भारततर्फ दुई अर्ब ४२ करोड रुपैयाँको विद्युत् निर्यात


अगर बत्ती

Dharana    

access_time 20 Sep 2022

काठमाडौं ।  चालू आर्थिक वर्ष ०७९/८० को दोस्रो महिनामा दुई अर्ब ४२ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ ।  देशभित्र खपत गरी अतिरिक्त भएको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत् नेपाल विद्युत् प्राधिकरणले भदौमा निर्यात गरी दुई अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ ।  प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठमा इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।  सुरुमा दुई वटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा आइएक्समा बिक्री गरिएको थियो । 

त्यसपछि २७ जेठबाट दैनिक रूपमा ६ वटा जलविद्युत गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रूपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।  प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत् भारतीय बजारमा बिक्री गरी सात अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । 

भारतसँगको विद्युत् व्यापार भारुमा हुने भएकोले चार महिनाको अवधिमा विद्युत् बिक्रीबाट चार अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत् बिक्रीबाट एक अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।  हरेक महिना विद्युत् निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु)नेपालको विदेशी मुद्रा सञ्चिती र दुई मुलुकबिचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।



Share Your Thoughts