‘बिमाको पहुँच विपन्न वर्गसम्म पुर्‍याउनुपर्छ’


अगर बत्ती

Dharana    

access_time 31 Dec 2021

काठमाडौँ– बिमा समितिको आयोजनामा प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरमा बिमासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश मन्त्रालयका मन्त्री, प्रमुख सचिव, प्रदेश सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिवलगायत सहभागी थिए।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपत्तिका कारण आइपर्ने संकटका बेला बिमाले सहयोग गर्ने भएकाले बिमाको पहुँच समाजका टाठाबाठा र उद्योगी व्यवसायीसम्म मात्र नभई विपन्न वर्गसम्म पुर्‍याउनुपर्ने बताए।

उनले प्रदेशका सबै नागरिकलाई बिमाको दायरामा ल्याउन विशेष गरी विपन्न वर्गलाई केन्द्रित गरी प्रदेश सरकारका आगामी नीति, कार्यक्रम र बजेटमा बिमासम्बन्धी नीति तथा कार्यक्रम ल्याउने जानकारी दिँदै बिमाको पहुँच विस्तारका लागि बिमासम्बन्धी जनचेतना अभिवृद्धि महत्वपूर्ण हुने बताए।

मुख्यमन्त्री राउतले बिमा गरेपछि नागरिकमा संकटका बेला आत्मविश्वास र आत्मबल बढ्ने भएकाले बिमा कसरी, कहाँ गर्ने र कसरी दाबी भुक्तानी पाउने भन्नेबारे सबैलाई बुझाउनु जरुरी रहेको बताए।

साथै, उनले प्रदेश सरकारले प्राथमिकतासाथ अगाडि बढाएको बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा समेत बिमाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सबै छोरीहरूको बिमा गर्न सकेमा समाजको रुपान्तरण हुने भएकाले यसतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमाको महत्वबारे आम जनतालाई बुझाउने दायित्व बिमा समितिसहित प्रदेश र स्थानीय सरकार तथा जनप्रतिनिधिको समेत रहेको उल्लेख गर्दै बिमासम्बन्धी जनचेतना बढाएर नै चालु वर्ष एक तिहाई जनतामा बिमाको पहुँच पु¥याउने लक्ष्य हासिल गर्न सकिने बताए।

अध्यक्ष सिलवालले नागरिकका आवश्यकता र सुझावअनुसार बिमालेखमा परिमार्जन गर्दै आएको जानकारी दिँदै घर जग्गामा दिएको छुट रकमबाट घरको बिमा गर्नुपर्ने, विपन्न तथा अपांगहरूको बिमा प्रदेशले गर्नेलगायत सुविधासहित सबैलाई समेट्ने गरी बिमा नीति ल्याउन प्रदेश सरकारसँग आग्रह गरे।

प्रदेशका प्रमुख सचिव हरिप्रसाद मैनालीले प्रदेशमा घर तथा सम्पत्ति बिमालाई अनिवार्य रूपमा अगाडि बढाउन आगामी आर्थिक वर्षका नीति, कार्यक्रम र बजेटमा आवश्यक नीतिगत व्यवस्था गरिने जानकारी दिए।

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले बिमासम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रममा बिमा समितिका निर्देशक दिनेशकुमार लालले बिमा समितिका कार्य, बिमाको पहुँच विस्तारका लागि प्रदेश सरकारको भूमिका, बिमा समितिले गर्न सक्ने सहयोगलगायत विषय सहितको कार्यपत्र प्रस्तुत गरेका थिए।

छलफलमा सहभागीहरूले बिमा कम्पनीले विभिन्न कारण देखाई कृषि बिमा नगर्ने गरेको गुनासो गर्नुका साथै बिमालेखमा भएका शब्द र सर्त बुझ्न कठिन भएकाले सरलीकृत गर्नुपर्ने र जडीबुटी बिमाअन्तर्गत वृक्षरोपणको समेत बिमा गर्ने व्यवस्था हुनुपर्नेलगायत बताएका थिए।



Share Your Thoughts