चिया पसलबाट लागुऔषध कारोबारलाई पछ्याउँदै प्रहरी यसरी पुग्यो गिरोहसम्म


अगर बत्ती

Dharana    

access_time 04 Aug 2022

काठमाडौँ – प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले साउन ८ गते सुनसरी बराह नगरपालिका-७ घर भएका २७ वर्षीय युवराज खड्कालाई पक्राउ गर्‍यो। सोही दिन ताप्लेजुङ मेरिङ्देन गाउँपालिका-५ स्थायी ठेगाना भएकी ३३ वर्षीया तुलसा खड्कालाई पनि प्रहरीले पक्राउ गर्‍यो।

प्रकाउ गरेका उनीहरु साइनोले दिदी–भाइ हुन्। प्रहरीको गोप्य सूचनाअनुसार उनीहरुसँग थुप्रै लागुऔषध प्रयोगकर्ता जोडिएका छन् भन्ने जानकारी थियो। प्रहरी उनीहरुको माध्यमबाट गिरोहलाई नै प्रकाउ गर्न चाहन्थ्यो।प्रहरीले २७ वर्षीय युवराजलाई लागुऔषध ‘डाइलेक्स डीसी’ कारोबार गरेको सूचनाको आधारमा प्रकाउ गरेको हो। पक्राउ परेका खड्काले आफूले प्रयोगकर्ता मात्रै खोज्ने गरेको र सामान भने तुलसाले दिने गरेको बताए। त्यसपछि प्रहरीले तुलसालाई ललितपुरको महालक्ष्मी–४, इमाडोलबाट पक्राउ गर्‍यो।

अनुसन्धानमा संलग्न ब्यूरोका एक अधिकारीका अनुसार तुलसाको इमाडोलमा चिया पसल थियो। उनलाई पसलबाटै प्रहरीले सोही दिन पक्राउ गरेको हो। उनले पसलमा चिया मात्रै नभइ लागुऔपध पनि बेच्ने गरेको खुलेको छ।

ब्यूरोका प्रमुख एसएसपी विकासराज खनाल भने उनले झण्डै डेढ वर्षदेखि लागुऔषध बिक्रेताका रुपमा काम गर्दै आएको बताउँछन्।

उनी भन्छन्, ‘उनीबाट नाइट्राभेट ट्याब्लेट १ हजार २६० थान, प्रोक्सिभन १५० थान, डायलेक्स डिसी ६ बोतल, त्यसको खाली बोतल २८, डायलेक्स डिसी जस्तो देखिने तरल पदार्थ ३०० मिलिमिटर बरामद भयो।’

चिया पसलमा नियमितजसो आउने रौतहटका किशोर चौलागाईंले तुलसालाई लागुऔषधसम्बन्धी कारोबार गर्न उक्साएका थिए। किशोर तुलसाको पसलमा चिया खान भन्दै नियमितजसो जाने गरेका थिए। सोही क्रममा उनले तुलसालाई चियासँगै लागुऔषधसमेत बिक्री गरे थप नाफा हुने बताएका थिए। तुलसाले पनि पैसाको प्रलोभनमा परेर पसलमा लागुऔषध कारोबार सुरु गरेकी थिइन्।

तुलसाले आफूले प्रतिबोतल ७ सय रुपैयाँमा किन्ने र एक हजारसम्ममा बिक्री गर्ने गरेको बयान दिएको अनुसन्धान संलग्न अधिकारीले बताएका छन्। उनले पछिल्लो समय अन्य औषधिजन्य लागुऔषध पनि बिक्री गर्न थालेको प्रहरीको भनाइ छ।

ब्यूरोका एसएसपी खनालका अनुसार तुलसाले नाम लिएका किशोर चौलागाईंलाई प्रहरीले १० साउनमा काठमाडौँको कागेश्वरी मनोहरा–९ बाट पक्राउ गरेको हो।चौलागाईंलाई सिन्धुपाल्चोक, पाँचपोखरीका मानबहादुर तामाङ र अर्का एक व्यक्तिले लागुऔषध उपलब्ध गराउने गरेको प्रहरी स्रोतले जनाएको छ। उनका अनुसार तामाङलाई प्रहरीले गोकर्णेश्वरस्थित उनकै घरबाट पक्राउ गरेको हो। उनी भन्छन्, ‘उनको साथबाट डायलेक्स डिसी १२७ बोतल बरामद भएको हो।’

चौलागाईंलाई लागुऔषध उपलब्ध गराउने दोस्रो डिलर थिए, सर्लाहीको ईश्वरपुर नगरपालिका–६ का २१ वर्षीय सन्तोष भन्ने विपिन कुशहवा। उनले तरकारी कारोबार गर्ने गरेका थिए। तरकारीसँगै लागुऔषधको समेत कारोबार गर्ने गरेको गोप्य सूचना पाएपछि प्रहरीले उनलाई पनि प्रकाउ गरेको हो।

उनले काठमाडौँमा नियमितजसो तरकारीसँगै औषधिजन्य लागूऔषध ल्याउने गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

एक अनुसन्धान अधिकृत भन्छन्, ‘अनुसन्धानकै क्रममा उनी साउन १० गते काठमाडौँ आउन लागेको भन्ने थाहा भयो, त्यसपछि कल ट्रेस गरिरहेका थियौँ, कोटेश्वर आइपुग्ने वित्तिकै पक्राउ उनलाई पक्राउ गर्‍यौँ।’प्रहरीले जडिबुटीको पुल अगाडि प्रदेश २-०३-००१ च २५०९ नम्बरको गाडी आइपुग्नेबित्तिकै ब्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो।

