको सञ्चिति नै हो । देश श्रीलंकाको अवस्थामा त पुग्ने होइन भन्ने चिन्ता सर्वत्र पाइन्छ । अर्थशास्त्रीहरुका अनुसार नेपाल र श्रीलंकाको अर्थतन्त्रको स्वरुप र आर्थिक संकटको कारकमा भिन्नता छैन । कोभिड र युक्रेन द्वन्दले ल्याएका समस्याबाहेक श्रीलंकाको मूल समस्या व्यावसायिक दरमा लिइएको निजी ऋणको अंश कूल ऋणमा झन्डै ४० प्रतिशत हुनु हो । नेपाल पनि विदेशी ऋणमा चुर्लम्म डुबेको छ । विदेशी ऋणबाट देशको कृषि उत्पादन बढ्न सक्दैन । विदेशी ऋणबाट देशलाई औद्योगिकरण गर्न सकिदैन । जबसम्म देशलाई औद्योगिकरण गर्न सकिदैन तबसम्म दैनिक उपभोग्य बस्तुहरु बाहिरबाट आयात गर्नुको विकल्प रहनेछैन । त्यसैगरी जबसम्म कृषि उत्पादनमा बृद्धि गरिदैन, तबसम्म बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यताबाट देश मुक्त हुनेछैन । त्यसैले उत्पादन बढाउनु नै सबै समस्याको समाधान हो भन्ने कुरा सरकारले बुझ्नु जरुरी छ । तर सरकारको ध्यान त्यसतर्पm छैन । 

अर्थतन्त्रको आकारको अनुपातमा नेपालमा पनि बाह्य ऋणको अंश बढेको छ, तर यसको ठूलो हिस्सा सहुलियतपूर्ण aऋण भनिएको छ । अन्तर्राष्ट्रिय व्यावसायिक ऋण लिनका लागि चाहिने सामथ्र्य र विश्वसनीयता हाम्रो छैन । श्रीलङ्का र नेपालबीचको समानता भने आर्थिक कुशासन र राजनीतिक नेतृत्वको गैरजिम्मेवारीपनमा  पनि देखिन्छ । श्रीलंकामा नेताहरुलाई सडकमा घिर्सादै सवाङ्ग नांगो बनाएर जनताले दण्डित गरिरहेका दृश्य देखिएका छन् । नेपालमा पनि त्यो अवस्था नआउला भन्न सकिदैन । 

श्रीलंकाको विदेशी मुद्राको मुख्य स्रोत पर्यटन, विप्रेषण र निर्यात हो । सन् २०१९ मा गराइएको बम विस्फोट र त्यसलगत्तै कोभिड–१९ को असरले श्रीलंकाको पर्यटन उद्योग तहसनहस भएको छ । नेपालको हकमा विप्रेषणको ठूलो भरथेग र अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान श्रीलंकाको स्तरमा नभएकोले पनि अहिले समस्या त्यति चर्को भएको छैन । तर, श्रीलंकाको आर्थिक संकटबाट  नेपालले पाठ सिक्न सकेन भने श्रीलंका भन्दा पनि भयावह अवस्थातिर नेपाल भासिने निश्चित छ । 

नेपालमा विदेशी मुद्रा घटेको बारेमा नेपाल राष्ट्र बैंकले समेत चिन्ता व्यक्त गर्दै बैंकहरुलाई खबरदारी गरेबाट पनि नेपालको अवस्था श्रीलंका जस्तै हुँदैछ भन्ने स्पष्ट हुन्छ । लगातार भइरहेको पेट्रोलियम पदार्थको मूल्यबृद्धिले जनतामाथि आर्थिक भार थपिदै गएको स्पष्ट हुन्छ । जनतालाई दवावमा पारियो भने राजनीतिक नेतृत्वप्रति निराशा बढ्नु स्वाभाविक हुन्छ । स्थानीय तहको चुनावी परिणामले पनि यस्तो संकेत गरेको छ । चुनावमा स्वतन्त्र उमेदवारहरु विजयी हुनु भनेको दलीय पद्धतिका निम्ति असफलताको संकेत हो । राजनीतिक दलका नेताहरुले कार्यशैलीलाई सच्याइएर देशलाई उत्पादनमूखी बनाउन सकेनन् भने नेपाल श्रीलंकाको बाटोमा निश्चित छ । आगे सबैलाई चेतना भया ! 




Share Your Thoughts