नेपालगञ्ज – पालिका एउटै, पार्टी उही। दुवै जना गाउँपालिका अध्यक्षमा चुनाव हारे। लगत्तै प्रदेशसभा चुनावमा विजयी भए । संयोग कस्तो भने दुवै जनाले सम्हाले कृषि मन्त्रालय।
यो बाँकेको डुडुवा गाउँपालिकाका भण्डारीलाल अहिर यादव र विजय यादवको प्रसंग हो। दुवै जनाले जसपाबाट गाउँपालिका अध्यक्षमा चुनाव हारे। यो पनि संयोग नै थियो कि दुवै जना कांग्रेसका नरेन्द्र चौधरीसँग हारेका थिए। लगत्तै दुवै जनाले प्रदेशमा चुनाव जितेर उही मन्त्रालय कृषि सम्हालेका छन्।
भण्डारीलाल अहिर यादवले सोमबार लुम्बिनी प्रदेशको कृषि तथा भूमिसुधार मन्त्रीको शपथ खाएपछि यस्तो संयोग मिलेको हो। भण्डारीलाल डुडुवा–३, वनकट्टीका हुन्। पार्टी राजनीतिमा आउनुअघि भण्डारीलाल शिक्षक थिए।
शिक्षण छोडेर उनले जसपाबाट वडाध्यक्ष जिते। गएको निर्वाचनमा भण्डारीलाललाई पार्टीले पालिका अध्यक्षको टिकट दियो। कांग्रेसका नरेन्द्र चौधरीले ६ हजार २ सय ७२ मत ल्याएर दोस्रो पटक अध्यक्ष जित्दा भण्डारीलाल ५ हजार १ सय २५ मतमा समेटिए।
पालिका अध्यक्ष हारे पनि पार्टीले भण्डारीलाललाई प्रदेशको टिकट दियो। यस पटक भने भण्डारीलाललाई हराउने चौधरी उम्मेदवार थिएनन्। भण्डारीलालले ११ हजार ५ सय ४ मत ल्याएर प्रदेश सभा चुनाव जिते। बाँके क्षेत्र नं. २ को प्रदेश सभा (क) बाट भण्डारीलाल विजयी भएका थिए। यो निर्वाचन क्षेत्रमा नेपालगञ्ज उपमहानगरका केही वडा र डुडुवा गाउँपालिका समेटिएको छ।
यही क्षेत्रमा यसअघिको निर्वाचनमा यस्तै संयोग मिलेको थियो। कांग्रेसबाट टिकट नपाएपछि विजय यादव जसपा प्रवेश गरेर पालिका अध्यक्षमा चुनाव लडे। कांग्रेसका चौधरीसँग पराजित भएपछि उनले प्रदेश सभाको टिकट पाए। प्रदेशमा ११ हजार ५ सय ७४ मत ल्याएर विजयी भए। त्यसपछि उनी कृषिमन्त्री भए। विजय अहिले एमालेमा छन्। गएको निर्वाचनमा उनी प्रदेश सभामा उम्मेदवार थिए। भण्डारीलालसँग पराजित भएका थिए।
जसपाका संसदीय दलका नेतासमेत रहेका कृषिमन्त्री अहिरलाई काम गर्ने अवसर जुरेको छ। उनको आफ्नै घर रहेको डुडुवा गाउँपालिका राप्ती नदीको कटान, डुबान र पटानमा पर्ने ठाउँ हो। विगतमा चुनाव लड्दा कृषिसम्बन्धी उनले धेरै आश्वासन बाँडेका थिए।
कृषि पकेट क्षेत्र घोषणा गरेर एक गाउँ, एक उत्पादन, मल, कृषि औजारमा अनुदान, कृषियोग्य भूमिको एकीकृत सम्पत्तिमा ५० प्रतिशत अनुदान छुट, साना किसानलाई ९० प्रतिशत, मझौला र ठूला किसानलाई ७५ प्रतिशत अनुदान चुनावमा भण्डारीलालले अघि सारेका योजनाहरु हुन्।
कृषिमा निर्भर रहेको डुडुवा अनि राप्ती नदीको चेपुवामा परेको ठाउँ भएको र आफैले किसानका लागि अघि सारेका योजनाहरु पूरा गर्दा नै भण्डारीलालको ठूलो सफलता हुने डुडुवावासीको भनाइ छ।
बाँकेबाट जसपाका दुई जनाले प्रदेशमा प्रत्यक्ष र एक जना समानुपातिकमा परेका छन्। तीन जनामा मन्त्री हुने सौभाग्य भण्डारीलालले पाएका छन्। शपथ ग्रहणपछि भण्डारीलालले आफूले बलबुताले भ्याएसम्म राम्रो काम गरेर देखाउने प्रतिक्रिया दिएका छन्।


