दक्षिणी इरानमा शनिबार गएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी कम्तिमा पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ। राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको होर्मोजगान प्रान्तको खोश गाउँलाई केन्द्रबिन्दु बनाएर भएको भूकम्प प्रभावित स्थलमा करिब तीनसयको बसोबास रहेको थियो। उक्त स्थलमा तत्काल उद्धार टोली परिचालन गरिएको छ। बिहानैको भूकम्पपछि पनि भूकम्पका पराकम्पन जारी रहेकाले भवन र पूर्वाधारमा क्षति पुगेको भन्दै सर्वसाधारण सडकमा निस्किएका थिए। भूकम्पको धक्का धेरै छिमेकी मुलुकमा पनि महसुस गरिएको थियो। इरान ठूला भूकम्पीय जोखिमको क्षेत्रमा रहेको छ। औसतमा यहाँ हरेक दिन भूकम्पको छट्का महसुस हुन्छ। सन् २००३ मा ६.६ म्याग्निच्युडको भूकम्पले ऐतिहासिक शहर बामलाई क्षतविक्षत पारेको थियो जहाँ २६ हजार सर्वसाधारणको ज्यान गएको थियो। सन् २०१७ मा सात म्याग्निच्युडको भूकम्पमा परी ६ सयभन्दा बढीको मृत्यु भएको थियो भने ९ हजार जनाभन्दा बढी घाइते भएका थिए। –रासस/एपी