काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेन अप्रत्यासित रुपमा युक्रेनको राजधानी किभ पुगेका छन्।
पोल्यान्डबाट युक्रेन पुगेका राष्ट्रपति बाइडेनले युक्रेनलाई अमेरिकी साथ निरन्तर रहने बताए।
रुसले आक्रमण गरेपछि बाइडेन पहिलो पटक किभ पुगेका हुन्।
अमेरिकी राष्ट्रपतिको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ- ‘मेरो किभ भ्रमणले युक्रेनको लोकतन्त्र, सम्प्रभुता र क्षेत्रीय अखण्डताका लागि हाम्रो निरन्तर र अटल प्रतिबद्वतालाई फेरि पुष्टि गर्दछ।’
उनले रुसमाथि आरोप लगाउँदै भने, ‘लगभग एक वर्षअगाडि पुटिनले हमला गर्दा सोचेका थिए कि युक्रेन कमजोर छ। युरोप विभाजित छ। उनले सोचेका थिए कि हामी थाक्ने छौं। तर उनी बिलकुल गलत सावित भए।’
अमेरीकी राष्ट्रपति किभ पुगेपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकी र अमेरीकी राष्ट्रपति बाइडेनले एक संयुक्त विज्ञप्ति समेत जारी गरेका छन्।
विज्ञप्तिमा जेलेन्सकीले लोकतान्त्रिक विश्वमा यो ऐतिहासिक युद्ध जितेरै छाड्ने घोषणा गरेका छन्।
बाइडेनको उपस्थितिमा जेलेन्सकीले टेलिभिजनमा प्रसारित संयुक्त विज्ञप्तिमा भनेका छन्- ‘अमेरिका र युक्रेनको यो सम्बन्ध पूरै इतिहासकै सर्वाधिक मूल्यवान छ। यसले त्यो नतिजाको बारेमा बताउँछ, जुन हामीले पहिले नै हासिल गरेका छौं। आजको हाम्रो भेटवार्ता धेरै सफल रह्यो।’
उनले राष्ट्रपति बाइडेनको यो यात्राको नतिजा देखिने बताए।
उनले भने, ‘यो यात्राको नतिजा देखिने छ। यो भेटघाटको असर युद्धको मैदानमा हुने छ। युक्रेनलाई अबराम्स टैंक दिने अमेरिकी निर्णयपछि युक्रेनी सेना बलियो बनेको छ। मेरो र अमेरिकी राष्ट्रपतिको बिचमा लामो मार हान्न सक्ने हतियारका बारेमा पनि छलफल भएको छ।’
राष्ट्रपति जेलेन्सकीले अगाडि थपे, ‘मलाई विश्वास छ कि, युक्रेनको सहयोगका लागि धेरै महत्वपूर्ण प्याकेज घोषणा हुने छ। यसको अर्थ यो हो कि अब रुसी आक्रमणलाई कुनै मौका दिइने छैन्।’ उनले अगाडि थपे, ‘मिस्टर प्रेसिडेन्ट तपाँईप्रति युक्रेन आभारी छ।’


