पारिवारिक झगडाले लियो चार जनाको ज्यान, बेलायत जाने तयारीमा थिइन् सुनिता


अगर बत्ती

Dharana    

access_time 02 Aug 2022

काठमाडौँ- काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीमा हत्या भएकी ३९ वर्षीया सुनिता पाण्डे बेलायत जाने तयारीमा रहेकी थिइन्।

पति दिनेश पाण्डेसँग घरझगडा बढ्दै गएपछि सुनिता बेलायत जाने तयारीमा थिइन्। उनलाई माइतीले नै बेलायत पठाउन लागेका थिए।पहिलेदेखि नै श्रीमान-श्रीमतीबीच पारिवारिक झगडा हुने गरेको रहेछ। पटक पटक डिभोर्सको कुरासमेत चलेको रहेछ,’ अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘घरजग्गा सबै श्रीमतीको नाममा रहेको र श्रीमती विदेश जाने भन्ने थाहा पाएपछि झगडाले उग्र रुप लिएको बुझिएको छ।’

घरसमेत बेच्ने कुरा चलेपछि विवाद चुलिएको र सोही विवाद नै हत्याको कारण बनेको बुझिएको उनी बताउँछन्।

उनीहरु पारिवारिक झगडालाई लिएर पटकपटक प्रहरी बृत्त बालाजु पुगेको प्रहरीले जनाएको छ।

काठमाडौँ जिल्ला तारकेश्वर गरपालिका वडा नं.२ पदमसालस्थित एउटा एकतले घरमा सोमबार बिहान एकै परिवारका चारजना मृत फेला परेका हुन्।

काठमाडौँ महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन्।

उनका अनुसार पाण्डेको छोरी बिद्यालय जानु पर्नेमा नआएपछि स्थानीयले प्रहीलाई खबर गरेका थिए।घरधनी दिनेश पाण्डेको छोरी ८ बजे विद्यालय जानु पर्नेमा नआएकोले छिमेकीमार्फत खबर गर्दा घरको झ्याल ढोका बन्द रहेको भन्ने खबर हामीलाई आएको थियो,’ उनी भन्छन्, ‘घरबाट आवाज नआएको भनी प्रहरीलाई सूचना प्राप्‍त हुन आएपछि प्रहरीले टोली खटिएको हो।’

घट्नाबारे थाहा पाउनासाथ तत्कालै प्रहरी वृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली खटिई घटनास्थल पुगेको थियो। घटनास्थलमा पुग्दा घरको सम्पूर्ण झ्यालढोकाहरु भित्रबाट चुकुल लगाई बन्द अवस्थामा रहेको उनले बताएका छन्।

घट्नाको प्रकृति हेर्दा बाहिरको व्यक्ति आएर हत्या गरेको हुननसक्ने प्रहरीले अनुमान गरेको छ। दिनेशले नै अन्य तीन जनालाई छुरा प्रहार गरी विभत्स ढंगले हत्या गरेको र त्यसपछि आफूले पनि हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।

दिनेशको घाँटीमा ब्लेडले चिरिएको र डोरीको डोब देखिएको प्रहरी स्रोतले बताएको छ। घट्नाबारे बिहान करिब ९ बजे थाहा पाएसँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा  काठमाडौँ परिसरबाट प्रहरी उपरीक्षकसहितको प्रहरी टोली, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली, प्रहरी बृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको अनुसन्धान टोली खटिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



Share Your Thoughts