राजनीतिक असफलताले नेपालमा धर्म युद्धको सम्भावना !


अगर बत्ती

access_time 17 Sep 2021

नेपाल र भारतमा रहेको हिन्दु धर्मप्रतिको आस्था र विश्वासप्रति सबैभन्दा चिन्ता अमेरिकालाई  भइरहेको महसुस हुने गरी एउटा आश्चर्यजनक घटना बाहिरिएको छ । अमेरिकामा भएको हिन्दूत्वबारेको एउटा सम्मेलनलाई लिएर व्यापक विवाद भयो । अमेरिकामा हिन्दुत्वलाई लिएर भएको एक भर्चुअल सम्मेलन विवादकाबीच टुंगिएको छ । सामाजिक सञ्जालमा समर्थन र विरोधमा चलेको अभियानकाबीच ‘डिस्मेन्टलिङ ग्लोबल हिन्दुत्व’ नाममा भएको सो भर्चुअल सम्मेलनमा हिन्दुत्वलाई घृणाबाट प्रेरित विचारधारा भनेर गम्भीर विवाद सृजना गरिएको छ । 

विरोध गर्नेहरुको समूहले उक्त हिन्दुत्वसम्बन्धी सम्मेलन राजनीतिबाट प्रेरित रहेको र यसको उद्देश्य विश्वमा हिन्दू धर्मको छविलाई नकारात्मक बनाउनु नै रहेको आरोप लगाएको समाचार एजेन्सी बीबीसीले जनाएको छ । 

१० देखि १२ सेप्टेम्बरमा जूममा भएको यो सम्मेलन अमेरिका, बेलायत र यूरोपका गरी ५३ विश्वविद्यालयका ७० भन्दा धेरै केन्द्र, इन्स्टीच्यूट, कार्यक्रम र एकेडेमिक विभागको समर्थनमा भएको जनाइएको छ । यसलाई अमेरिकाको  हार्वर्ड, स्टेनफर्ड, प्रिन्स्टन, कोलम्बिया, बर्कले, यूनिभर्सिटी अफ शिकागो, द यूनिभर्सिटी अफ पेन्सिलभिनिया र रटजर्स जस्ता प्रसिद्ध विश्वविद्यालयको सहयोग र समर्थन रहेको थियो । आयोजकका अनुसार यस सम्मेलनमा सहभागी हुनका लागि दश हजार भन्दा धेरै मानिसले आवेदन दर्ता गरेका थिए भने साढे ७ हजार भन्दा धेरै मानिस यसमा जोडिएका थिए  । 

सम्मेलनको आयोजकमा सहभागी प्रिन्सटन विश्वविद्यालयमा इतिहासका प्राध्यापक ज्ञान प्रकाशले रहेका थिए । उनकाअनुसार डिस्मेन्टलिंग ग्लोबल हिन्दुत्व सम्मेलनको उद्देश्य हिन्दुत्व र भारतवर्षको विविधतामाथिको असरको विश्लेषण गर्नु थियो । भारतवर्षमा अलग–अलग धर्म छन्, अल्पसंख्यक छन्, दलित छन्, महिला छन् उनीहरुमाथि हिन्दुत्वको के असर परिरहेको छ ? यसमाथि सम्मेलनमा चर्चा गरिएको थियो ।

ज्ञान प्रकाश भन्छन् — ‘आज हिन्दुत्व वैश्विक स्तरमा प्रसारको कोशिश गरिरहेको छ, त्यसैले हामीले यो सम्मलेनको माध्यमबाट यो बुझ्ने कोशिस गरेका छौं कि ग्लोबल स्तरमाथि यसको असर कस्तो परिरहेको छ ।’ 

अमेरिकी र अन्तर्राष्ट्रिय यूनिभर्सिटीको सहयोगसँग हिन्दुत्वका मुद्दाका बारेमा चासो नै आश्चर्य हो । यो विषयमा यो पहिलो सम्मेलन हो, जसमा ठूलो संख्यामा एकेडेमिक र शिक्षा जगतका शोधार्थी र शिक्षाविद् सामिल भए पनि सम्मेलनको लक्ष्य विवादास्पद रहेको छ । हिन्दु धर्ममाथि अनास्था पैmलाउने, हिन्दुधर्म विरुद्ध भ्रम सृजना गर्ने, हिन्दु धर्मभित्रै विवाद गराउने र फुटाउने नै सम्मेलनको लक्ष्य देखिन्छ । सहभागीहरुले यस्तो आरोप लगाएका छन् । 

तीन दिन चलेको  उक्त सम्मेलनमा कूल नौ सत्र भएका थिए । जसमा ३० भन्दा धेरै वक्ताले आ–आफ्ना विचार राखेका थिए ।  सत्रहरुमा ग्लोबल हिन्दुत्व के हो ?  हिन्दुत्वको राजनीतिक अर्थव्यवस्था, जाति र हिन्दुत्व, हिन्दुत्वको लिंग र यौनिक राजनीति, हिन्दुत्वको प्रोपोगाण्डा र डिजिटल इकोसिस्टम जस्ता विषयमा चर्चा गरिएको जनाइएको छ । यसैबाट स्पष्ट हुन्छ कि हिन्दु धर्मप्रति अनास्था पैmलाउने कोशिस सम्मेलन भएको थियो । 

अमेरिकाले यस्तो प्रयास पहिले पनि गर्दै आएको छ । नेपाल र भारत हिन्दु धर्मका अनुयायीहरु धेरै रहेका देशहरु हुन् । धर्महरु मध्येमा हिन्दु धर्म अरु धर्महरु भन्दा फराकिलो रहेको विश्वास गरिन्छ ।  हुन् त कुनै पनि धर्ममा कट्टरता आजको २१ औं शताब्दीको दुनियामा शोभनीय होइन । तर पनि हिन्दु धर्मावलम्बीहरुले धर्मप्रचारलाई अथवा धार्मिक संगठनको विस्तारलाई महत्व दिएर अरु धर्महरुमाथि हस्तक्षेप गरेका छैनन् । हिन्दु धर्ममाथि भने खास गरी क्रिश्चियन धर्मावलम्वीको आक्रामक अभियान जारी रहेको छ । नेपालमा गणतन्त्रको आगमनसँगै हिन्दु धर्म विरुद्धको प्रचार र क्रिश्चियन धर्मको विस्तारले उग्ररुप लिएको छ । यसले गर्दा नेपालका हिन्दु धर्मावलम्बीहरुसँग भारतका हिन्दु धर्मावलम्बीहरु पनि हिन्दु धर्मको रक्षाका लागि संगठित बन्ने र धर्म रक्षाका लागि आन्दोलित हुने अभियानमा देखिन्छन् ।  यसले गर्दा नेपाल धर्मयुद्धको महाजञ्जालमा फस्ने खतरा पनि बढ्दै गइरहेको छ । राजनीति असफल भयो भने धर्मयुद्ध सुरु हुनु स्वाभाविक हो, धर्मयुद्ध सबैभन्दा खराब युद्ध हुनेछ सबैलाई चेतना भया !




Share Your Thoughts