सात महिनाभित्र संघीय सरकारको खर्च चार खर्ब ९९ अर्ब



Dharana    

access_time 07 Apr 2021

काठमाडौं, २५ चैत । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा संघीय सरकारको कुुल खर्च चार खर्ब ९९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । 

नेपाल राष्ट्र बैंकले महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्य समेतका आधारमा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आवको सात महिनाको प्रतिवेदनअनुसार २०७७ माघ मसान्तसम्ममा चालू खर्च चार खर्ब छ अर्ब ७३ करोड, पुँजीगत खर्च ६२ अर्ब ८४ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च ३० अर्ब ११ करोड गरी कुल चार खर्ब ९९ अर्ब ६८ करोड खर्च भएको हो । 

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो सात महिनामा सरकारको कर राजस्व चार खर्ब ५८ अर्ब १० करोड र गैरकर राजस्व ४० अर्ब ४२ करोड गरी कुल राजस्व चार खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ परिचालन भएको छ । यसमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत रहेको राष्ट्र बैंकले जनाएको छ । 

चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा ९० अर्ब ५० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन भएको छ ।  राष्ट्र बैंकका अनुसार यस अवधिमा २० अर्ब पाँच करोड रुपैयाँबराबरको ट्रेजरी बिल र ७० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र समेत गरी उक्त परिमाणमा आन्तरिक ऋण परिचालन भएको हो ।  यस अवधिमा विस्तृत मुद्राप्रदाय १० दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय पाँच दशमलव छ प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७७ माघ मसान्तमा विस्तृत मुद्राप्रदाय २३ दशमलव तीन प्रतिशतले बढेको छ ।  राष्ट्र बैंकका अनुसार चालू आवको सात महिनामा खुद वैदेशिक सम्पत्ति सात दशमलव तीन प्रतिशत अर्थात् ९७ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति दुई दशमलव दुई प्रतिशत अर्थात् २१ अर्ब ६१ करोड रुपैयाँले बढेको थियो । चालू आवको सात महिनामा सञ्चित मुद्रा भने आठ दशमलव एक प्रतिशतले घटेकोे छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा पाँच दशमलव तीन प्रतिशतले घटेकोे थियो । वार्षिक विन्दुगत आधारमा २०७७ माघ मसान्तमा सञ्चित मुद्रा २२ दशमलव नौ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । (आर्थिक दैनिकबाट)



Share Your Thoughts