दमक । नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशकी पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक दलका नेतामा ठेकेदारी प्रथा कायम रहेकाले अपेक्षाकृत जनताको पक्षमा काम हुन नसकेको बताएकी छिन् । त्यही प्रवृत्तिविरुद्ध एमालेले ‘मिसन ग्रास रुट’ अभियान सुरु गरेको उनले बताइन् ।
अभियानको क्रममा आइतबार झापाको दमकमा आएकी उपाध्यक्ष शाक्यले एमाले पार्टीभित्र पनि ठेकेदारी प्रथा रहेको प्रष्ट पारिन् । ‘आफूअनुकुल पार्टी चलाउन आफैँ धेरैको लेबी तिरिदिने र आफुविरुद्ध बोल्न नसक्ने बनाएर कार्यकर्तालाई दबाएर राख्ने काम अब हुनु हुँदैन’ उनले भनिन् ।
वडादेखि माथिल्लो तहसम्म नै व्यवहारिक र संरचनागत सुधार आवश्यक रहेको उनको भनाइ छ । ‘हामी आन्दोलनको जगबाट सरकारमा त पुग्यौँ, तर जनताको विषयमा अपेक्षाकृत काम गर्न सकेनौँ’ उनले भनिन्। सुखी नेपाली, संवृद्ध नेपालको सपना साकार पार्न अब तलदेखि माथिसम्म सुधार गर्न जरुरी रहेको उनले बताइन् ।
राजनीतिमा इमान्दारीता हराउँदै गएको भन्दै नेतृ शाक्यले अब इमान्दार कार्यकर्ता उत्पादन गर्नुपर्ने बताइन् । ‘हामी कार्यकर्ता इमान्दार भयौँ भने सङ्गठनभित्र आफैँ इमान्दारिता कायम हुँदै जान्छ’ उनले भनिन् । जनताका पक्षमा वकालत गर्ने सङ्गठनको रूपमा पार्टीको कमिटी र जनबर्गीय सङ्गठनलाई स्थापित गर्नुपर्ने उनको भनाइ छ ।


