मोरङ – मोरङमा प्रियंका सुनार हत्या प्रकरणमा प्रहरीले श्रीमान्सहित ४ जनालाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–१९ की २८ वर्षीया सुनारको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सोमबार दिउँसो ४ जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीका अनुसार सुनारको हत्या प्रकरणमा मोरङको कटहरी गाँउपालिकाका ६२ वर्षीय रामानन्द राम, ३५ वर्षीय उमेश सरदार, विराटनगर–७ का ५३ वर्षीय श्रीराम चौधरी र विराटनगर–१९ का २९ वर्षीय रमेश साहलाई पक्राउ गरिएको हो।
सोमबार दिउँसो मोरङको बुढीगंगा गाँउपालिका–२ स्थित अमाहीस्थित नरसिंह चौधरीको गाई गोठमा सुनारको शव प्लाष्टिकको बोरामा फेला परेको थियो। प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा राम र साहलाई पक्राउ गरेको थियो। प्रहरी प्रवक्ता कार्कीले पक्राउ परेको दुवै जनासँग सोधपुछ गर्दा सरदार र चौधरीलाई पक्राउ गरिएको जानकारी दिए।
हत्याको विषयमा प्रहरीको अनुसन्धान जारी रहेको बताएका प्रवक्ता कार्कीले घटनाको वास्तविकता पत्ता लगाउन केही समय लाग्ने सक्ने जनाए।
मृत फेला परेकी सुनारको शरीरभरि चोटपटक भेटिएपछि प्रहरीले नरसिंहसँग पनि सोधपुछ गरेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुनारलाई नरसिंहको घरभित्र हत्या गरेर शव बोरामा पोको पारेर गाई गोठमा फालिएको हुनसक्छ।


