प्यालेस्टाइनलाई सबै मुस्लिम देशले सैन्य र आर्थिक सहयोग गरून् : ईरान



Dharana    

access_time 22 May 2021

ईरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईले प्यालेस्टाइनलाई सैन्य र आर्थिक सहयोग गर्न सबै मुस्लिम देशहरूसँग आग्रह गरेका छन्।

इजरायलसँग प्यालेस्टाइनको लडाइँ चर्किरहँदा खाडी क्षेत्रकै शक्तिशाली देश ईरानले यस्तो आग्रह गरेको हो। 

खामेनेईले सैन्य र आर्थिक सहयोगका अतिरिक्त गाजाको पुनःनिर्माणमा सहायता गर्न पनि अपिल गरेका छन्। ईरानी मिडियाहरूले खामेनेईको आग्रहलाई निकै महत्व दिएर प्रचारप्रसार गरेका छन्।

इजरायल–प्यालेस्टाइनबीच ११ दिनसम्म भएको हिंस्रक संघर्ष २ दिनअघि थामिएको थियो। तर, पूर्वी जेरुसेलमको अल–अक्सा मस्जिद क्षेत्रमा फेरि दुई पक्षबीच झडप भएको खबर बाहिरिएका छन्। 

जारी संघर्षमा ईरानले खुलेर प्यालेस्टाइनको समर्थन गरिरहेको छ। गाजा र वेस्ट ब्यांक क्षेत्रमा इजरायलविरुद्ध सक्रिय चरमपन्थी समूह हमासलाई पनि ईरानको समर्थन छ।

हमासले यसबीच इजरायलमाथि सयौं रकेट आक्रमण गरेको थियो।



Share Your Thoughts