एकल पुरुषलाई दिइँदै आएको विदुर भत्तामा वृद्धि



Dharana    

access_time 10 Jul 2021

बैतडी । बैतडीमा एकल पुरुषलाई दिइँदै आएको विदुर भत्तामा वृद्धि गरिएको छ ।  जिल्लाको मेलौली नगरपालिकाले दिँदैं आएको उक्त भत्ता आगामी आर्थिक वर्षदेखि ५ सय थपिने भएको हो । यसअघि उक्त भत्ता प्रतिमहिना एकहजार पाँच सय रहेको नगरपालिकाका उपप्रमुख राधा ओझाले बताए । 
नगरपालिकाले गएको तीन वर्ष यता ५० भन्दा माथि र ६० वर्ष भन्दा मुनिका विदुरलाई सो भत्ता दिँदै आएको छ । उनले भने,“एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छन्, त्यसैले उनीहरुको जीवनयापन सहज होस भनेर भत्ता दिएका हौं ।” मेलौलीमा ८८ जनाले उक्त भत्ता लिएका छन् ।  यस्तै नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ । आमा बुवा दुवै गुमाएका बालबालिकाको सहयोगका लागि भन्दै गएको तीन वर्ष यता टुहुरा बालबालिकालाई पनि भत्ता प्रदान गरिँदै आएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा आमाबुवा दुवै गुमाएका अहिले १९ बालबालिका रहेका र उनीहरुलाई मासिक भत्ता दिँदै आएको उपप्रमुख ओझाको भनाइ छ ।
  टुहुरा बालबालिकाको शिक्षादिक्षमा सहज होस भनेर भत्ता दिएको नगरप्रमुख कृष्णसिंह नायकले बताए भत्ता पाउँदा जीवनयापन सहज भएको वडा नं ९ का एकल पुरुष शङ्करदत्त भट्टले बताए । मेलौलीले २०७५ सालबाट सो भत्ता दिन थालेको हो । RSS


Share Your Thoughts