अनुसन्धान अधिकृत भन्छन्, ‘सुरुमा त उनीहरुले तरकारी ल्याएको भन्दै प्रहरीलाई समेत अल्मल्याउन खोजे, तर हामीलाई पूर्वसूचना भएकाले सामान निकालेर हेर्‍यौँ, दुई वटा बोरा खोलेर हेर्नेबित्तिकै लागूऔषधका बोतलहरु फेला परिहाले।’

प्रहरीका अनुसार तरकारीको बोरामा लुकाएर यति धेरै मात्रामा लागुऔषध ल्याइएको भेटिएको यो पहिलो पटक हो। गाडीलाई नियन्त्रणमा लिएर ब्यूरोको कोटेश्वरस्थित कार्यालयमा ल्याएर जाँच थालेको प्रहरीले जनाएको छ।

कार्यालयमा ल्याएर जाँच गर्दा ९४७ वटा डायलेक्स डिसी–१०० एमएलको बोतल फेला परेको एसएसपी खनाल बताउँछन्।

प्रहरी स्रोतका अनुसार यो खोकी लाग्दा खाने औषधि हो। ‘२०५१ सालमा राजपत्रमा प्रकाशित सूचनाअनुसार यस्तो औषधि ६० एमएलको मात्रै बिक्री गर्न पाइने व्यवस्था छ,’ ब्यूरोका डीएसपी फणिन्द्र प्रसाईं भन्छन्, ‘अहिले हामीले नियन्त्रणमा लिएका चाहिँ १०० एमएलसम्मको हो। जुन नेपालमा प्रतिबन्धित छ।’

प्रहरीका अनुसार यो औषधिले व्यक्तिलाई लठ्याउने भएकाले लागुऔषध प्रयोगकर्ताले यसैलाई बढी डोजमा खाने गरेका छन्।

सन्तोषको सर्लाहीस्थित गाउँका एकजना प्रयोगकर्ताले उनलाई भारतीय नागरिकसँग चिनजान गराइदिएका थिए। उनैसँग सम्पर्कपछि भारतबाट लागुऔषध ल्याउने गरेको खुलेको छ।

सन्तोषका अनुसार यही शैलीबाट उनले विगतमा पनि पटक–पटक काठमाडौँमा लागुऔषध ल्याइसकेको बताएको प्रहरी स्रोतले जनाएको छ।

‘भारतबाटै तरकारीको बोरामा प्याक भएर सामान आउँथ्यो,’ उनले प्रहरी बयानका क्रममा भनेका छन्, ‘मैले भारु १०० मा आएको सामान काठमाडौँका ल्याएर ७ सयमा बेच्ने गरेको थिएँ।’

उनले पक्राउ पर्नु अघिल्लो दिन सर्लाहीबाटै तरकारी किनेका थिए। त्यही दिन तरकारी किनेको साहुसँगै भनेर गाडीको व्यवस्थापन गरेका थिए।अनुसन्धान अधिकारी भन्छन्, ‘सुरुमै लागुऔषध मिसिएको तरकारी भने गाडीमा राखेका होइनन्। गाडी पाएपछि सीमावर्ती क्षेत्र धनकौलमा लगेर लागुऔषध मिसाइएको तरकारी लोड गरेको पाइएको छ।’

उनले विगत एक वर्षदेखि यो काम गरिरहेको खुलेको छ। प्रहरीले कुशहवासँगै गाडीका चालक सुभासराय यादव र मोहमद आसफाक आलमलाई पनि पक्राउ गरेको छ।

प्रहरीले तस्करीको सञ्जालमा जोडिएका बुद्धबहादुर बोम्जन र उनलाई लागूऔषध दिने सर्लाहीका रतन मोक्तान र दिपक श्रेष्ठलाई पनि पक्राउ गरेको ब्यूरोका एसएसपी खनालले बताएका छन्। उनीहरुको साथबाट १०० बोतल डायलेक्स डीसी बरामद भएको हो।योसँगै प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले २०७९ असार ३२ देखि साउन १८ गते बुधबारसम्म १९ दिनमा चार महिलासहित १८ पुरुषलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ स्थायी ठेगाना भएकी वर्ष ३३ की तुलसा खड्का, तुलसा खडकालाई लागुऔषध कारोबारमा सहयोग गर्ने सुनसरीको बराह नगरपालिका–७ स्थायी ठेगाना भएका वर्ष २७ का  युवराज खड्का, रौतहटको डुमरियाना–२ घर भएका वर्ष ४६ का किशोर चौलागाई, सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका–१ घर भएका वर्ष ४७ को मानबहादुर तामाङ रहेका छन्।

यस्तै, सर्लाहीको हरिवन नगरपालिका–४ स्थायी ठेगाना भएका वर्ष ३५ का बुद्ध बहादर बोम्जन, सर्लाहीकै ईश्वरपुर नगरपालिका–६ स्थायी ठेगाना भएका वर्ष २१ का ‘सन्तोष’ भन्ने विपिन कुशहवा, प्रदेश २–०३–००१ च २५०९ नं. को गाडी चालक रौतहट गरुडा नगरपलिका–९ बस्ने वर्ष २५ को सुभाष राय यादव, वडा नं. ८ स्थायी ठेगाना भएका वर्ष १९ का मोहमद आसफाक, सर्लाहीको हरिवन नगरपालिका–३ ठेगाना भएका वर्ष ४२ को रतन मोक्तान र वर्ष १८ का दिपक श्रेष्ठ पक्राउ परेका छन्।

घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता रहेको आशंकामा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।



Share Your Thoughts